पर्वत, २५ वैशाख (ओएनएस) : पर्वतबाट संविधानसभामा प्रतिन्धिित्व गर्ने तीन जना सभासदहरुले सामुदायिक विद्युतीकरणमा देखिएका समस्या र विद्युत ऐन पारित गराउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभासदहरु अर्जुनप्रसाद जोशी, कल्पना चापागाई र बिकास लम्सालले विद्युत ऐन संसदमा लगेर पारित गराउने तथा काठका पोल परिर्वतन गरी फलामे पोल राख्नका लागि बजेट बिनियोजनमा पहल गर्ने आश्वासन दिएका हुन् ।
पर्वतमा सामुदायिक विद्युतीकरणबाट बिजुली बलेका २९ गाउँ विकास समितिमा काठका पोल कुहिएर डरलाग्दो समस्या सृजना भएको छ । ९० प्रतिशत पोल कुहिएकाले दुर्घटनाको जोखिम बढेको छ । काठका पोल प्रतिस्थापन गरी फलामे पोल प्रयोग गर्नुपर्ने अवस्था रहेको भन्दै उपभोक्ता समितिले आवाज उठाउँदै आएका छन् ।
विद्युतीकरण गर्ने दायित्व राज्यको भएपनि उपभोक्ताले निजी लगानीमा विद्युतीकरण गर्न सहयोग पु¥याएको बताउँदै सभासद अर्जुनप्रसाद जोशीले विद्युत विधेयकलाई संसदबाट पारित गराउन तथा गाउँ–गाउँमा रहेको काठका पोलको समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिए ।
अर्का सभासद कल्पना जोशीले उपभोक्ता समितिमा देखिएको समस्या समाधानका लागि आफुले संसदमा आवाज उठाउने बताइन् । सभासद बिकास लम्सालले काठका पोल प्रतिस्थापन गर्न कानुनी अड्चन हटाएर सरकारले नै बजेट बिनियोजन गर्नुपर्ने बताए । उनले समस्या समाधानका लागि पहल भैरहेपनि समाधान नभैसकेको बताउँदै समस्या समाधान र ऐन पास गर्न आफ्ुले भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका महासचिव नारायण ज्ञवालीले विद्युत ऐनमा संशोधन नभएसम्म सामुदायिक विद्युत उपभोक्ताको समस्या सम्बोधन हुन नसक्ने भएकाले सभासदहरुले संसदमा पुगेर फर्केको विधेयक पारित गर्न सहयोग गर्नुपर्ने बताए ।
विद्युतका पोल ढलेर करेण्ट लागी मानवीय क्षति हुने घटना बढेपछि जिल्ला सुरक्षा समिति पर्वतले काठका कुहिएका पोल परिर्वतन गर्न सम्बन्धित निकायमा समेत पत्राचार गरिसकेको निमित्त प्रमुख जिल्ला अधिकारी चुडाराज भट्टराईले बताए ।
Comments are closed.