काठमाडौं २७ मंसिर । वर्षभरिको शुल्क उठाएर विद्यालय सञ्चालक भागेपछि गौशालास्थित गुरुकुल नेसनल उच्च माध्यमिक विद्यालयका विद्यार्थी बिचल्लीमा परेका छन्। आपसी द्वन्द्वका कारण सञ्चालकहरू सम्पर्कविहीन भएपछि शिक्षकहरूले दुई वर्षदेखि तलब पाएका छैनन्।
तलब नपाएको पीडामा उनीहरू पढाउन नआएपछि विद्यार्थीको भविष्य अन्धकार बनेको छ। यो उच्चमाविमा विज्ञान र व्यवस्थापन विषयको पढाइ हुन्छ। कक्षा ११ र १२ मा गरी चार सय विद्यार्थी अध्ययनरत छन्।
गत भदौदेखि विद्यार्थीको पढाइ ठप्प छ। शिक्षक र सञ्चालक नभेटेपछि विद्यार्थी बाँकी पढाइ कसरी पूरा गर्ने भन्ने चिन्तामा छन्। वर्षभरिको शुल्क तिरेका उनीहरूले सञ्चालक र शिक्षक खोजी गरिदिन उच्च माध्यमिक शिक्षा परिषद् र प्रहरीमा उजुरी दिएका थिए।
‘कुनै विद्यार्थी ३० हजार तिरेको छु भन्छन्। कुनै वर्षभरिको शुल्क तिरेको छु भन्छन्। दुई वर्षदेखि तलब नपाएका शिक्षकका पीडा पनि उस्तै छ’, परिषद् अनुगमन शाखाका प्रमुख डम्बर बतासले भने।
उनका अनुसार विद्यार्थी र शिक्षकको उजुरी आधार मान्ने हो भने विद्यालय सञ्चालकले करोडभन्दा बढी रकम हिनामिना भएको देखिन्छ।
विद्यालयका प्राचार्य सुजित सिंह समूहले रकम हिनामिना गरेको देखिएको परिषद्को निष्कर्ष छ।
निरीक्षणमा जाँदा विद्यालय सञ्चालनसँग सम्बन्धित कोही पनि नभेटेपछि परिषद्ले विद्यालय खारेजी तथा सञ्चालकलाई खोजेर कानुनी कारबाही गर्ने आशयको सूचना सार्वजनिक गरेको थियो।
सार्वजनिक सूचनापछि विद्यालयका प्राचार्य बताउने सिंहलगायतका केही सञ्चालक शुक्रबार परिषद्मा उपस्थित भएका थिए। बतासले भने, ‘सुजित सिंहको समूह पनि केही समयमात्र कुरा गर्दागर्दै बाहिर गएको थियो। त्यसपछि आएनन्।’
महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक पृथ्वीनारायण वलीले गुरुकुलका प्राचार्य सिंहले आर्थिक हिनामिना गरेको उजुरी परेको बताए। ‘सिंह हाम्रो खोजीको सूचीमा छन्, तर पक्रन सकेका छैनौं’, उनले भने।
विद्यालय सञ्चालक फरार भएपछि आक्रोशित विद्यार्थीले बिहीबार साँझ सञ्चालकमध्येका एक सरोज राणालाई पुरानो बानेश्वरस्थित घरमै पुगेर घेरेका थिए। विद्यार्थीले तोडफोड गर्ने सम्भावना भएपछि गौशाला प्रहरीले राणालाई पक्रेको थियो। उनलाई पक्रेको जानकारी पाएपछि विद्यालयका सञ्चालकमध्येकै मृगेन्द्र कार्की र विज्ञान शर्मा गौशाला प्रहरी कार्यालय आएका थिए।
प्रहरी निरीक्षक वलीले भने, ‘तीनैजना सञ्चालकको कुरा सुन्दा प्राचार्य सुजितको बेइमानीका कारण विद्यालय अस्तव्यस्त भएको देखिन्छ। तीनैजना आफूहरूले विद्यालयमा लगानी गरेकै कारण घरसमेत बैंकले लिलामी गर्ने अवस्थामा पुगेको गुनासो गर्छन्।’
प्रहरीमा भने तीनैजनाविरुद्ध उजुरी परेको छैन। उजुरी परेका सिंहलाई पक्राउ गर्न सकिएको छैन। वलीले भने, ‘विद्यालय खारेजीलगायत अन्य मुद्दा उच्च माध्यमिक शिक्षा परिषद्ले हेर्ने हुनाले तीनैजना सञ्चालकलाई परिषद्मा बुझाइदियौं।’ अन्नपूर्णपोष्टबाट