ईपीएस भाषा परीक्षामा छुट्टै अडिट ब्युरो

45
  •  
  •  
  •  

काठमाडौं, ११ असोज : दक्षिण कोरियाले नेपालमा शुक्रवारदेखि सञ्चालन भइरहेको रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियाली भाषा परीक्षाको निश्पक्षता अध्ययन गर्न छुट्टै अडिटब्युरो परिचालन गरेको छ ।

परीक्षा सञ्चालन तथा नियन्त्रण गर्ने ६२ जनाको टोलीबाहेक छुट्टै स्वतन्त्र अनुगमन ब्युरो परिचालन गरिएको हो । अडिट ब्युरोले २२ वटै परीक्षा केन्द्रको स्थलगत अनुगमन गरी परीक्षाको निश्पक्षता, प्रभावकारिता तथा देखिएका कमीकमजोरीकाबारेमा कोरियाको मानव संशाधन विभाग (एचआरडी कोरिया) लाई प्रतिवेदन बुझाउनेछ । यो प्रतिवेदनबारे नेपाल सरकारलाई भने जानकारी हुने छैन ।

ब्युरोको प्रतिवेदनका आधारमा कोरियाले नेपालको परीक्षा प्रणालीको कमीकमजोरी, आगामी दिनमा गर्नुपर्ने सुधारलगायतका पक्षमा जानकारी हासिल गर्न सक्नेछ । कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपालसहित १५ वटा मुलुकमा परीक्षा लिने भएकोले प्रत्येक देशको परीक्षा प्रणाली सबल र दुर्बल पक्ष थाहा पाउनसमेत सहयोग पुग्ने रोजगारदाता मुलुकको ठम्याइ छ ।

अडिट ब्युरोबाहेक कोरियाबाटै आएको ६२ जनाको टोलीले परीक्षाको प्रत्यक्ष निगरानी गरिरहेको छ । परीक्षा कोरियाले नै सञ्चालन गरेकाले नेपालले सहजकर्ताको काममात्र गरिरहेको सम्बद्ध अधिकारीले जानकारी दिएका छन् । परीक्षा शनिबार सकिदैछ ।

 अन्नपुर्ण पोष्टबाट 

  •  
  •  
  •