
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टोन भिल्लाबीचको खेल एक-एक गोलको बराबरीमा रोकिएका छन् । सोमबार राति भएको खेलमा ३४ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा त्यो अग्रता कायम राख्न सफल भएको चेल्सीले दोस्रो हाफको पाँचौं मिनेटमा गोल खान पुग्यो । एस्टोनका लागि अनवार घाजीले गोल गर्दै खेल बराबरी गरेका थिए । सोमबार रातिको नतिजासँगै चेल्सीले लगातार पाँच खेलमा स्पष्ट तीन अंक लिन असफल रह्यो ।
चेल्सीको १६ खेलबाट २६ अंक भएको छ भने तालिकाको छैटौं स्थानमा छ । शीर्ष स्थानको लिभरपुलसँग ६ अंकको दूरीमा छ । सोमबार रातीकै खेलमा क्रिष्टल प्यालेस र लेस्टर सिटीबीचको खेल पनि १–१ को बराबरीमै सकिएको छ । लिगमा लगातार दोस्रो बराबरी खेलेको लेस्टर दोस्रो स्थानमा यथावत छ ।
उसको १६ खेलबाट २९ अंक भएको छ । कोरोना संक्रमित पाइएपछि म्यानचेस्टर सिटी र एभर्टनबीचको खेल स्थगित गरिएको छ ।