एमाले स्थायी समितिको निष्कर्ष : आशंका हटाएर ९ वैशाखमै एकता घोषणा

369
  •  
  •  
  •  

काठमाडाैँ ४ वैशाख | एमालेले माओवादीसँगको अविश्वास हटाएर ९ वैशाखमै पार्टी एकता घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादी अध्यक्ष प्रचण्डमा एकतापछिको सम्मानजनक हैसियतबारे कुनै आशंका भए हटाएर ९ वैशाखमै एकताको निर्णय गर्ने म्यान्डेट पार्टी एकता संयोजन समितिलाई दिएको छ ।

‘आलोपालो अध्यक्षता, दुई सहअध्यक्ष, जबज र माओवादजस्ता सैद्धान्तिक प्रश्नलाई एकता महाधिवेशनसम्म बहसबाट टुंग्याउनेलगायत महत्वपूर्ण र धेरै जटिल विषयहरू ७ बुँदे सहमतिमै मिलिसकेकाले अरू सामान्य प्राविधिक विषयबाट एकता रोक्नुपर्ने कारण देखिएन,’ बैठकपछि उपाध्यक्ष युवराज ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘त्यसैले कुनै आशंका छ भने त्यसलाई एकता संयोजन समिति बैठकमा घनिभूत छलफल गरेर ९ गते नै पार्टी एकता घोषणा गर्नुपर्ने निष्कर्षसहित म्यान्डेट दिइएको छ ।’ उनले पार्टी एकता सकारात्मक दिशामा अगाडि बढेको ‘ब्रिफिङ’ बैठकमा अध्यक्ष ओलीले गरेको पनि बताए । एमालेले एकतासम्बन्धी अन्तिम निर्णयका लागि ६ वैशाखमा पोलिटब्युरो र ७ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

आशंका आलोपालो अध्यक्षता र प्रधानमन्त्रीमा
प्रधानमन्त्री ओलीले सोमबार प्रचण्डसँगको वार्ताबारे ब्रिफिङ गरेपछि एमाले नेताहरूले दुई पार्टीबीच मुख्य अविश्वास आलोपालो अध्यक्षता र प्रधानमन्त्रीमै देखिएको निष्कर्ष निकालेका छन् । आलोपालो अध्यक्षता कसरी गर्ने र हैसियत के हुने विषय अधिकांश अन्तरिम विधानले नै टुंग्याइसकेकाले प्रधानमन्त्रीका विषयमा प्रचण्डलाई कन्भिन्स गरेर अघि बढ्ने बैठकले निष्कर्ष निकालेको छ ।

‘प्रधानमन्त्रीको विषय लिखित नै गर्दा पार्टी एकताको सन्देश नजाने भएकाले त्यसो गर्नु राम्रो होइन, तर आलोपालोबारे वान अन वानमा हुन्छ कि, संयोजन समितिमै छलफल गरेर कसरी हुन्छ, टुंगो लगाउनु नै राम्रो हुन्छ भन्ने सुझाव दिएका छौँ,’ एक एमाले नेताले भने । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पनि आशंका निवारण गर्ने उपायको खोजी गर्दै तत्काल एकता टुंग्याउनुपर्नेमा जोड दिएका थिए ।

ओलीको ब्रिफिङ : भड्काउन खोजे पनि एकता हुन्छ
अहिले एकता गरेर जाँदा प्रचण्डजीमा कहीँ न कहीँ हामी (माओवादी) छायामा पर्छौँ कि भन्ने आशंका देखिन्छ । एकतापछि कतै एमाले नै हाबी हुने हो कि, माओवादीको हैसियत कमजोर हुने हो कि भन्ने पनि देखिन्छ । यस्तो आशंकाबीच कतिपय मान्छेहरूले भड्काउनका लागि शंका भरिदिएको पनि हुनसक्छ । सम्मानजनक भनेर ५०/५० अनुपातमा एकताको कुरा त्यतिकै आएको पनि छैन । तर, जे होस् उहाँसँग सकारात्मक दिशामा कुरा अघि बढेको छ, विश्वासको वातावरण बन्दै छ । संयोजन समितिमा पनि थप छलफल हुन्छ र ९ गते नै पार्टी एकता घोषणा गर्ने गरी तयारी गर्नुपर्छ ।

आज एकता संयोजन समिति बैठक

दुई अध्यक्षबीच अढाइ घन्टा छलफल

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच एकताका टुंगिन बाँकी विषय पार्टी एकता संयोजन समितिमा छलफल गर्ने समझदारी भएको छ । दुई नेताबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार भएको छलफलमा मंगलबार बस्ने संयोजन समिति बैठकमा छलफल गर्ने समझदारी भएको हो ।

‘उहाँहरूबीचको भेटवार्तापछि एकता संयोजन समितिको बैठक बोलाइएको हो,’ माओवादी नेता अग्निप्रसाद सापकोटाले भने, ‘के कुराकानी भयो विस्तृत जानकारी नभए पनि बाँकी विषय टुंग्याएर एकता छिटो गर्ने दिशामै छलफल भएको छ ।’ एमाले र माओवादीले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा एकता घोषणा गर्ने बताउँदै आएका छन् ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच सोमबार बिहान साढे दुई घन्टा छलफल भएको थियो । साढे १० बजेदेखि १ बजेसम्म भएको छलफलका लागि प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेबाट सीधै प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच एकतासम्बन्धी कार्यदलले बुझाएको राजनीतिक र सांगठनिक प्रतिवेदनमा केन्द्रित रहेर छलफल भएको प्रधानमन्त्रीका सूचना सम्प्रेषक रामशरण बजगाईंले बताए । ‘छलफलमा भएको समझदारीअनुसार मंगलबार एकता संयोजन समितिको बैठक बोलाइएको हो,’ उनले भने ।

तीनपटक स्थगितपछि समितिको बैठक
गत २२ चैतमा बसेको एकता संयोजन समितिको बैठकले ९ वैशाखमा पार्टी एकता घोषणासभा गर्ने निर्णय गरेको थियो । तर, त्यसपछि बोलाइएका बैठक पटक–पटक स्थगित हुँदै आएका छन् । प्रधानमन्त्री ओली भारत भ्रमण सकेर फर्किएपछि २७ र २८ चैतमा बोलाइएको बैठक स्थगित भए । २७ चैतमा बिहान बोलाइएको बैठक स्थगित गरेर बेलुका डाकिए पनि पुनः स्थगित भएको थियो ।

एकतासम्बन्धी राजनीतिक, सांगठनिक र विधान प्रतिवेदन तयार भइसके पनि ओली र प्रचण्डको व्यस्ततालाई कारण देखाउँदै बैठक बस्न सकेको थिएन । दुई पार्टीबीच केन्द्रीय कमिटीमा संख्या अनुपात, चुनाव चिह्न र विधान प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने विषय टुंगिन बाँकी छ । सोमबारको बैठकमा यी विषयमा छलफल भए पनि सहमति भइनसकेको प्रचण्डनिकट स्रोतले जनाएको छ ।

टुंगिन बाँकी तीन विषय

संख्या अनुपात
कार्यदलमा केन्द्रीय कमिटी २ सय ९९ सदस्यीयसहित १० वटै तहका कमिटीको संख्या टुंगिएको छ । तर, दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने विषय टुंगो लाग्न बाँकी छ । यद्यपि, दुवै पार्टीका नेताहरूले एकतामा नीति, सिद्धान्त र लक्ष्य महत्वपूर्ण रहेकाले कसको कति प्रतिशत सहभागिता भन्ने विषय ठूलो नरहेको बताउँदै आएका छन् । एमाले माओवादीको जनमत र निर्वाचनमा बाँडिएको सिटलाई ध्यान दिँदै अनुपात मिलाउने पक्षमा छ । तर, माओवादी भने त्यसरी जाँदा विलयको अर्थ लाग्ने भन्दै समानतालाई आधार मान्नुपर्ने अडानमा छ । दुई दलका दुई रणनीतिकै कारण कार्यदलले टुंग्याउन नसकेका विवादित विषय शीर्ष नेता सम्मिलित संयोजन समितिमा आइपुगेको छ ।

विधानमा जनयुद्ध थप्ने कि नथप्ने ?
पार्टी विधान मस्यौदाको सुरुकै प्रस्तावनामा जनआन्दोलन र जनक्रान्तिका उपलब्धि लेखिए पनि ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने विषय टुंगिएको छैन । जनक्रान्ति लेखिसकेपछि जनयुद्धको भाव समेट्ने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने तर्क गर्दै आएको छ ।

चुनाव चिह्न : सूर्य कि सूर्यभित्र हँसिया–हथौडा ?
माओवादी नेताहरूले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडान राखेका छन् । तर, एमाले नेताहरूले भने सूर्य चिह्न मात्रै राख्नुपर्ने तर्क गरेका छन् । ०४८ देखि जनस्तरमा परिचित भएकाले सूर्य चिह्न बढी प्रभावकारी हुने एमाले नेताहरूको भनाइ छ । नयाँ पत्रिका बाट


  •  
  •  
  •