काठमाडौं, ५ असार (ओएनएस) निर्वाचन आयोगले असार ८ मा हुने संविधानसभा उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । यही ८ गते आइतवार मुलुकका चार वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । विहान ७ बजेदेखि साँझ ७ बजेसम्म हुने निर्वाचनमा संविधानसभाको निर्वाचनभन्दा १२ हजार बढी मतदाता थपिएका छन् । संविधानसभा निर्वाचनमा दुई स्थानबाट जितेका उम्मेदवारले एक क्षेत्र छोडेपछि काठमडौं निर्वाचन क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर ४, बर्दिया क्षेत्र नम्बर १ र कैलाली क्षेत्र नम्बर ६ मा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा निर्वाचन आयोगले विद्युतीय मेशीनको प्रयोग गर्ने भएको छ । यसकालागि आयोगले सबै तयारी पुरा गरेको निर्वाचन आयुक्त इला शर्माले जानकारी दिइन् । उनले सबै निर्वाचन क्षेत्रमा निर्वाचन सामाग्री पु¥याइएको, कर्मचारी, पर्यवेक्षक र स्वंय सेवक तयारी अवस्थामा रहेको बताइन् । उनले सुरक्षा योजना लागु भइसकेको जानकारी दिइयन् ।‘आयोगले गर्नुपर्ने काम सबै पुरा भएको छ, शर्माले भनिन,‘अब हामी असार ८ गतेको प्रतिक्षमा छौं ।’ उनले निर्वाचन सम्पन्न भएको तीन घण्टाभित्र मतगणना सम्पन्न हुने बताइन । ‘निर्वाचन सम्पन्न भएको तीन घण्टाभित्र मतगणना कार्य सम्पन्न हुन्छ, आयुक्त शर्माले भनिन ।
आयोगले चारवटै निर्वाचन क्षेत्रमा विद्युतीय मतदानको व्यवस्था गरेको छ । त्यसकालागि सम्बन्धित निर्वाचन क्षेत्रका मतदातालाई तालिमको व्यवस्था गरेको छ ।
निर्वाचन शिक्षा तथा सुचना केन्द्रका कार्यकारी निर्देशक कोमल धमलाका अनुसार उपनिर्वाचनमा कुल ३ हजार ५ सय ६४ कर्मचारी खटिएका छन् । जसमा मदतान अधिकृत ३ सय २४ , सहायक मतदान अधिकृत ३ सय २४, सहायक कर्मचारी ३ सय २४ र कार्यलय सहयोगी ६ सय ८४ रहेका छन् । यसैगरी स्वंय सेवक १ हजार ९ सय ४४ गरी कुल ३ हजार ५ सय ४३ कर्मचारी परिचालित भएको कार्यकारी निर्देशक धमलाले जानकारी दिए ।
उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता काठमाडौंमा रहेका छन । काठमडौ २ मा ६५ हजार ७ सय ४५ मतदाता रहेका छन् । यसैगरी चितवन ४ मा ६५ हजार २ सय ९९, बर्दिया १मा ५८ हजार ४ सय ४३ र कैलाली ६ मा ६१ हजार ८ सय १७ मतदाता गरी कुल २ लाख ५१ हजार ३ सय ४ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । चार निर्वाचन क्षेत्रमा गरी कुल १२ हजार मतदाता थप भएको आयोगले जनाएको छ ।