वातावरणमैत्री बैङ्किङका लागि कार्यशाला

666
  •  
  •  
  •  

काठमाडौं, २१ जेठ (ओएनएस) : नेपाली बैङ्कहरूले वातावरण मैत्री सेवा प्रदान गर्ने र बैङ्कहरूको सामाजिक जोखीम घटाउने विषयमा एकदिने कार्यशाला काठमाडौंमा सकिएको छ । कार्यशालाले यससम्बन्धी एउटा रणनीतिक खाकासमेत तयार गरेको छ । विश्व बैङ्क समूहको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपाल राष्ट्र बैङ्कसँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यशालामा सहभागीहरूले जलवायु परिवर्तनको बढ्दो असरलाई कम गर्न बैङ्कहरूले वातारणमैत्री सेवा प्रदान गर्नुपर्ने बताएका थिए । उनीहरूले तयार गरेको रणनीतिक खाकामा बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा र प्रत्यक्ष लगानी गर्दा वातावरणीय प्रभावलाई आन्तरिक मूल्याङ्कन गर्नुपर्ने, सेवाग्राहीलाई वातावरणमैत्री सेवा प्रदान गर्नुपर्ने र यसको नियमन संयन्त्र बनाइनुपर्ने जस्ता विषय समावेश गरिएको छ ।

‘वातावरणीय एवम् सामाजिक जोखीम न्यूनीकरणका लागि नेपालका बैङ्क तथा वित्तीय संस्थालाई सबल बनाउन राष्ट्र बैङ्कले उच्च प्राथमिकता दिनेछ,’ केन्द्रीय बैङ्कका गभर्नर डा. युवराज खतिवडाले भने, ‘यसका लागि केन्द्रीय बैङ्कले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ ।’ कार्यक्रममा आईएफसीका आवासीय प्रतिनिधि बाल भगतसिंहले भने, ‘खासगरी जोखीम व्यवस्थापनका लागि क्षमता अभिवृद्धि गर्न हामीले केही तालीममा मोडलहरू संस्थागत गर्ने प्रयास गरेका छौं र यससम्बन्धी निर्देशिका तयार गर्ने काममा पनि केन्द्रीय बैङ्कसँग सहकार्य गरिरहेका छौं ।’ उनले सामाजिक जोखीमको व्यवस्थापन जति राम्रोसँग गर्न सकिन्छ, व्यवसाय पनि त्यति नै राम्रो हुने बताए । यसअघि बङ्गलादेशमा पनि यस्तै रणनीतिक खाका तयार गरिएको आईफसीले बताएको छ ।

अभियान दैनिकबाट


  •  
  •  
  •