विदेशबाट मतदाता नामावली संकलन गर्ने कार्यविधि तयार

120
  •  
  •  
  •  

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन कार्यविधि तयार पारेको छ ।

तयार कार्यविधि अनुसार आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि मुलुक तोक्नेछ ।

आयोगका अनुसार यो प्रक्रिया शुरु भइसकेको छ र पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गर्ने तयारी छ ।

सम्बन्धित देशको कूटनीतिक नियोगमा व्यक्तिको फोटो र औंठा छाप संकलन गर्ने आयोगले जनाएको छ । आयोगका अधिकारीहरुका अनुसार कुटनीतिक नियोगकै कर्मचारीलाई तोकेर मतदाता नामावली दर्ता गर्न लगाउने र सफ्टवेयरबाट उक्त नामावली लिएर निर्वाचन आयोगले नै अन्तिम निर्णय लिने गरी कार्यविधि तय गर्न खोजिएको छ ।

‘मतदाता नामावली दर्ता गर्ने प्रयोजनको लागि कुटनीतिक नियोगको कार्यालयमा दर्ता स्थल राख्दा नागरिकको सहज पहुँच, वैविक विवरण लिन उपयुक्त स्थानलाई चयन गर्नु पर्नेछ’ कार्यविधिको बुँदा नम्बर ७ मा छ । यसका लागि सम्बन्धित देशको कुटनीतिक नियोगले आवश्यक समन्वय गर्ने र आवश्यकताका आधारमा घुम्ति शिविर समेत सञ्चालन गर्न सक्ने भनिएको छ ।

साथै, विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने पनि आयोगको कार्यविधिमा उल्लेख छ ।

 

 

 


  •  
  •  
  •