आज विश्व वातावरण दिवस

158
  •  
  •  
  •  

काठमाडौं ।  शनिबार विश्व वातावरण दिवस मनाईँदै छ । नेपालमा ‘ नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनर्स्थापना’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

कोरोना भाइरसको महामारीका कारण धेरै कार्यक्रम हुने छैनन् । तर भर्च्युअल रुपमा विभिन्न क्षेत्रले दिवसको अवसरमा वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामुलक कार्यक्रम गर्दै छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ ।

मानव जाति आफू बस्दै आएको वातारणको सर्जक र विनाशक दुवै रहेकाले वातारण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण छ । यहि कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित दिवस मनाइन्छ ।

हालै सरकारले ल्याएको आउँदो वर्षको बजेटमा चुरे क्षेत्रबाट ढुंगा गिट्टी, बालुवासहितका नदीजन्य सामग्रीको दोहन गर्नका लागि मार्ग प्रशस्त गरेको भन्दै संरक्षणकर्मीसहित विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ । सरकारले चुरे दोहनको कुनै उद्देश्य नरहेको बताए पनि बजेटको व्यवस्थाले विगत सात वर्षदेखिको प्रतिबन्ध फुकुवा गरेको भन्दै विरोध भइरहेका बेला वातावरण दिवस मनाउन लागिएको हो ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसलाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् ।

सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयन गर्नका लागि यो दिवसकले थप उत्प्रेरणा दिने विश्वास उनको छ ।

मानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएकाले त्यसलाई पुनःस्थापना गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिले सबैमा आह्वान गरेकी छन् ।

प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न नेपालमा पूर्वाधारको विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्नमा सहयोग पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् । संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउन लागिएको छ ।


  •  
  •  
  •