काठमाडौं, १७ मंसिर (ओएनएस) : सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन आगामी मंसीर १९ देखि काठमाडौमा हुने भएको छ ।
दुई दिनसम्म चल्ने महाधिवेशनमा ५० जिल्लाका सामुदायिक उपभोक्ता संस्थाका प्रतिनीधिसहित ३ सय प्रतिनीधि सहभागी हुने बताइएको छ ।
साथै महाधिवेशनले ३१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ । सामुदायिक विद्युतीकरणमार्फत हालसम्म २ सय १ आयोजना सम्पन्न भई ३ लाख ५० हजार घरधुरीमा विद्युतीकरण भैसकेको छ ।
हालसम्म ६६ प्रतिशतले विद्युत सेवा पाएकोमा सामुदायिक विद्युतीकरणमार्फत १५ प्रतिशतले विद्युत सेवा पाएको महासंघले जानकारी दिएको छ । निर्माणाधीन अवस्थामा रहेका ४९ वटा सामुदायिक विद्युतीकरण संस्थामार्फत १ लाख ५० हजार घरधुरीमा विजुली बाल्ने योजना रहेको बताइएको छ ।
सामुदायिक विद्युतीकरणका लागि सरकारले नेपाल विद्युत प्राधिकरणमार्फत ९० प्रतिशत अनुदान दिने गरेको छ भने स्थानीय समुदायको १० प्रतिशत सहभागिता छ ।
हाल विद्युत प्राधिकरणमार्फत वितरण विजुलीमा २५ प्रतिशत चुहावट रहेकोमा सामुदायिक विद्युतीकरणमार्फत वितरण हुँदा भने चुहावट नहुने महासंघले जानकारी दिएको छ । यसले नेपाल विद्युत प्राधिकरणलाई धेरै फाइदा पुगेको महासंघको दावी छ । छ ।