इपीएस परीक्षाका लागि आजबाट आवेदन खुला

277
  •  
  •  
  •  

nepal-korea-flagकाठमाडौ, ३ बैशाख : कोरियाली भाषा परीक्षा (ईपीएस) मा सहभागी हुन बिहीबारदेखि आवेदन खुला भएको छ। देशभरका विभिन्न १० ठाउँबाट बिहान ८ देखि साँझ ५ बजेसम्म फाराम बुझाउन पाइने व्यवस्था गरिएको छ।

आवेदन फाराम बुझाउने म्याद वैशाख ६ गतेसम्म छ। आगामी जेठ ३० र ३१ गते सञ्चालन हुने ईपीएस भाषा परीक्षामा सामेल हुन चाहनेका लागि आवेदन खुला गरिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।

यसपटक काठमाडौं उपत्यकामा पाँच र बाहिर पाँच गरी कुल १० स्थानबाट आवेदन दिन पाइनेछ। गत वर्ष जम्मा सात ठाउँबाट आवेदन दिने व्यवस्था थियो।

ईपीएस कोरिया शाखाका अनुसार काठमाडौं उपत्यकामा नेपाल वेद विद्या संस्कृत मावि गौशाला, काठमाडौं भ्याली उच्च मावि महाराजगन्ज, ल्याबरोटरी उच्च माध्यमिक विद्यालय कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो र च्यासल फुटबल खेल मैदान बालकुमारीबाट आवेदन फारम बुझाउन पाइन्छ।

यसैगरी धरान नगरपालिकाको धरान सभागृह, जनकपुर नगरपालिकास्थित जनकपुर चुरोट कारखाना लिमिटेडको कभर्ड हल, बुटवलस्थित बुटवल प्रदर्शनी मण्डप, पोखरामा विन्ध्यावासिनी उच्च मावि र डँडेलधुराको अमरगढी नगरपालिकास्थित कर्मचारी मिलन केन्द्रमा फाराम लिने र बुझाउने व्यवस्था ईपीएस कोरिया शाखाले गरेको छ। यीमध्ये पायक पर्ने कुनै पनि ठाउँबाट आवेदन दिन सकिने ईपीएस शाखाका अधिकारीले बताएका छन्।

[box type=”shadow” ]फाराम बुझाउने स्थानः काठमाडौं उपत्यका

नेपाल वेद विद्या संस्कृत मावि गौशाला

काठमाडौं भ्याली उच्च मावि महाराजगन्ज

ल्याबरोटरी उच्च माध्यमिक विद्यालय कीर्तिपुर

महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो

च्यासल फुटबल खेल मैदान बालकुमारी

उपत्यकाबाहिर

धरान नगरपालिकाको धरान सभागृह

जनकपुरस्थित जनकपुर चुरोट कारखाना

बुटवलस्थित बुटवल प्रदर्शनी मण्डप

पोखराको विन्ध्यवासिनी उच्च मावि

डँडेलधुरा अमरगढी नगरपालिकास्थित कर्मचारी मिलन केन्द्र[/box]

फाराम बुझाउन उपत्यकाबाहिर पाँच स्थान तोकिएको भए पनि परीक्षा दिन भने पोखराबाहेक अन्य क्षेत्रका परीक्षार्थी काठमाडौंमै आउनुपर्नेछ।

ईपीएसले यसपालि पहिलोपटक उपत्यकाबाहिर पोखरामा पनि भाषा परीक्षा सञ्चालन गर्दैछ। यो केन्द्रमा पोखराबाट आवेदन दिने सहभागी हुन पाउनेछन्।देशिक रोजगारीको आकर्षक यो गन्तव्य मुलुकले आगामी वर्ष सात हजार एक सय नेपाली लिने जानकारी दिएको छ। यसमा उत्पादनमूलकतर्फ चार हजार नौ सय र कृषि तथा पशुपालनमा दुई हजार दुई सय जान पाउनेछन्।

कृषिमा भन्दा उत्पादनमूलकमा काम सजिलो र रोजगारदाताले पनि धेरै छनोट गरेको विगतको तथ्यांकले देखाएको छ।

कोरियामा काम गर्न जान अनिवार्य भाषा परीक्षा पास गर्नुपर्छ। सन् २०१६ मा कोरिया जान अहिले आवेदन खुला गरिएको हो।

भाषा परीक्षा पास गरेकालाई २०१६ जनवरीदेखिमात्र पठाउने क्रम सुरु हुनेछ।

नेपालले सन् २००८ देखि कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) बाट कामदार पठाउन थालेको हो। यस प्रणालीअन्तर्गत दुवै देशले सरकारी तह (जी टु जी) बाट कामदार आदानप्रदान गर्न थालेका हुन्।

कोरियामा नेपाली कामदारले मासिक न्यूनतम एक लाख नौ हजार रुपैयाँ कमाउन सक्छन्। यसबाहेक ओभरटाइम काम गर्ने सुविधा पनि हुन्छ। हाल २६ हजार नेपालीले त्यहाँ काम गरिरहेका छन्।

सुरुमै भीडभाड नगर्न आग्रह

ईपीएस कोरिया शाखाले फाराम बुझाउने सुरुका दुई दिनमै फाराम बुझाउन हतार नगर्न आग्रह गरेको छ। विगतमा सुरुका दुई दिन अत्यधिक भीडभाड हुने र पछिल्ला दुई दिन भने सुनसान हुने गरेको भन्दै आवेदकलाई सचेत गराएको हो।

विगतका वर्षमा पनि सुरुमा आवेदन दिनेको पास हुने सम्भावना बढी हुनेलगायतका हल्ला फैलाएर भीडभाड गरिएको भन्दै यसमा कुनै सत्यता नभएको शाखाले प्रस्ट पारेको छ।

‘परीक्षमा जसले राम्रो लेख्छ सोही व्यक्तिमात्र पास हुने हो, पहिला फाराम बुझाउनेको सम्भावना बढी हुने होइन’, ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले भने, ‘चार दिनसम्म आवेदन दिन पाइने भएकाले पछिल्ला दुई दिन सजिलो हुन्छ।’

अन्नपूर्ण पोष्टबाट


  •  
  •  
  •