
काठमाडौं । नयाँ जनप्रतिनिधिका लागि गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअन्तर्गत करिब २० प्रतिशत स्थानीय तहका मत परिणाम आउन बाँकी रहेका बेला निर्वाचित जनप्रतिनिधिको कार्यकाल शुक्रबारदेखि सुरु भएको छ ।
देशभरका ७५३ पालिकाका ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा तुलनात्मकरूपमा बढी मतदाता रहेका महानगरपालिका र उपमहानगरपालिकाको मतगणना सकिन अझै केही दिन लाग्ने देखिएको छ ।
यसैबीच यस वर्षको निर्वाचनमा थुप्रै आफन्तले आफन्तलाई हराएर निर्वाचन जितेका छन् ।
पारिवारिक नाताले आफन्त भएपनि चुनावी मैदानमा उनीहरू प्रतिस्पर्धीको रूपमा उभिएका थिए । एकले अर्कालाई हराउन लागि परे ।
ज्वाइँ जेठानबीच चुनावी भिडन्त
भक्तपुरमा यस पटकको निर्वाचनमा ज्वाइँ जेठानकाबीच चुनावी भिडन्त भयो । मध्यपुर थिमी नगरपालिकाका मदनसुन्दर श्रेष्ठ र सुरेन्द्र श्रेष्ठबीच भिडन्त भएको हो । मदनसुन्दर ज्वाइँ, सुरेन्द्र जेठान हुन् । कांग्रेसबाट मेयरको उम्मेदवार बनेका सुरेन्द्रले एमालेका मदनसुन्दरलाई ४ हजार ६३ मतान्तरले पराजित गरेका छन् ।
सुरेन्द्रले १५ हजार ९८ मत ल्याएर विजयी भएका हुन् भने मदनसुन्दरले ११ हजार ३५ मत ल्याएका छन् । सुरेन्द्र मदनसुन्दरका माइलो जेठान हुन् ।
सुरेन्द्रकी बहिनी सुजाता श्रेष्ठ मदनसुन्दरकी श्रीमती हुन् । जितपछि आफ्ना जेठान सुरेन्द्र सहितको टिमलाई मदनसुन्दरले बधाई तथा शुभकामना दिएका छन् । जहाँ ज्वाइँले जेठानलाई ४ मतले हराए ।
बाजुरामा पनि ज्वाइँ–जेठानबीच रोचक प्रतिस्पर्धा
बाजुराको बडिमालिका–२ को वडाअध्यक्षमा पनि ज्वाइँ–जेठानबीच रोचक प्रतिस्पर्धा भयो । ज्वाइँ डम्बर महतले जेठान गोपाल कार्कीलाई ४ मतले पराजित गरे । डम्बरको ३१९ मत आउँदा गोपालले ३१५ मत प्राप्त गरेका छन् ।
महत नेकपा एमाले र कार्की नेपाली कांग्रेसबाट चुनावी प्रतिस्पर्धा उत्रिएका थिए । अघिल्लो निर्वाचनमा पनि उनीहरू बीच नै प्रतिस्पर्धा भएको थियो । त्यसबेला पनि कार्की ६ मतले पराजित भएका थिए । डम्बरले २ सय ४२ मत ल्याएका थिए भने गोपालले २ सय ३६ मत ल्याएका थिए ।
दाजुभाइ प्रतिस्पर्धी
इलामको रोङ गाउँपालिका–१ को वडाध्यक्षमा दाइले आफ्नै भाइलाई हराएर निर्वाचित भए । कांग्रेसका उम्मेदवार मनोहरी खड्का (दाइ)ले एमालेबाट उम्मेदवार बनेका मनकुमार खड्का (भाइ)लाई पराजित गरेका हुन् ।
मनोहरीले ६ सय १० मत ल्याएर विजयी भएका हुन् भने मनकुमारले ४ सय ८८ मात्रै मत पाएका छन् । त्यस्तै, बाँकेको कोहलपुर नगरपालिका–३ मा पनि दाजुभाइबीच चुनावी प्रतिस्पर्धा भयो । भाइ माधव रिजाल र दाजु तारा केशर रिजालबीचको प्रतिस्पर्धामा माधव निर्वाचित भएका छन् ।
नेकपा एमाले उम्मेदवार माधवले माओवादीका उम्मेदवार ताराकेशरलाई ३ सय मतान्तरले पराजित गरे । माधवले १ हजार ३०७ मत प्राप्त गर्दा ताराकेशरले १ हजार ६०७ मत प्राप्त गरे ।
दाइलाई हराउँदै भाइले जिते
नेपालगञ्ज उपमहानगरपालिका–१ को वडाध्यक्षमा पनि दाइलाई हराउँदै भाइले जित हात पारे ।
एमालेबाट उम्मेदवारी दिएका प्रमोद रिजालले ७ सय ८१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भए । उनका दाइ कांग्रेसका उम्मेदवार विनोद रिजालले ५ सय ८१ मत प्राप्त गरेर पराजित भएका छन् ।
एकै परिवारका तीनजना प्रतिस्पर्धी
नुवाकोट विदुर नगरपालिका–८ मा एकै परिवारका तीन सदस्यबीच प्रतिस्पर्धा भयो । एकै परिवारका दाजु, भाइ र बहिनीले फरक–फरक पार्टीबाट प्रतिनिधित्व गरे । दाइ सम्वरबहादुर रिमालले नेकपा एमालेका तर्फबाट र भाइ इश्वरबहादुर रिमालले राप्रपाबाट खुला सदस्यमा उम्मेदवारी दिएका थिए । बहिनी देवकुमारी खड्काले गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट महिला सदस्यमा उम्मेदवारी दिएकी थिइन् ।
बाबुसँग पराजित, छोरालाई हराए
पाँचथरको फिदिम–१ को वडाध्यक्षमा २०५४ र २०७४ सालमा बाबुसँग पराजित एमालेका गजाधर भट्टराईले यसपटक छोरालाई हराएका छन् ।
यसअघि हर्कबहादुर मोक्तानसँग पराजित भएका उनले यसपटक हर्कबहादुरका छोरा सन्तोषलाई पराजित गरेका हुन् । गजाधरले कांग्रेसका सन्तोषलाई २ सय ४८ मतान्तरले हराएका हुन् । भट्टराईले १ हजार ७१ मत पाउँदा मोक्तानलाई ७ सय २३ मत प्राप्त भएको थियो ।
वडाध्यक्ष मोक्तानको निधन भएपछि २०७६ मंसिरमा सम्पन्न उपनिर्वाचनमा कांग्रेसका सुवराज थापालाई हराउँदै भट्टराई वडाध्यक्ष बनेका थिए । उनले एमालेबाट वडाध्यक्ष पदका लागि चौथो पटक टिकट पाएका हुन् । भट्टराईले प्रतिस्पर्धी दलका भावनालाई समेट्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
काका भतिजको भिडन्त