बिहान विद्यालय संचालन गर्न निर्देशन

136
  •  
  •  
  •  

महोत्तरी, ५ मंसिर(ओएनएस) : शिक्षामन्त्री गिरीराजमणि पोखरलेले आन्दोलनरत तराई मधेश जिल्लाका शिक्षा अधिकारीहरूलाई बिहानी सत्रमा विद्यालय संचालन निर्देशन दिएका छन् ।

महोत्तरीका बर्दिवासमा तराई मधेशका शैक्षिक सरोकारवालाहरूसँगको अन्तरक्रियामा मन्त्री पोखरेलले हाल प्रस्तावित २ नम्बर प्रदेशको पर्सादेखि सप्तरीसम्मका आठ जिल्लाका शिक्षा अधिकारीहरुलाई तत्काल आन्दोलनरत मोर्चाकै समय अनुसार मंसिर महिनासम्म बिहानी सत्रमा विद्यालय संचालन गर्न निर्देशन दिए ।

उनले दिवासत्रका लागि पहल भइरहेको जानकारी दिए । कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा र पर्सा जिल्लाका जिल्ला शिक्षा अधिकारी, संचारकर्मी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

शिक्षामन्त्री पोखरेलले शिक्षा क्षेत्र सुधारको लागि ल्याइएको १८ बुँदे प्रतिवद्धताबारे जानकारी समेत छलफल गरेका थिए । उनले शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि तथा प्रशासनिक पुन:संरचनाका लागि आवश्यक सुझाव दिन उच्चस्तरीय आयोग गठन गरिने समेत जानकारी दिए ।

कार्यक्रममा शिक्षामन्त्रीसँगै शिक्षा मन्त्रालयका महानिर्देशक डा. डिल्लीराम रिमाल, सहसचिव मुकुन्द निरौला लगायतका पनि उपस्थिति थियो ।


  •  
  •  
  •