इपीएस परीक्षा असार ४ र ५ गते, आवेदन बैशाख १५ देखि

294
  •  
  •  
  •  

epsकाठमाडौँ, २२ चैत(ओएनएस) : रोजगार अनुमति प्रणाली(इपिएस) अन्तर्गतको कोरियाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुने भएको छ ।

सोमबार बसेको इपिएस-कोरिया निर्देशक समितिको बैठकले सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका लागि काठमाडौँ उपत्यका र पोखरामा परीक्षा गर्ने निर्णय गरेको हो । परीक्षाका लागि आगामी बैशाख १५ देखि १८ गतेसम्म दरखास्त संकलन गर्ने निर्णय बैठकले गरेको छ ।

दरखास्त संकलनका लागि काठमाडौँमा ५ वटा केन्द्र तथा उपत्यका बाहिर डडेलधुरा, बुटवल, पोखरा, धरान र जनकपुरमा संकलन केन्द्र राखिने भएको छ । पोखराबाट दरखास्त दिनेहरूले पोखराबाटै परीक्षा दिन पाउनेछन् भने अन्य सबैले काठमाडौँमा आएर परीक्षा दिनुपर्ने छ ।

इपीएस भाषा परीक्षाको आवेदन दिनका लागि मेसिन रिडेबल पासपोर्ट(एमआरपी) अनिवार्य गरिएको छ । परीक्षालाई विश्वसनीय बनाउन र नक्कली परीक्षार्थीको प्रवेश हुन नदिन यस्तो निर्णय गरिएको बताइएको छ ।

परीक्षा केन्द्रलाई विकेन्द्रिकरण गर्ने नेपाल र कोरियन सरकारको नीति अनुरुप पोखरामा पनि परीक्षा लिने निर्णय भएको निर्देशक बास्तोलाको भनाइ छ ।

कुल २०० पूर्णाङ्कको प्रश्नपत्र कोरियाबाटै तयार भएर आउने र उत्तरपुस्तिका समेत एचआरडी कोरियाले नै जाँच्ने गरेको छ ।

कोरियाले विगत जस्तै यसपटक पनि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कामदार लैजादैछ । परीक्षार्थीले दरखास्तमा भरेको विवरणका आधारमा सम्बन्धित क्षेत्रमा छनोट हुनेछन् । तर, भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया जाने सुनिश्चिता नहुने भएकाले दुई वर्षसम्म रोजगारदाताको मागअनुसार मात्र जान पाइने इपिएसले जनाएको छ । कोरियाले नेपालसहित १६ मुलुकबाट कामदार लिँदै आएको छ ।


  •  
  •  
  •