उद्यमी बन्दै कर्णालीका महिला

1468
  •  
  •  
  •  

सुर्खेत । समयको परिवर्तनसँगै कर्णालीका महिलाहरु पछिल्लो समय स्ववलम्बी हुने क्रम बढेको छ। भौगोलिक, राजनीतिक, आर्थिक र सामाजिक रूपले पछाडि परेको प्रदेशका रुपमा लिइने कर्णालीका केही महिलाहरू उद्यमी बनेर आत्मनिर्भरतर्फ केन्द्रित भएका छन् भने उनीहरुले धेरै जनालाई रोजगारी समेत दिएका छन् ।

त्यस्तै, उद्यमी बन्ने महिला मध्येकी एक हुन् लक्ष्मी भट्टराई । ग्रीन कर्णाली ट्रेड मल्टी बहुउदेश्यीय उद्योगकी सञ्चालक भट्टराईले हाल बेत बाँसबाट सञ्चालित फर्निचर र दुनाटपरी बनाउने उद्योग सञ्चालन गर्दै आएकी छन् ।

भट्टराई भन्छिन्, ‘हामीले यो उद्योग दुई वर्षदेखि सञ्चालन गर्न शुरु गरेका हौं । सामुदायिक वनसँग कोडनेशन गरेका छौं । कर्णाली सुर्खेतका ५/७ वटा सामुदायिक वनले कच्चा पदार्थहरु उत्पादन गर्दै आउनुभएका छ । अन्य कर्जा पदार्थहरु भारतबाट पनि आयत गरेका छौं ।’

भट्टराईको फर्निचर उद्योगमा कपडा सुकाउने ह्याङ्गर, सोफाहरुका साथै विभिन्न सामग्रीहरु बन्दै आएका छन् । उद्योग सञ्चालनका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको पनि साथ र सहयोग गरेको भट्टराई बताउँछिन् ।

उनी भन्छिन्, ‘पहिले नेपालमा यो काम गर्न सकिन्न कि भन्ने लागेको थियो । दुई वर्षदेखि घाटा खाएर पनि अहिले यो काम गर्न सफल भएका छौं ।’ यस उद्योग सञ्चालनका लागि दक्ष जनशक्ति अभाव हुँदा समस्या हुने गरेको भट्टराई बताउँछिन् ।

उनी भन्छिन्, ‘हामीसँग भारतबाट पनि तीन जना मिस्त्रीहरु आउनु भएको छ । उहाँहरुमार्फत नेपालमा पनि मिस्त्रीहरु उत्पादन गर्ने सोंच बनाएको छु । त्यसका लागि वादी सरोकार मञ्चका भाइबहिनी ल्याउने कि भन्ने लागेको छ ।’ यो काम गर्नेले महिनामै डेढ लाखसम्म कमाउने गरेको भट्टराई बताउँछिन् ।

यतिमात्र होइन उनले दुना टपरी बनाउने उद्योग पनि सञ्चालन गरेकी छन् । अहिले उनको उद्योगमा धेरै महिला दिदी बहिनीहरुले रोजगारी पनि पाएका छन् ।

भट्टराई भन्छिन्, ‘कर्णाली धेरै सालको पात पाउने ठाउँ हो । त्यो त्यसै खेर गइरहेको छ । खेर गएको पातलाई व्यवस्थापन गर्न पनि हामीले यस उद्योग चलाएका हौं । कर्णालीमा भारतबाट धेरै प्लास्टिकका प्लेटहरु आउँछन् । त्यसकारण पनि वन डिभिजन कार्यालयसँग समन्वय गरेर हामीले दुई वर्षदेखि यस उद्योग सञ्चालन गरिरहेका छौं ।’

प्लाष्टिकमुक्त गर्ने कर्णाली प्रदेशको लक्ष्य भएकाले पनि दुना टपरी उद्योग सञ्चालनमा ल्याएको भट्टराई बताउँछिन् ।

धेरै उत्पादन गर्न सकेमा कर्णाली सरकारले नै बबइदेखि यता प्लास्टिकका सामान रोक्ने बताएको भट्टराईले सुनाइन् । उनले भनिन्, ‘हामी उत्पादनलाई बढाउनेतर्फ लागि रहेका छौं । वातावरणमैत्री मेसिनबाट दुना टपरी बनाउने गरेका छौं । कर्णाली प्रदेशमा प्लाष्टिकमुक्त होस् भन्ने हाम्रो ध्यय हो ।’

भट्टराई जस्तै कर्णालीकै पवित्रा शाही पनि लामो समयदेखि आफ्नै कपडा उद्योग सञ्चालन गर्दै आएकी छन् । उनी यहि रहेका कच्चा पदार्थलाई प्रयोग गर्दै कपडाहरु उत्पादन गर्छिन् ।

शाही भन्छिन्, ‘धागो, कच्चा पदार्थ यहि बजारबाट ल्याउँछौं । जुन यहि उत्पादन हुन्छ । ल्याएर तान लगाएर कपडा बनाउँदै आएका छौं । हामी कोट, सर्टदेखि सबै कपडाहरु यहि नै बनाउँछौं ।’

उक्त कपडाहरु प्रदेशमै खपत हुने गरेको शाही बताउँछन् । शाही भन्छिन्, ‘राम्रो भएको छ । व्यापार भइ रहेको छ । खुसी छौं । चार वटा तान छन् । अन्य महिलालाई पनि रोजगार दिँदै आएको छु । व्यवसायबाट सन्तुष्ट  छु ।’

यि त केही प्रतिनिधि पात्र मात्र हुन्, तर पछिल्लो समय कर्णालीका महिलाहरु आफैँ विभिन्न उद्योगहरु सञ्चालन गर्ने, सिपमूलक तालिम लिने र स्वरोजगार बन्नेतर्फ लागेका छन् ।

यसरी हरेक हिसाबमा पछाडि परेको कर्णाली प्रदेशका महिलालाई उद्यमी, स्वरोजगार बनाउन कर्णाली प्रदेश सरकारको पनि त्यतिकै साथ र सहयोगको खाँचो देखिन्छ ।

यसमा सरकारले महिलालाई विशेष सहुलियतपूर्ण कर्जा, उद्योग दर्ता, नविकरणमा विशेष छुटका साथै उनीहरुलाई आवश्यकताका आधारमा सहयोग गर्नुपर्ने देखिन्छ ।


  •  
  •  
  •