अमेरिकामा नेपाली दूतावासको यो हविगत !

341
  •  
  •  
  •  

काठमाडौं १३ चैत (ओएनएस) : अमेरिकाको राजधानी वासिङ्टन डीसीको प्राइम ठाउँमा रहेको र कुनै बेला आकर्षक वास्तुमा सजिएको नेपाली राजदूतावास अहिले त्यस क्षेत्रकै सबैभन्दा थोत्रो, प्रभावहीन र आकर्षणहीन अवस्थामा पुगेको छ ।

एकदमै महँगो र महत्वपूर्ण क्षेत्रमा अवस्थित भएपनि भवन भने ठाउँठाउँमा चुहिन्छ । एसी बिग्रेर नगरपालिकाले धेरैपटक यस्तो राख्न पाइँदैन भनेर सचेत गराइसकेको छ । त्यो यस्तो क्षेत्र हो, जहाँ घरको रङ र बाह्य सजावटसमेत नगरपालिकाले तोकेको मापदण्डअनुसार छैन भने उसैले डेन्टिङ–पेन्टिङ गरिदिन्छ र एकैचोटि बिल पठाइदिन्छ । कुन दिन नगरपालिकाले त्यस्तो टिम पठाइदिने हो र नेपालको अन्तर्राष्ट्रिय बेइज्जत हुने हो भन्ने चिन्तामा दूतावासका अधिकारीहरु छन् ।

अमेरिका अर्थात् संसारको शक्तिशाली मुलुक । नेपाली समुदायको उपस्थितिका हिसाबले चौथो ठूलो मुलुक । नेपालको विदेशी सहायता र निर्यात व्यापारमा पनि अग्रणी स्थान राख्ने मुलुक । नेपालमा सर्वाधिक धेरै पर्यटक आउनेमध्येको एक मुलुक हो, अमेरिका । राजनीतिक हिसाबले पनि सबैभन्दा प्राथमिकतायुक्त ठाउँ हो । सबैभन्दा शक्तिशाली र प्रभावशाली व्यक्ति राजदूत भएर जाने ठाउँ हो अमेरिका । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि पहिलो राजदूत बनेर अमेरिका गएका थिए । तर, त्यस्तो महत्वपूर्ण ठाउँमा नेपाली दूतावासको भौतिक पूर्वाधार र जनशक्तिको अवस्था दयनीय छ ।

374px-Embassy_of_Nepal
फाइल फाेटाे

नेपालमा अमेरिकी दूतावासमा कम्तीमा ८० जना स्थायी कूटनीतिज्ञ रहन्छन् । तर, अमेरिकास्थित नेपाली दूतावासमा जम्मा चारजना कूटनीतिज्ञ छन् । नेपाली दूतावासको अवस्था विकसित मुलुकको दाँजो त परै जाओस्, दक्षिण एसियाका अन्य मुलुकसँग पनि तुलना गर्न योग्य छैन । बंगलादेश, भुटानका दूतावासबराबर पनि नेपाली दूतावास नहुँदा दक्षिण एसियाकै गरीब मुलुकको निन्याउरो अनुहारजस्तो देखिन्छ, यो दूतावास ।

दूतावासमा कार्यरत कर्मचारीहरुका अनुसार, नेपाली कूटनीतिज्ञहरु आफ्नो कार्यालयमा कोही पाहुना बोलाउन संकोच मान्नुपर्ने अवस्था छ । यति मात्र होइन, कसैले बोलाउँदा पाहुना बनेर पनि जाने कि नजाने भनेर सोच्नुपर्छ । कारण, पाहुना बनेर गएपछि तिनलाई पनि त्यही स्तरको स्वागत सत्कार गरेर बोलाउनुपर्छ । पारस्परिकता र शिष्टाचारका आधारमा पनि गएर खाएपछि बोलाउनैपर्छ । ‘त्यसैले खुम्चिएर बस्नुपर्ने अवस्था छ । उनीहरु खान बोलाउँछन् तर हामीलाई संकोच हुन्छ जाने कि नजाने भनेर ?’ दूतावासका एक अधिकारी भन्छन्, ‘कुनै होटलमा खान बोलाउने हो भने महिनाभरिको तलब एउटै मिटिङका लागि जान्छ । त्यस्तै उच्चस्तरको आयोजना गर्नुपर्छ । महँगो रक्सी खुवाउनुपर्छ । सेवा त्यस्तै महँगो हुन्छ ।’

राजदूतावासमा राजदूत र उनका पाहुनालाई चिया पकाएर दिने अर्दलीसम्म छैनन् । चिया समेत आफै पकाउनुपर्ने अवस्था छ । अर्दलीको दरबन्दी कटौतीको एउटा रोचक प्रसंग छ । एकपटक गिरिजासप्रसाद कोइरालाका चालकले अमेरिका जाने र त्यहीँ काम गर्ने इच्छा व्यक्त गरे । कोइरालाले परराष्ट्र मन्त्रालयमा फोन गरेर ती चालकको इच्छा पूरा गर्न निर्देशन दिए । अनि मन्त्रालयको पालो । अर्दलीको दरबन्दी काटेर चालकको दरबन्दी कायम ग¥यो र ती भाग्यमानी चालक अमेरिका जान पाए । त्यसपछि अमेरिकामा बस्ने नेपाली राजदूत अर्दलीविहीन भए ।

अमेरिका बसेर फर्किएका प्रायः राजदूतहरु सन्तुष्ट छैनन् । तीमध्येका एक पूर्वराजदूत नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, ‘बरु प्राथमिकता छुट्याएर पाँचवटा देशमा मात्र राखौँ तर राम्रा र स्तरीय बनाऔँ । व्यवस्थित गरौँ । तालिमप्राप्त जनशक्ति राखौँ । विशेष सुविधा दिऊँ । नेपाली दूतावास राख्दा नेपाल र नेपालीको शिर निहुरिने खालका नराखौँ । नेपालीको हैसियत देखाउने र उल्टै बेइजती हुने खालका बन्द गरौँ । राजदूत भनेर तोकौँ, यहीँ मन्त्रालयमा एउटा कोठा दिऊँ । तिनले काम गरुन्, पुग्छ । तिनको ध्यान आफ्नो कार्यक्षेत्रमै होस् । सम्पर्क उता गरिरहोस् । आवासीय नै किन बनाउनुप-यो र ?’

नेपाली दूतावासमा काम गर्ने गाडी चालकको बीमा हुँदैन । यो कुरा भन्दा र सुन्दा पनि लाजलाग्दो स्थिति रहेको ती अधिकारीको भनाई छ । उनका अनुसार, सर्भिस स्टाफ भनिने कार्यालय सहायकहरुलाई मासिक तीन सय डलरमा काम लगाइएको छ । त्यहाँको सरकारले यही आधारमा जुनसुकै बेला राजदूतालाई कानुनी कारवाही गर्नसक्छ । ‘सरकारले थाहा नपाएर हो वा कूटनीतिक निकाय भनेर छाडिदिएको हो, अहिलेसम्म त्यस्तो दुर्भाग्यपूर्ण समाचारको विषय बन्नुपरेको छैन,’ दूतावासका ती अधिकारीले यति भनेर सन्तोषको सास फेरे ।

यससम्बन्धी अर्को रोचक प्रसंग छ । डा. शंकर शर्मा अमेरिकाका राजदूत छँदा त्यहीँको विदेश मन्त्रालयले कूटनीतिक कार्यालयमा काम गर्ने यस्तै कामदारलाई अभिमुखीकरण तालिम दिन निम्ता पठायो । शर्माले अन्तिम अवस्थामा नेपाली दूतावासबाट प्रशिक्षार्थीका रुपमा कुनै कामदार पठाउन सकेनन् । कारण त्यही थियो, कामदारको पारिश्रमिकबारे कुरा उठ्ला र नेपाली दूतावासको लाजमर्दो अवस्था छताछुल्ल होला भन्ने डर । ‘पुलिस केस नै होला भनेर सबैभन्दा बढी राजदूत शर्मा डराएका थिए,’ ती अधिकारी भन्छन् ।

राजदूतावासको त कार्यालय नै निवास हो, प्रायः । कर्मचारी, परिवार, केटाकेटी सबै त्यहीँ बस्छन् । ती सबैको कोकोहोलो दूतावासमा हेर्नलायक हुन्छ । सोफा, दराज, फर्निचर, विद्युतीय उपकरण र कतिपय सजावटका सामग्रीले पनि नेपालीको हैसियत प्रदर्शन गर्छन् । ‘किन्न पनि नजानेजस्तो, किनिसकेपछि त्यसको उपयोग, जतन र साजसज्जा गर्न नजानेजस्तो देखिन्छ,’ दूतावास बारम्बार पुगिरहने एक एनआरएन पदाधिकारीको टिप्पणी छ ।

आर्थिक कूटनीति परिचालनका लागि भनेर केही रकम परराष्ट्र मन्त्रालयले पठाउँछ तर त्यो यात्रा वा भ्रमण कार्यमा खर्च गर्न नमिल्ने सर्त छ । तर, अमेरिकाका प्रमुख आर्थिक केन्द्रहरु उपत्यकाभन्दा निकै टाढा छन् । ‘ती क्षेत्रमा नगई कसरी आर्थिक कूटनीति प्रवद्र्धन गर्न सकिन्छ ?’ दूतावासका अधिकारी भन्छन् ।

प्रायः मुलुकका राजदूतले सेफ, कुक आफै लिएर जान्छन् । कूटनीतिक जमघटका भेला विशेष सेवा दिन सक्ने अरु कर्मचारी हुन्छन् । राजदूत र दूतावासलाई पनि वर्गीकरण गरिएको हुन्छ । बढी महत्वपूर्ण क्षेत्रमा मन्त्रीस्तरीय राजदूत जान्छन् । तिनले आफ्ना विभागीय मन्त्रीलाई प्रतिवेदन दिन्छन् । सचिव र सहसचिव सरहका राजदूत अलि कम महत्वपूर्ण क्षेत्रमा खटाइन्छ र तिनले सचिवलाई रिपोर्टिङ गरे पुग्छ । मन्त्रीसरहको मान्यता दिएर राजदूत पठाउँदा सम्बन्धित देशले समेत विशेष मान्यता दिन्छ । उसले खोजेका भेटघाट, बैठक र पैरवी गरेका एजेण्डाहरुलाई त्यत्तिकै महत्वका साथ लिइन्छ । पहुँच पनि त्यही स्तरको हुन्छ ।

‘त्यसैले अमेरिका जाने राजदूतलाई मन्त्रीसरहको मान्यता दिनुपर्ने कोणबाट पनि मन्त्रालयमा दबाब नपुगेको होइन । तर, परम्परागत ढंगले मात्र चल्न खोज्ने मन्त्रालयका प्रशासकहरु सुधारको स पनि उच्चारण गर्न चाहदैनन्,’स्रोतको भनाइ छ, ‘प्रोत्साहन होइन कि निरुत्साहन गर्ने खालको वातावरण परराष्ट्र मन्त्रालयमा छ । यसले लड्ने, भिड्ने जाँगर नै दिँदैन । सुरुमा त्यहाँ जान पाए केके न होला, केके न गर्न सक्छु भन्नेहरु पनि केही समयमै बेचैन हुन्छन् र जागिरे मनःस्थितिमा परिणत भइहाल्छन् ।’

अमेरिका यस्तो ठाउँ हो, जहाँ मासिक सय–डेढ सय पाहुना छुट्दैनन् । फेरि ती पाहुना पनि मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिव र त्यही स्तरका अन्य पदाधिकारी हुन्छन् । प्रायः पाहुना सरकारी नै हुन्छन् । पूर्वप्रधानमन्त्री, मन्त्री र तिनको सिफारिस लिएर पुग्नेहरुलाई गन्ने हो भने त झन् धेरै हुन्छन् । तिनलाई वास दिएर मात्र पुग्दैन, खुवाउन, पिलाउन र घुमाउने बन्दोवस्त समेत दूतावासले गर्नुपर्छ ।

अमेरिका आफैमा देश होइन, महादेश बराबरको क्षेत्रफल र जनसंख्या भएको मुलुक हो । एउटा राज्यबाट अर्को राज्यमा जाँदा हवाइजहाजमै ७–८ घन्टा लाग्छ । त्यसबाहेक सातवटा अन्य मुलुक पनि त्यही दूतावासले हेर्नुपर्छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका कार्यालय त्यहीँ छन् । ‘तर, त्यही मुलुकको दूतावासको हालत यस्तो छ, अन्यत्र के होला ?’ अमेरिका बसेका एक पूर्वराजदूत टिप्पणी गर्छन् ।

सरकारले केही नयाँ ठाउँमा दूतावास स्थापनाको तयारी अघि बढाइरहेका बेला भइरहेकै दूतावासहरुको अवस्था कस्तो छ ? तिनले नेपालको कद बढाएका छन् कि घटाएका छन् ? एकपक त्यतातिर पनि विचार गर्ने हो कि ?

पछिल्ला पाँच वर्षमा वासिङ्टन दूतावासको खर्च

आर्थिक वर्ष            कूल खर्च  (रुपैयाँमा)
०६६/६७  :              ५, ५३, ४१,९३६
०६७/६८  :              ५, ६५, ७७, ९२४
०६८/६९  :              ६, ३७, ०१, ५००
०६९/७०  :              ६, ४४, ४६, १६०
०७०/ ७१ :               ९, ०९, २०, ०१७

स्रोत  : परराष्ट्र मन्त्रालय


  •  
  •  
  •