प्रचण्डले गरे बाम एकताबारे सनसनी पुर्ण खुलासा, दुबै पार्टीभित्र एकता विरोधी शक्ति

एकिकृत पार्टीकाे केन्द्रीय कमिटीको संख्या हेरफेर हुन सक्छ
256
  •  
  •  
  •  

काठमाडौं, २१ चैत (ओएनएस) : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनभित्रै एकता नचाहने नेताहरु रहेको बताएका छन्।

उनले भने,‘वाम गठबन्धनका दुवै पार्टी एमाले र माओवादीभित्र एकता विरोधी शक्तिहरु छन्।’सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष दाहालले वाम एकता हुन नदिन बाह्य शक्ति समेत लागेको दाबी गरे।

‘एमाले र माओवादीभित्रैका केही मानिसमा एकता नहुँदा पनि हुन्छ भन्ने मनोविज्ञान देखिन्छ। तर मूल नेतृत्व त्यसलाई चिरेर जानुपर्नेमा एकमत रहेकाले निर्धारित समयमै एकता हुन्छ,’ दाहालको भनाइ उद्धृत गर्दै एक माओवादी नेताले भने।

चुनावी तालमेल र सरकार विस्तारमा भएको भागबण्डा पार्टी एकतामा लागू नहुने बताउँदै अध्यक्ष दाहालले पार्टी एकता समानता र सहअस्तित्वका आधारमा हुने दाबी गरेका थिए। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसमेत त्याग गरेर भए पनि पार्टी एकता गर्ने पक्षमा रहेकाले एमाले र माओवादी एक हुने उनले बताएका थिए।

पार्टी एकताका लागि सांगठनिक व्यवस्थापन चुनौतीपूर्ण र महत्वपूर्ण रहेको बताउँदै दाहालले कम्युनिस्ट पार्टी स्थापनाको दिन बैसाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी भएको खुलाए। कार्यदलले एकीकृत पार्टीको केन्द्रीय कमिटीको संख्या २ सय ९९ सिफारिस गरे पनि त्यसमा हेरफेर हुन सक्ने दाहालको भनाइ थियो।

‘नेताहरुको व्यवस्थापन समेत मुख्य विषय भएकाले केन्द्रीय कमिटी ३ सय २५ पनि हुन सक्छ, ३ सय ५१ समेत पुर्‍याउन सकिन्छ। यस विषयमा छलफल गर्न बाँकी छ,’ उनले भने।

पार्टी एकता प्रक्रियामा रहेकाले माओवादीले तत्काल संसदीय दलको पदाधिकारीको निर्वाचन नगर्ने भएको छ।


  •  
  •  
  •