भारत भ्रमणको मुखैमा ‘भारतनिर्भर’ ऊर्जा अवधारणा

130
  •  
  •  
  •  

काठमाडौँ, ६ फागुन(ओएनएस) : भारत भ्रमणको १ दिन अघि मन्त्रिपरिषद्ले ६ सय मेगावाट भन्दा बढी बिजुली भारतबाट आयात गर्ने गरी राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धि अवधारणा पारित गरेको छ ।

आगामी सरकारहरूका समेत हात बाध्ने गरी उर्जामा भारत निर्भर अवधारणा ल्याइएको छ । आज बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित अवधारणा अनुसार दश वर्षभित्र लोडसेडिङ मुक्त गर्ने योजना रहेको छ ।

अवधारणा पत्रमा एक वर्षमा आधारभूत रूपमा र २ वर्षमा पूर्णरूपमा लोडसेडिङ अन्त्य गर्ने उल्लेख गरिएको छ । लोडसेडिङ न्युनीकरणका लागि ढल्केबार-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन बिस्तार गरी बिजुली आयात गर्ने सरकारको योजना छ । यसका लागि विभिन्न ३ चरणमा काम गर्ने जनाइएको छ ।

पहिलो चरणमा १३२ केभी भोल्टेज लेभलमा ८० मेगावाट विद्युत आयात गर्ने उल्लेख गरिएको छ । यो चरणको कार्य सम्पन्न भइसकेको छ । यस्तै, दोस्रो चरणमा २२० केभी भोल्टेज लेभलमा न्युनतम २ सय मेगावाट विद्युत आयात गर्ने योजना रहेको छ । यसैगरी तेस्रो चरणमा ४०० केभी भोल्टेज लेभलमा ६ सय वट सोभन्दा बढी विद्युत आयात गर्ने योजना रहेको छ ।

यसरी, मन्त्रिपरिषद्ले गरेको निर्णयबाट नेपाल भविष्यमा बिजुलीका लागि भारतसँग पूर्ण रूपमा निर्भर रहनुपर्ने देखिन्छ । आगामी सरकारहरूलाई समेत अफ्ठ्यारोमा पार्ने गरी गरिएको यो निर्णयले देशलाई उर्जामा आत्मनिर्भर भन्दा परनिर्भर बनाउने उर्जा विज्ञहरूको धारणा छ ।


  •  
  •  
  •