निर्वाचनः ताजा अवस्था, कहाँ को विजयी र अगाडि ?

99
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंमा मतगणना शुरु भएका तीनवटै नगरपालिकामा एमालेले अग्रता लिएको छ । शंखरापुर, गोकर्णेश्वर र बुढानिलकण्ठमा एमालेका मेयर उपमेयरका उम्मेदवार अगाडि छन् । गोकर्णेश्वरमा एमालेका उम्मेदवार उद्धब विष्टले ५५० मतसहित अग्रता लिँदा कांग्रेसका विनोद रिजालले ५०० मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपमेयरमा एमालेकी सान्नानी लामाले ५६२ मतका साथ अग्रता लिँदा कांग्रेसकी उम्मेदवारले ४५१ मत पाप्त गर्नुभएको छ ।
त्यस्तै शंखरापुरमा एमालेका मेयर उम्मेदवारले १३५ मतले अग्रता लिँदा गठबन्धनका उम्मेदवारले ९० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा पनि एमालेको मेयर उम्मेदवार मिठाराम अधिकारीले ७७८ मत सहित अग्रता लिनुभएको छ भने कांग्रेसका विनोद चालिसेले ४२८ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा हुनुहुन्छ । भने कांग्रेसकी रमा वाग्लेको ४५३ मत छ । काठमाडौं महानगरपालिकाको मतगणना शुरु भएको छैन । अन्य नगरपालिकाको मतगणना शुरु हुने क्रममा छ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी हुनुभएको छ । उहाँले ५ सय ६१ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्टले ५ सय ४७ मत सहित अग्रता कायम गर्नुभएको छ ।
उहाँका प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत प्राप्त गर्नुभएको छ ।
बैतडीको सुर्नया गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ । ४७० मत गणना भइसक्दा गजेन्द्रबहादुर चन्दले २९८ मत प्राप्त गर्नुभएको छ ।
एमालेका अम्मर कुवँरले ६८ मत प्राप्त गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेन्द्र विष्टले ३१ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिनुभएको छ ।
वडा नम्बर १ को मतगणनाको प्रारम्भिक नतिजा अनुसार बस्नेतले २८३ मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले २१३ मत पाउनुभएको छ ।
उपमेयरमा नेपाली कांग्रेसका निराजन जंगमले २८२ र नेकपा एमालेकी लालतारा अधिकारीले २२७ मत प्राप्त गर्नुभएको छ ।
दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ को छांगरु र तिंकरको मतपेटिका हेलिकप्टरमार्फत ल्याइँदैछ ।
सबैभन्दा विकट ठाउँ रहेको छांगरु र तिंकरको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छांगरु प्रस्थान गरेको हो ।
दुई वटा मतदान केन्द्र रहेको वडा नम्बर १ को मतपेटिका छांगरुमा राखिएको छ ।
नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो ।
जुम्लाको गुठिचौर गाउँपालिका–३ गज्यांकोटको शंकर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा जेठ १ गते पुनः मतदान हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
मतदानस्थलमा ढुंगामुढा भएपछि सर्वदलीय वैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । १००७ मतदात रहेको यो केन्द्रमा ३२० खसेपछि झडप भएको थियो ।
यता, सोलुखुम्बुको सोताङ गाउँपालिकामा बिरामी मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा भएको दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ ।
वडा नम्बर ३ मा भोट खासल्न आएकी विरामी वृद्धा महिलाको मृत्युपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको हो ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here