‘उर्जा र सिँचाई मन्त्रालयको कार्यप्रगति सन्तोषजनक छैन’

179
  •  
  •  
  •  

काठमाडौँ, ४ पुस (ओएनएस) : उर्जा तथा सिँचाई मन्त्रालयकको हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएको भन्दै संसदको कृषि तथा जलस्रोत समितिले प्रत्येक महिना कार्यप्रगति पेश गर्न निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकमा देशमा ऊर्जा सङ्कट बढिरहदा पनि ऊर्जा मन्त्रालयअन्तर्गत रहेका निकायहरूले गर्न सक्ने काम नगरेको र आयोजनाको लागत बढाउने तथा समय मात्रै कटाउने काम गरेको भन्दै एकवर्षे कार्यक्रमको कार्यतालिकामा रहेर काम सम्पन्न गर्नसमेत निर्देश गरेको छ ।

समितिले मुलुकको कृषि योग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउने निकायको रुपमा सिँचाइ मन्त्रालय रहेको भएपनि त्यसको कार्यप्रगति उत्साहजनक नभएको भन्दै तत्काल कार्ययोजना निर्माण गर्न र मासिक प्रगति विवरण समितिमा पेस गर्न निर्देशन दिएको छ ।

समितिको बैठकमा बोल्ने अधिकांश सांसदहरूले नेपाल विद्युत् प्राधिकरणले उत्साहजनक रुपमा काम नगरेको, आयोजनालाई तोकिएको समयमा पूरा गराउन आवश्यक वातावरण नबनाएको, प्रवद्र्धकमैत्री नभएको र योजना छनोटमा वैज्ञानिकता र वस्तुनिष्ठतालाई ख्याल नगरिएको भन्दै ऊर्जामन्त्री राधा ज्ञवालीको ध्यानाकर्षण गराएको थियो ।

सांसदहरुले प्राधिकरणले नै अगाडि बढाएका महत्वपूर्ण आयोजनाको कार्यप्रगति न्यून भएको, समस्या समाधान गर्नेतर्फ कुनै ध्यान नदिएको भन्दै आक्रोश व्यक्त गरे ।

प्राधिकरणले अगाडि बढाएका माथिल्लो त्रिशूली थ्री ए, राहुघाट, कुलेखानी तेस्रो र चमेलिया जलविद्युत् आयोजनाको समय र लागत बढ्नुको ठोस कारण पेस गर्नसमेत सांसदहरूले ऊर्जा मन्त्रीको ध्यानाकर्षण गराए ।

यस्तै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रानी जमरा कुलरिया, बबई र भेरी बबई डाइभर्सनको काममा समेत उत्साहजनक कार्यप्रगति नभएको भन्दै उहाँहरूले सिँचाइ मन्त्री नारायणप्रसाद साउदलाई स्पष्ट जवाफ दिन आग्रह गरे ।

सांसदको जिज्ञासाको जवाफमा ऊर्जामन्त्री ज्ञवालीले केही नीतिगत, व्यावहारिक तथा जनशक्तिको समस्याका कारण सोचजति उपलब्धि नभएको भन्दै आवश्यक सहयोग गर्न संसदीय समितिको भूमिका महत्वपूर्ण रहेको जवाफ दिइन् ।


  •  
  •  
  •