अवैध नेपालीलाई कागजात मिलाइदिन मलेसियामा आइतबार पनि दुतावास खुल्ला

471
  •  
  •  
  •  

malaysia

काठमाडौ, ६ पुस : अवैध रूपमा मलेसियामा लुकेर काम गरिरहेका नेपालीलाई फर्कनका लागि आवश्यक कागजात मिलाउनका लागि मलेसिया स्थित दुतावास आइतबार पनि खुल्ला रहेको छ । दुतावासका अनुसार मलेसियाली सरकारले आगामी ३१ डिसेम्बरसम्म अवैध रूपमा बस्दै आएका विदेशीहरुले देश छाड्नुपर्ने आदेश जारी गरेपछि घर फर्कनका लागि आवश्यक कागजात बनाउनका लागि अवैध रूपमा मलेसिया बसिरहेका नेपालीहरूको घुँइचो लागेको छ र धेरै नेपालीको कागजात मिलाइदिनु पर्ने भएकाले बिदाको दिन अर्थात् आईतबार पनि दुतावास खोलिएको बताइएको छ ।

मलेसियामा रहेका करिब ५० हजार नेपालीहरू अवैध रूपमा बसिरहेको अनुमान गरिएको छ । भिसा सकिएपछि पनि लुकेर काम गरिरहेका तथा भिसा एक कामको लागी र काम भने अर्कै गरिरहेका सबैलाई अवैध मानिन्छ । भिसा अनुसारको काम नगरेहरूको संख्या निकै ठूलो भएकाले पनि अवैध रूपमा मलेसिया बसेका नेपालीको संख्या ठूलो भएको हो ।

१० दिन मात्र बाँकी रहँदा अवैध रूपमा बसिरहेका सबै नेपालीको कागजात मिलाइदिन निकै गाह्रो हुने भएकाले बिदाको दिन पनि कार्यालय खोलिएको दुतावासका कर्मचारीले बताएका छन् । उनीहरूका अनुसार १० दिनमा करिब २५ सय भन्दा बढि नेपालीले अनुमति पत्र लिने अनुमान गरिएको छ ।

केही महिना अघिमात्र मलेसियाको सरकारले अवैध रूपमा बसिरहेका विदेशी नागरिकविरुद्ध कडारूपमा प्रस्तुत हुने संकेत गरेपछि अहिले मलेसियामा हाहाकार नै मच्चिएको छ । अवैध रूपमा बसोबास गरिरहेका अन्य देशका नागरिकहरु पनि आवश्यक कागजात बनाउनका लागि लागि परेका छन् ।


  •  
  •  
  •