निर्वाचन प्रणाली खर्चिलो भएकाले बेथिति बढेकाे

291
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीन घिमिरेले जनप्रतिनिधिलाई विधि र पद्धतिअनुरूप अघि बढ्न आग्रह गरेका छन् । प्रदेश ३ अन्तर्गतका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रशासकीय प्रमुखलाई सोमबार सम्बोधन गर्दै उनले विधिसम्मत काममा स्थानीय सरकारलाई आयोगले सहयोग गर्ने उल्लेख गरे । घिमिरेले निर्वाचन प्रणाली खर्चिलो भएका कारण बेथिति बढेको पनि बताए ।

आयुक्त राजनारायण पाठकले विकास निर्माण कार्यमा ढिलासुस्ती हुन नदिन जनप्रतिनिधि चनाखो हुनुपर्ने विचार व्यक्त गरे । एकै व्यक्तिले धेरै कामको जिम्मा लिने परिपाटीमा सुधार ल्याउनुपर्ने उनको भनाइ थियो ।

आयोगका अर्का आयुक्त डा. गणेशराज जोशीले स्थानीय तहमा देखिएको मानव संसाधनको अभाव हुन नदिनेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिए । उनले भ्रष्टाचार सीमाहीन अपराधका रूपमा रहेको उल्लेख गर्दै यसबाट हुने सामाजिक विकृति र विसंगति रोक्न सदाचार संस्कृतिको विकास जरुरी रहेको बताए । नयाँ पत्रिकाबाट


  •  
  •  
  •