क्षमतावान बन्न शिक्षा आवश्यक : झमक

728
  •  
  •  
  •  

jhamak ghimireधनगढी, २१ वैशाख(ओएनएस) : साहित्यकार एवं लेखक झमक घिमिरेले क्षमतावान बन्नका लागि शिक्षा आजको अपरिहार्यता भएको बताएकी छन् ।

‘शिक्षा बिना जीवनमाथि उकास्न सकिन्न ।’ सीमान्तकृत बालबालिकाहरूको शिक्षामा सहयोग (स्टेम) परियोजनाद्वारा मंगलबार धनगढीमा आयोजित कार्यक्रममा मदन पुरस्कार विजेता समेत रहेकी लेखक घिमिरेले भनिन्, ‘जीवनमाथि उकास्न शिक्षा विना सम्भव छैन । क्षमतावान बन्न शिक्षा आवश्यक छ ।’

‘जीवनको उज्यालो हो, शिक्षा पछ्याउन, नपछ्याउने आफ्नो हातमा छ ।’, घिमिरेले भनिन् ।

महिलालाई शिक्षा प्राप्त गर्न सहज र सरल नभएको चर्चा गर्दै लेखक घिमिरेले भनिन्, ‘यस क्षेत्रमा सीमान्तकृत बालबालिकाको शिक्षाको अवस्था कस्तो छ, त्यो त मलाई थाहा छैन । तर मुलुकमा सहज छैन । शिक्षा प्राप्तिका लागि संघर्ष गर्न जरुरी छ ।’

हरेक क्षेत्रमा महिलाको समानता नहुन्जेलसम्म देशको विकास नहुने उल्लेख गर्दै घिमिरेले गरिबीसँगै समाजमा रहेका हरेक विकृतिसँग लड्दै न्यायमूखी समाज निर्माणमा लाग्नु पर्ने बताइन् । नेपाली समाज अन्ध विश्वासको जालोमा रहेको चर्चा गर्दै घिमिरेले भनिन्, ‘समाजले दिएको पीडाले आमा रोएको देख, तव केही गर्नुपर्छ लाग्यो, अहिले यहाँसम्म पुगेकी छु ।’

मस्तिष्कको रोगका कारण बोल्न नसक्ने साहित्यकार झमक देब्रे खुट्टाका दुई औलाले लेखेर नै साहित्य सिर्जना गर्छिन । घिमिरेले लेखेका भनाई जनजागृति उच्च माविकी छात्रा (शारिरीक अपांगता भएकी) शान्ति रोकायाले बाचन गरेर सुनाएकी थिइन् । १५ वर्षको उमेरदेखि साहित्य सिर्जनामा लागेकी साहित्यकार झमकको आत्मकथा ‘जीवन काँडा कि फूल’ ले २०६७ मा मदन पुरस्कार पाएको थियो ।


  •  
  •  
  •