विदेशी संस्थाले निर्वाचन पर्यवेक्षण गर्न नपाउने : कहाँ कतिका लागि निर्वाचन हुँदै ?

107
  •  
  •  
  •  

काठमाडौँ, ७ चैत ।

स्थानीय तहको निर्वाचनका निम्ति राजनीति दलहरूले अझै राजनीतिक वातावरण नबनाएकोप्रति निर्वाचन आयोगले असन्तुष्टि जनाएको छ । निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढिरहेको वेला दलहरूबीच अपेक्षित सहमति, सहकार्य र विश्वास काम गर्न नसकेको भन्दै आयोगले आपसी सद्भाव कायम गरी निर्वाचन अभियानमा जुट्न दलहरूलाई आग्रह गरेको छ । ‘दलहरूबीच आपसी सद्भाव कायम गरी तत्काल निर्वाचन अभियानमा संलग्न हुन आग्रह छ,’ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भने ।

चैत २८ देखि एक महिना मतदाता शिक्षा

आयोगले २८ चैतबाट मतदाता शिक्षा सुरु गर्ने तयारी गरेको छ । लामो समयपछि र नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचन हुन लागेकाले स्थानीय सरकारको नयाँ संरचना, मतपत्रको डिजाइन मतदाताका लागि नयाँ एवं जटिल भएकाले मतदाता शिक्षा चुनौतीपूर्ण रहेको प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको भनाइ छ । त्यसैगरी, स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवारको संख्या बढी हुने हुँदा आयोगले महिलाका लागि विशेष मतदाता शिक्षा अभियान पनि सञ्चालन गर्दै छ । आयोगले १ मतदान केन्द्र १ मतदाता शिक्षा कार्यकर्ताको हिसाबले २१ हजार कर्मचारी परिचालन गर्ने तयारी गरेको छ । साथै, नेपालमा बोलिने भाषाहरूमध्ये १७ राष्ट्र भाषामा समेत मतदाता शिक्षा सामग्री तयारीका लागि आयोगले प्रक्रिया अगाडि बढाएको छ ।

३ वैशाखमा निर्वाचन अधिकृतको कार्यालय

निर्वाचन आयोगले ३ वैशाखबाट जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ । ३१ वैशाखमा हुने निर्वाचनभन्दा २८ दिन पहिला निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागेको हो ।

विदेशी संस्थाले निर्वाचन पर्यवेक्षण गर्न नपाउने

स्थानीय निर्वाचनमा विदेशी संस्थाले निर्वाचन पर्यवेक्षण गर्न नपाउने भएका छन् । उनीहरूले निर्वाचनको अध्ययनसम्म गर्न पाउने प्रमुख आयुक्त यादवको भनाइ छ । अध्ययनका लागि भने विदेशी केही संस्थालाई अनुमति दिन सकिने यादवले बताए । आयोगका अनुसार निर्वाचनको उच्चस्तरीय अनुगमन गर्न केन्द्रबाट उच्चस्तरीय कर्मचारी र जिल्लास्तरका छुट्टाछुट्टै अनुगमन टोली खटिनेछन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी केही जिल्लामा सूक्ष्म अनुगमनकर्ताहरू खटाइनेछ । यादवले दिएको जानकारीअनुसार निर्वाचनलाई व्यवस्थित बनाई सञ्चालन गर्न आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिनेछ भने जिल्लास्तरमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र रहनेछ । त्यसैगरी, निर्वाचनसँग सम्बन्धित सूचना तथा जानकारी सरल र सहज तरिकाले प्रदान गर्न निर्वाचन आयोगले कल सेन्टर सञ्चालनको तयारी गरिरहेको छ ।

६ आकारका ७५ प्रकारका मतपत्र

निर्वाचन आयोगले ७५ प्रकारका मतपत्र छाप्दै छ । हरेक जिल्लामा दर्ता भएका दलको संख्याका आधारमा मतपत्र छाप्न लागेको हो । निर्वाचन आयोगले दिएको जानकारीअनुसार जिल्लागत रूपमा राजनीतिक दलको सक्रियतालाई ध्यान दिई ६ आकारका मतपत्रको डिजाइन भएको छ । ‘देशका ७५ जिल्लामा दर्ता भएका राजनीतिक दलको संख्यालाई ध्यानमा राखी ७ सय ४४ स्थानीय तहका लागि ७५ प्रकारका मतपत्रको छपाइ सुरु भएको छ,’ डा. यादवले भने ।

कहाँ कतिका लागि निर्वाचन हुँदै ?

आयोगले स्थानीय तह निर्वाचनमा ७ सय ४४ वटा स्थानीय तहका लागि ३६ हजार ६ सय ३९ पदमा निर्वाचन गराउँदै छ । ४ महानगरपालिका, १३ उपमहानगरपालिका र २ सय ४६ नगरपालिकाका लागि २ सय ६३ जना प्रमुख र उपप्रमुख गरी ७ सय २६ जना निर्वाचित हुनेछन् । ४ सय ८१ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी ९ सय ६२ जना, ३ हजार ६ सय ८० वडाबाट ६ हजार ६ सय ८० वडाध्यक्ष र देशभरबाट २६ हजार ७ सय २० वडा सदस्य निर्वाचित हुने आयोगले जानकारी दिएको छ । आयोगले दिएको जानकारीअनुसार स्थानीय तहमा १३ हजार ३ सय ६० जना महिला निर्वाचित हुनेछन् भने त्यसमध्ये ६ हजार ६ सय ८० दलित महिला निर्वाचित हुनेछन् । दलित महिला उम्मेदवार नभएको वडामा कोटा रिक्त हुनेछन्, तर अर्को उम्मेदवार हुन पाउने छैन । साथै, दलित वा अल्पसंख्यकबाट भने १ हजार ७ सय ५१ निर्वाचित हुनेछन् ।

नयाँ पत्रिकाबाट


  •  
  •  
  •