पर्यावरणीय कृषि : समाजवादी कृषिको आधार

62
  •  
  •  
  •  

प्रमेश पोखरेल

नेपालको संविधानले जनताको खाद्य सम्प्रभुताको मौलिक हकलाई सुरक्षीत गर्दै समाजवादको मार्गदिशा तय गरेको संदर्भमा नेपालको कृषि क्षेत्रको रुपान्तरण कसरी गर्ने र कसरी समाजवादको आधार सृजना गर्ने भन्ने बारेमा पनि प्रयाप्त बहस हुन आवश्यक छ । आनुवांशिक विउ, रसायनिक विषादी र विकासे मल प्रयोग गरी तथा प्राकृतिक स्रोतको मनलागि दोहन गर्ने तथा वातावरण र मानव स्वाथ्यमा समेत असर पार्र्ने नाफाको राजनीतिमा आधारीत खेति समाजवादी रुपान्तरणको आधार बन्न सक्दैन ।

त्यसैले कृषि क्षेत्र र सिमान्तीकृत किसानलाई नवउदारवादी नीति तथा विश्वव्यापारको चपेटाबाट सुरक्षण गर्दै वैज्ञानिक भुमिसुधार, विउविजन संम्प्रभुता, तथा स्थानीय र आत्मनिर्भर कृषि मार्फत वातावरणीय र सामाजिक न्यायको आधारमा गरिने कृषि विकासका प्रयासहरु हाम्रो आवश्यकता हो । आफ्नै विशेषतामा आधारीत नेपालको कृषिले तुलनात्मक लाभको कृषि, पहाडी र पर्यावरणीय कृषि, पारिवारिक र मिश्रित कृषि, साना किसान केन्द्रीत कृषि, जडिबुटि र फलफुलखेति, पशुपालन, आदीलाई केन्द्रमा राखी अवधारणा अघि सारिनु पर्दछ । हालका लागि सहकारी मार्फत ग्रामीण किसानलाई संगठीत गर्दै भुमिको चक्लाबन्दी तथा सामुहिकीकरण मार्फत कृषि विकासलाई समग्र ग्रामीण विकाससँग जोड्ने प्रयास गरिनुपर्दछ ।

यिनै महत्वपूर्ण विशेषताहरु सहित अहिले विश्वमा पुँजिवादी उत्पादन व्यवस्थाको विकल्पको रुपमा तथा खाद्य सम्प्रभुताका लागि पर्यावरणीय कृषि (एग्रो इकोलोजि)को अभ्यास लोकप्रीय हुँदै छ । साना किसानलाई केन्द्रमा राख्दै प्रकृतिसँगको समन्वयमा, पर्यावरणीय र न्यायिक अर्थशास्त्र तथा किसान अधिकार र खाद्य सम्प्रभुताको सिद्धान्तका गरिने पर्यावरणीय कृषि नै नेपालको कृषि विकासको प्रभावकारी अभ्यास हुन सक्दछ ।

कृषिमा दुईखाले उत्पादन प्रणाली

अहिले विश्वमा अभ्यास गरिएका उत्पादन प्रणालीलाई मुख्यत दुई भागमा विभाजन गर्न सकिन्छ । एकथरी उत्पादन पूजिवादी नवउदारवादी निगमीय मान्यतामा आधारीत छ । पँुजिवादी व्यवस्थामा व्यक्ति र संस्था उत्पादन बढाउन बाह्य रसायनिक मल, विषादी, आनुवांशिक विउ र भियकाय यन्त्रको प्रयोग गर्नेमा जोड दिन्छन् । किसान र कृषि श्रमिकको शोषण, माटो र प्राकृतिक स्रोतको दोहन तथा नाफाको सोच यस प्रणालीका छरपष्ट देखिएका असरहरु हुन् । तर अर्कोथरी यस्तो उत्पादन प्रणालीको विरोध गर्नेहरु छन् ।

त्यस्तो कृषिले वातावरण, माटो, मानव स्वास्थ्य विगारेको मात्र होइन यसले केहि धनी लगानीकर्ता, ठुला किसान र कम्पनीलाई मात्र फाइदा पुगेको यिनीहरुको तर्क छ । न त यस्तो कृषिले दिगो रुपमा उत्पादन बढाएको न त विश्वका बहुसंख्यक साना किसानको हित गरेको उनीहरुको निष्कर्र्ष छ ।

बरु नाफको महत्वकांक्षामा श्रोतका मन लागी र गलत दोहन गर्दै जलवायु र स्वास्थ्य संकट निम्त्याएको छ । स्रोतको नीजिकरण, व्यापारीकरण र अतिक्रमणले असमानता बढाएको छ भने ग्रामीण जनसंख्यालाई सिमान्तीकण र विस्तापन गरिएको छ ।

यसै संदर्भमा प्राकृतिक, जैविक र साना किसान केन्द्रित तवरले पनि उत्पादन बढाउन सकिन्छ र कृषिलाई बाह्य पदार्थको प्रयोगमा आधारीत बनाउदा किसान झन् गरिव बन्छन् र कृषिलाई नाफामुखी होइन आत्मनिर्भर बनाउनुपर्छ भन्ने पर्यावरणीय कृषिको (एगा्रे इकोलोजि) मान्यता रहेको छ । यो उत्पादकत्व बृद्धि, दिगोपन, जनचाहना आदीलाई समेत जैविक विविधतामा आधारीत पर्यावरणीय रुपमा सम्वोधन गर्ने समाजवादी अर्थतन्त्र निर्माणका लागि आधार सृजना गर्न गरिने कृषि अभ्यास हो ।

के हो त पर्यावरणीय कृषि ?

पर्यावरणीय कृषि अहिले तातो विषय बनेको छ । अरु भन्दा पनि केहि समय अघि व्यापारिक कृषिको कुरा गर्नेहरु, हरित क्रान्ति र आनुवांशिक क्रान्तिका पक्षधरहरु, बहुराष्ट्रिय निगमका मालिकहरु, रसायनिक खेतिको वकालत गर्नेहरुले अहिले कृषि पर्यावरणका कुरा गर्दा अचम्म पनि लाग्दछ । तर यसका विविध कारण र आयाम छन् । यसको प्रमुख कारण रसायनिक खेति, औद्योगिक कृषि तथा हरितक्रान्तिका छरपष्ट नकारात्मक प्रभावका कारण दिगो कृषिको मुद्दा प्रमुख बन्नु हो । अझ महत्वपूर्ण कारण भनेको गरिवी निवारण, उत्पादकत्व बृद्धि र स्वच्छता, स्वस्थताको लागि साना किसानको हित अनुकुलको कृषिका सवालहरु लोकप्रिय बन्नु र मूलप्रवाहमा आउनु हो ।

खाद्य सम्प्रभुताको मूलप्रवाहीकरणसँगै कृषि पर्यावरणको मुद्दाले महत्व पाँउदा अहिले जताततै यसको चर्चा छ । तर कतिपयले कृषि पर्यावरणको परिभाषा आफ्नो अनुकुल पनि बनाउन लागि परेका छन् भने कतिपय कसरी फेरी नयाँ बहानामा व्यापार बढाउन, नाफा कमाउन तथा विश्वका साना किसान तथा ग्रामीण क्षेत्रका जनताको शोषण गर्न सकिन्छ भन्ने हिसावले पनि कृषि पर्यावरणको कुरा गर्दै छन् । यिनीहरु पर्यावरणीय कृषिको आफ्नो अनुकुल ब्याख्या गर्दछन् ।

वेब्स्टर शव्दकोषले पनि पर्यावरणीय विज्ञानका अवधारणा र सिद्धान्त अनुरुप दिगो कृषि प्रणालीको अभ्यास, विकास र व्यवस्थापन गरिने कृषि नै पर्यावरणीय कृषि हो भनी परिभाषित गर्दछ । यसको अर्थ पर्यावरणीय कृषिले उत्पादनमा मात्र नभइ वातावरणीय दिगोपन र सामाजिक संवेदनशीलतामा पक्षलाई समेत ओगटेको हुन्छ भन्ने हो । पर्यावरणीय कृषिको प्रमुख अभियन्ता विश्वव्यापी किसान संजाल लाभिया क्याम्पेशिनाका अनुसार यो पृथ्वी वा धर्तीमाताको सम्मान र सन्तुलनमा गरिने कृषि हो जस्ले किसान हित र न्याय, तथा प्राकृतिक स्रोतको दिगो र न्यायोचित प्रयोगलाई जोड दिन्छ ।

पर्यावरणीय कृषि, कृषि प्रणालीको त्यो सिद्धान्त हो जुन औद्योगिक निगमीय कृषि, प्राकृतिक स्रोतको नीजिकरण, हानिकारक बाह्य लागत, खाद्यान्नको व्यापारीकरण, स्थानीय विउविजनको नाश, भुमि तथा अन्य उत्पादनका साधनबाट किसानको बेदखल, जलवायु संकट लगायत पुँजिवादी उत्पादन प्रणालीका कारण सृजित समस्याहरुको विरोध गर्दछ ।

यसले त्यसको विकल्प प्रस्तत गर्दछ भने किसानमैत्री रुपमा दिगो कृषि उत्पादनलाई जोड दिन्छ । त्यसैले यो बहुआयामिक, समग्र राजनितिक अवधारणा हो । यसले साना किसान तथा विश्वका सर्वाहारा सिमान्तीकृत वर्गको प्रतिनिधित्व गर्दछ । यो पूजिवादी नाफामुखि कृषि प्रणालीको विरुद्धको आत्मनिर्भर र सम्प्रभुतामा जोड दिने अभ्यास हो ।

यसलाई स्थानीय संज्ञान र सांस्कृतिक अभ्यासको जगमा तथा निगमीय रसायनिक खेतिको विपक्षको संघर्षमा गरिने साना किसान केन्द्रित दिगो र आत्मनिर्भर कृषि भनी बुझ्न सकिन्छ । यो स्थानीय आत्मनिर्भर र दिगो खाद्य प्रणलीको अभ्यासह हो । यो जनस्तरबाट विकसित तथा विश्वभर अभ्यासमा रहेको हुनाले यसका स्वरुपहरु अनेक हुनु तथा यसलाई फरक फरक रुपमा बुझिनु यसको व्यापकता हो ।

राजनीतिक र बृहत बुझाइको आवश्यकता

कसै कसैले कृषि पर्यावरणलाई लामो समयदेखि परम्परागत रुपमा गर्दै आएको खेतिको रुपमा पनि परिभाषित गर्दछन् । यो बुझाइ अपूर्ण छ । पर्यावरणीय खेति र प्राङारिक खेतिमा पनि फरक छ । पर्यावरणीय खेति र परम्परागत खेतिमा पनि भिन्नता छ । त्यसैले पर्यावरणीय कृषिलाई आंशिक होइन पूर्ण रुपमा बुझ्न आवश्यक छ । यो कुरा साचो हो कि पर्यावरणीय कृषि कुनै आविश्कार होइन । नयाँ अभ्यास होइन । यो हामीले १०,००० वर्ष भन्दा बढी कृषिको अभ्यास गर्दा संकलित ज्ञानको प्रयोग, प्रकृतिको सम्मान गर्दै दिगो कृषि उत्पादन र मानवीय आवश्यकता परिपूर्तिको समग्र पक्ष समेटि गरिने खेति हो ।

यो जैविकीय, दिगो, परम्परागत कृषि पनि हो तर यसले आजको विज्ञानको पनि महत्वपूर्ण पक्ष समेटेको छ । मात्र रसायनिक पदार्थको प्रयोग नगर्ने कृषि होइन । यसका विविध तत्व र पक्ष छन् । कृषि पर्यावरण दिगो खेतिको अभ्यास हो । तर यो फेरी यहाँ बुझ्नुपर्ने कुरा यो विधि मात्र होइन । यो कृषि प्रणालीमा किसानको आत्मनिर्णय र किसान कल्याण हुनुपर्छ भन्ने राजनीतिक संघर्ष पनि हो । यो खाद्य सम्प्रभुता प्राप्तिको लागि स्थानीय स्तरमा जनताद्वारा गरिएको संघर्षको एक स्वरुप हो । यसले कृषिलाई किसान अधिकारबादी दृष्टिले साना किसानलाई केन्द्रमा राखी हेर्दछ । अझ यसलाई हरित क्रान्ति र आनुवांशिक खेतिको विरुद्धको संघर्ष भन्न सकिन्छ । यो किसान मैत्रि तवरले पनि उत्पादन बढाउन सकिन्छ भन्ने मान्यतामा आधारीत छ । त्यसैले यो न्यायमा आधारीत उत्पादन प्रणालीको संघर्ष हो ।

ब्राजिलका किसानहरु सयौं बर्षदेखि बहुवाली कृषि बन अभ्यासबाट उत्पादन बढाउने तथा बाह्य लागत शुन्य बनाउने गर्दै आएका छन् । भारत लगायत दक्षीण एशियाली क्षेत्रमा अहिले सुवास पालेकरको जिरो बजेट प्राकृतिक खेति तीव्र रुपमा अघि बढ्दै छ । नेपालमा हामी लामो समयदेखि बहुवाली कृषि र पशुपालनमा आधारीत पारिवारिक रुपमा आत्मनिर्भर हृषिको रुपमा अपनाउदै आएका छौं ।

यस्तै जनस्तरबाट विकसीत स्थानीय, आत्मनिर्भर, एकिकृत, शृजनशिल, उत्पादन बढाउने तथा प्राकृतिको सामिप्यमा गरिने खेति अभ्यासहरुको समग्र रुप हो । यसलाई अंशको रुपमा बुझ्नु हुँदैन तथापी यसका उदाहरण विभिन्न रुपमा रहेका छन् । कम्पनीले होइन उत्पादक र किसान आफैले स्थानीय बिउविजनको सुधार, स्थानीय अनुकुल प्रविधिको प्रयोग, जग्गाको चक्लाबन्दी, सामुहिक र सहकारी अभ्यास मार्फत उत्पादनको साधनमाथिको पहँुच र अधिकार भइ गरिने कृषिले आजको पर्यावरणीय कृषिलाई जनाउँदछ ।

पर्यावरणीय कृषि सम्वन्धि भ्रम र यथार्थ

माथि नै चर्चा गरेझै कतिपय व्यक्ति र निकायहरु कृषि पर्यावरणको गलत व्याख्याबाट फाइदा लिने ध्ययमा छन् । यसलाई आधुनिक दिगो कृषि वा जलवायु मैत्रि कृषिको रुपमा समेत व्याख्या गर्दछन् । तर यो गलत र भ्रमाहक छ । नि:शन्देह पर्यावरणीय कृषि दिगो पनि हुन्छ र जलवायु परिवर्तन अनुकुलनमा महत्वपूर्ण मानिन्छ ।

यहाँ बुझ्नुपर्ने गहन अर्थराजनीति के छ भने कतिपय निकाय र बहुराष्ट्रिय निगमहरु पर्यावरणीय कृषिको नाममा फेरी व्यापार गर्न चाहन्छन् । जैविक प्राङारिक मल, आनुवांशिक विउ र प्रविधिको एकाधिकार विस्तार गर्न चाहन्छन् । तर पर्यावरणीय कृषि त आत्मनिर्भर र बाह्य लागत कम गर्ने कृषि हो । यसले जलवायु परिवर्तनलाई अनुकुलन गर्ने मात्र होइन पृथ्वीको तापमानलाई सन्तुलन गरी चिस्याउन समेत भुमिका खेल्दछ । तर जलवायु स्मार्ट कृषि (क्लाइमेट स्मार्ट एग्रीकल्चर), हरित कृषि, कार्वन व्यापार आदी नाफाखोरका पुँजीवादी, गलत र झुठा, भ्रम फिजाउने प्रयास मात्र हुन् भनी बुझ्न आवश्यक छ ।

पर्यारणीय कृषिलाई निर्वाहामुखी, ग्रामीण, परम्परागत खेति भनेर यसले उत्पादकत्व घटाउने र गरीवी बढाउने तर्क पनि कतिपयले राख्दछन् । यिनीहरु बजारीया मल, आनुवांशिक र ठिमाहा विउको वकालत गर्दछन् । तर यो मिति गुज्रिएको र असफल सिद्ध तर्क हो । संसारमा थुप्रै उदाहरण छन् जहाँ किसानमुखि प्राकृतिक खेतिबाट विना कुनै लागत दिगो रुपमा प्रशस्त लाभ लिन सकिने देखिन्छ ।

अनि किसानले अभ्यासको क्रममा थुप्रै जलवायुमैत्री कम लागत लाग्ने तथा स्थानीय विउको खुल्ला सेचन गरी सुधारीएका विउबाट उत्पादन बढाएका छन् । किसानको ज्ञान, स्थानीय प्रविधि र स्रोतको सहि व्यवस्थापनले उत्पादनकत्व बढाउने मात्र होइन किसानको लागत घट्ने र स्वस्थकर उत्पादन मार्फत नाफा बढ्ने गरेको छ । एकिकृत किरा व्यवस्थापन, सुवास पालेकरको जिरो बजेट प्राकृतिक खेति, पर्मकल्चर, जैविक प्राङगारिक खेति आदीका पर्यावरणीय कृषिकै विभिन्न धाराहरु ह्ुन् । पर्यावरणीय कृषिलाई सहि रुपमा गर्दा कम लगानीमा दिगो रुपमा वातावरण र जनस्वाथ्यमा हानी नपु¥याई रसायनिक खेति भन्दा लाभ लिन सकिन्छ । दिगो रुपमा वातावरण, मानव स्वास्थ्य, प्राकृतिक सन्तुलनको फाइदा मुल्यवान् छ ।

अझ यस्तो उत्पादनको आयु लामो रहने तथा मुल्य समेत बढी पाइने हुन्छ । धानमा श्री (एस्आर्आई, जरामार्फत विउ बृद्धिगर्ने प्रकृया) अपनाइ पर्यावरणीय कृषि गर्दा, एकीकृत रुपमा बाली र पशुपालन गर्दा तथा प्राकृतिक विधिमार्फत रोग र मलको व्यवस्था गर्दा क्युवा, ब्राजील तथा अन्य देशका किसानले जैविक रुपमा विश्वमै औसतमा प्रतिहेक्टरमा बढी धान उत्पादन गर्दछन् । यस्तो पर्यावरणीय खेतिमा बहुवाली हुने हुनाले एक मौसममा मात्र नभई वर्षभरीकै लागि उत्पादन हुन्छ ।

एक वाली रोग वा अन्य कारणले क्षति भएमा पनि अर्को बालीबाट फाइदा लिन सकिन्छ । जिरो बजेट खेतिबाट उत्पादकत्व बढेको तथा किसानको कम लागतमै बढी फाइदा लिएका तथ्य भारतको कर्नाटक र तमिलनाडुमै छ । यसले किसानको लागत घटाउन र ऋणको बोझ कम गर्न सघाउँदछ । त्यसकारण पर्यावरणीय कृषिमार्फत किसानहरुले नै खाद्यान्नको उत्पादन गरेर पनि विश्वको खाद्यान्नको माग पुरा गर्न सकिन्छ ।

पर्यावरणीय कृषि : नेपालको आवश्यकता र संभावना

नेपालको भुगोल, विविधता र कृषि अभ्यासले पर्यावरणीय कृषिको संभावनालाई उजागर गर्दछ । प्राकृतिक सम्पदाको बरदान भएको नेपालमा अनेकन विश्वमा दुर्लभ कृषि उत्पादन र जडिबुटिको संभावना छ । जैविक विविधताको अनुपम सौंदर्य छ । कृषि पर्यटन, उद्यमशिलता, अध्ययन अनुसन्धानको समेत यसले महत्व राख्दछ । नेपालको कृषि विकास पुरानै सोच र नीतिबाट संभव छैन । त्यसैले विश्वमा बृहत बन्दै गएको खाद्य सम्प्रभुताका लागि पर्यावरणीय कृषिको खाका नै सवै हिसावले उपयुक्त र आवश्यक देखिन्छ ।

नेपालमा तुलनात्मक लाभको, दुर्लभ, स्वाथ्यबद्र्धक तथा प्राङगारिक उत्पादनको फाइदा लिन सक्छौं । यी बस्तुको बजारमा कम प्रतिस्पर्धा हुने हुनाले मुल्य समेत बढी प्राप्त हुन्छ । पहाड र हिमाली क्षेत्र उत्पादनका लागि चुनौति होइन संभावना हुन् । नेपालको भौगोलिक स्थिति अनुरुपको तुलनात्मक लाभका उत्पादन गरिनु नै कृषि विकासको आधार हुन सक्छ । पहाडिया र हिमाली भेगको खेति पर्यटनको पनि आधार हो । जैविक प्राङगारिक खेति मार्फत नगदे वाली, जडिबुटि, फलफुल तथा तरकारीको नेपालमा अत्यन्त ठूलो संभावना छ । हिमाली र पहाडी भुभाग पशुपन्छीपालनको अत्यन्त महत्वपूर्ण आधार बन्न सक्छ । कृषिको विकास बनसँग नजोडी संभव छैन । कृषिबन र पर्यावरणीय कृषि परिपुरक हुन् ।

नेपालमा फलफुल र जडीबुटी खेतिको पनि ठुलो संभावना छ । यो आजसम्म हामीले कम ध्यान दिएको क्षेत्र पनि हो । हामीले फलफुललाई समेत महत्वपूर्ण खाद्यान्नको रुपमा लिएमा यसले पोषणमा ठूलो सुधार ल्याउन तथा देशका बाझो भएका, खेर गएको जमिनको उपयोग गर्दछ । खेतवारीका ढिक, आलि, पाखो पखेरा आदीमा घाँस लगाउनाले हरियाली, स्वच्छता तथा आर्थिक समेत लाभ लिन सकिन्छ । यसले पशुपालनलाई समेत प्रवद्धन गर्दछ । नेपालमा पशुपालनय, खाद्य सुरक्षा र आम्दानीको हिसावले पनि निकै महत्वपूर्ण छ । बनक्षेत्रलाई समेत खाद्यान्न उत्पादनमा प्रयोग गर्न सकिन्छ ।

नदी, पोखरी र ताल तथा चिसो पानीमा पाइने माछा विश्वमै मुल्यवान् छ । पहाडी कृषि, आत्मनिर्भर बहुवाली मिश्रीत र पारिवारिक कृषि नेपालको लागि समस्या होइनन् संभावना हुन् । अहिले संसार यसतर्फ नै मोडिदै छ । नेपालको सामाजिक र सांस्कृतिक परिवेश पनि कृषिका लागि अति उपयुक्त छ । हाम्रा संस्कार, चाड र परम्परागत संस्थाले कृषिको विकासलाई सहज बनाउछ । हामीसँग विउका अनेकन प्रजाति छन् ।

पशुपन्छीका थुप्रै नश्ल छन् । हामी विउ उत्पादनबाट मात्र पनि विश्वमा परिचीत हुन र ठूलो आम्दानी गर्न सक्छोैं । कृषिको विकासका लागि ठुला योजना, अरवौ लगानी वा विदेशी कम्पनी खोज्नु पर्दैन । देशलाई आत्मनिर्भर बनाउन र अरवौंको आयात प्रतिस्थापन गर्न हामीले जस्तै सहज अरुलाई हुँदैन ।

त्यसलै नेपालमा हामीले हाम्रो दृष्टिकोणलाई बदल्न आवश्यक छ । यहि नवउदारवादी बाटोबाट समाजवादको आधार निर्माण हुँदैन । जैविक प्राङगारिक खेति, पर्यावरणीय कृषि, पारिवारिक कृषि, बहुवाली कृषि, पहाडीय तुलनात्मक लाभको कृषि आदीले खाद्य सम्प्रभुताको प्रत्याभुत गराउँछ । कृषि बन, कृषि पर्यटन, कृषि अनुसन्धान, प्रविधि विकास तथा विस्तारलाई सँगसँगै अगाडी बढाँउदै विउको सुधार र विकास, पशुपालन, कृषि उत्पादनका सामान्य परिकार, कृषि उद्यमशीलता आदी कुरामा समेत ध्यान दिने प्रणाली पर्यावरणीय खेति हो । त्यसैले जहाँ सजिलै गर्न सकिन्छ र संभावना छ त्यसमा ध्यान दिई लगानी र कार्यक्रम ल्याउने नगरेमा बेकार लगानी र प्रयास खेर जान्छ भन्ने पाठ सिकेर अव संभावनाको क्षेत्रमा केन्द्रित हुन आवश्यक छ ।

विज्ञान, सामुदायिक संज्ञान, प्रकृतिको समन्वय र किसानको समृद्धि कृषि पर्यावरणका चार खम्वा हुन् । यसले उत्पादनका साधनमा किसानको अधिकार हुनुपर्छ तथा प्राकृतिक उत्पादनका साधन र खाद्यान्नको व्यापारीकरण पनि हुँनुहुँदैन भन्ने मान्यता पनि राख्दछ । यसले बहुराष्ट्रिय निगम र विश्व व्यापार संगठनलाई कृषिबाट अलग्याँउदै कृषि उत्पादन कम्पनीले गर्ने र खाद्यान्न व्यापार गर्ने बस्तु होइन यसको जिम्मा किसानलाई दिनुपर्छ भन्ने मान्यतालाई अंगिकार गरिनुपर्दछ । यसो भन्दैमा सवै किसान बन्नुपर्दछ या चिया सवैले उत्पादन गर्नुपर्छ वा तराइका मानिसले स्याउ किनेर खान पाउदैन भन्ने होइन ।

निश्चयनै आवश्यकता भन्दा बढी उत्पादनको बजारीकरण र ठाउँ अनुसार आवश्यक खाद्यान्नको किनबेच हुन्छ । तर यो पनि न्याय र अधिकारको आधारमा तथा किसानको चाहना अनुरुप हुनुपर्छ भन्ने हो । यसले उत्पादन देखि बजार सम्म तथा मुल्यमा समेत किसानको निर्णय र आत्मनिर्भरतालाई बढी जोड दिएको मात्र हो ।

अझ पर्यावरणीय कृषि युवा र महिला किसानको आन्दोलन हो जसले कृषिलाई सम्मानीत बनाउँदै युवालाई कृषिमा आकर्षित गर्न तथा महिला किसानको कृषिको भुमिकालाई सम्मान गर्न सहयोग गर्दछ । अन्त्यमा पर्यावरणीय कृषि खाद्य सम्प्रभुताको आधार हो भने खाद्य सम्प्रभुताको कार्यान्वयन पनि पर्यावरणीय कृषिको अभ्यास हो

(प्रस्तुत लेख तीन वर्ष अघि सार्वजनिक कृषिको समाजवादी रुपान्तरण पुस्तकको अंश हो।)


  •  
  •  
  •