स्थानीय तह निर्वाचनः अर्थमन्त्रायलद्वारा साढे १६ अर्ब निकासा

79
  •  
  •  
  •  


काठमाडौं । यहि वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि अर्थमन्त्रालयले १६ अर्बभन्दा बढी निकासा दिएको छ । मन्त्रालयले निर्वाचन आयोग र सुरक्षा निकाय लगायतलाई निर्वाचनलक्षित प्रयोजनका लागि यो रकम निकासा दिएको हो ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै निकासा निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड दिएको हो ।
निर्वाचन आयोगले सुरुमा १२ अर्ब हाराहारीमा बजेट माग गरेको थियो । तर पछि फाइनल हिसाब निकाल्दा आठ अर्ब ११ करोड रुपैयाँ स्वीकृत भएको हो ।

आयोगले मतपत्र तथा निर्वाचन सामग्री खरिद गरी निर्वाचन केन्द्रमा पठाउन समेत सुरु गरिसकेको छ ।

यसैगरी, अर्थले पाँच अर्ब ६३ करोड गृहमन्त्रालयअन्तर्गतको नेपाल प्रहरी, सशस्त्र प्रहरीको लागि विनियोजन गरिएको अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । यो रकम प्रहरीको भत्ता म्यादी प्रहरीको सेवा सुविधामा प्रयोग खर्च गरिनेछ ।

यसैगरी, सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता वापतको रकम पनि अर्थ मन्त्रालयले स्वीकृत गरेको छ ।

नेपाली सेना र राष्ट्रिय अनुसन्धान केन्द्रका लागि पनि दुई अर्ब २९ करोडभन्दा बढी रकम छुट्याइएको छ ।

अर्थ मन्त्रालयको विविध शिर्षकमा चालु वर्षमा १५ अर्ब रुपैयाँ रहेको छ । निर्वाचन प्रयोजनका लागि यसमा नपुग रकम रकमान्तर गरेको हो ।


  •  
  •  
  •