नेपालको शैक्षिक प्रणाली र विदेशिने होड

244
  •  
  •  
  •  

डिबी बुढा

नेपालमा गुणस्तरीय शिक्षा नहुनु र विश्वविद्यालयहरुमा चरम बेथितीका कारण नै विद्यार्थीहरु विदेशिनुको मुख्य कारण बन्ने गरेको छ । आज विद्यार्थीहरु दिनप्रतिदिन उच्च शिक्षाकै लागि बाहिरिनेक्रम बढ्दो छ । जसोतसो कक्षा १२ पासपछि विद्यार्थीहरुको मनस्थिति नै विदेशिने हुन्छ । कक्षा १२ पछिको नेपालको चार वर्षे ब्याचलर पढाइ, बेरोजगारी अनि विश्वविद्यालयको परीक्षा प्रणालीका कारण विद्यार्थीहरुमा निराशा छाउने गरेको छ ।

आजभोली शहरमा बस्ने हरेक अभिभावकहरुले सानै उमेरमा आफ्ना छोरा छोरीहरुलाई कक्षा १२ पास गरेपछि अष्टे«लिया, अमेरिका, क्यानडा, जापान, फ्रान्स पोर्चुगल जस्ता विकसित देशहरुमा पढाउने योजना बनाइ सकेका हुन्छन् ।

त्यसै अनुसार आर्थिक स्रोतको पनि व्यवस्था पनि गरिसकेको हुन्छन् । विदेशमा उच्च शिक्षा हासिलसँगै पैसा पनि कमाउन पाइन्छ भन्ने मान्यता छ । नेपालमा उच्च शिक्षा हासिल गरेता पनि त्यो सर्टिफिकेटमा मात्रै सिमित हुन पुगेको छ ।

हालै सार्वजनिक भएको एक तथ्यांकले नेपालमा उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेको पाइएको छ ।

यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकअनुसार दैनिक करिब २ सय बढीले नो अब्जेक्सन लेटर (एनओसी) लिने गरेका छन् ।

नेपालमा उच्च शिक्षाको भविष्य राम्रो भए तापनि पढाइसँगै कमाइ गर्ने योजनाअनुसार अधिकांश विद्यार्थी माध्यमिक शिक्षा (कक्षा १२) उत्तीर्ण हुनासाथ विदेशिने गरेका छन् । तथ्यांकलाई हेर्दा असारमा ११ हजार २ सय १७, साउनमा १० हजार १ सय ८२ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । भदौ र असोजमा मासिक करिब १० हजारले एनओसी लेटर लिएका छन् । तथ्यांकअनुसार वार्षिक करिब १ लाख १० हजार विद्यार्थीले एनओसी लेटर लिने गरेका छन् ।

एनओसी लिएका अधिकांश विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न विदेशिने गरेका छन् । नेपाली विद्यार्थीहरू अस्ट्रेलिया, अमेरिका, स्विजरल्यान्ड, बेलायत, जापान, जर्मन, साइप्रस, क्यानडा, चीनलगायत ९० बढी मुलुकमा उच्च शिक्षा अध्ययन गर्न विदेशिने गरेका छन् । विदेशमा अध्ययनका लागि जाँदा वार्षिक करिब १ खर्ब बाहिरिएको छ । यो तथ्यांक अघिल्लो आर्थिक वर्षको हो ।

आर्थिक वर्ष २०७९–०८० मा ६७ अर्ब ७० करोड रहेको थियो । पछिल्लो समय असोज ३० गते नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन–भदौमा शिक्षाका लागि मात्र २३ अर्ब ३३ करोड रुपियाँ विदेशिएको थियो । सरकारले युवाका लागि ठोस योजना बनाउन नसक्दा विदेशिने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ ।

भदौसम्म १२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको थियो । शिक्षामा ठूलो रकम विदेशिएका कारण नेपालको सेवा आय घाटामा रहेको छ । विदेशमा गएर उच्च शिक्षा अध्ययन गर्न आर्थिक वर्ष २०६५–६६ देखि २०७७–७८ सम्म ४ लाख १६ हजार ३ सय ६४ जनाले एनओसी लेटर लिएका थिए । तथ्यांकअनुसार आव २०७८–७९ र २०७९–८० सालमा एनओसी लिनेको संख्या २ लाख २७ हजार ७ सय ८० छ ।

नेपालमा जतिसुकै पढेपनि रोजगारीको अवसर नपाउनु, पाएको ठाउँमा नातावाद, कृपावाद र राजनीतिक जालझेलमा सिमित हुन पुगेको छ ।

आफुसँगै पढेका साथीहरु आएल्स,विदेशी भाषा छात्रवृत्तिको नाममा विदेशिने गरेको र तिनीहरुका आफन्तलाई पनि विदेश तिरै जान प्रोत्साहन  गर्ने गरेको पाइन्छ भने अर्कोतर्फ आफ्नो छिमेकी साथीभाइ गएपछि देखासिखी गरी विदेश जानेको लर्को लागेको पनि लाग्ने गरेको छ । आजभोली शहरका हरेक शर्टरमा आएल्स, जापानीज  लगायतका भाषाका कक्षाहरु सञ्चालन छन् ।

पढ्ने विषय, विषय शिक्षक यहि नेपालमै पाइन्छ, तर पनि शिक्षण सिकाइ पद्धतिमा सुधार नभएकै कारण  विद्यार्थीहरु विदेश जान उत्साहित भएका छन् ।

मुख्य कुरा त नेपालमा रोजगारीको अवसर नपाइने, विदेश गएपछि पढाईसँगै रोजगारी पनि मिल्ने, यूरोपका देशहरुमा ग्रीन कार्ड पाउने र  सिप सिक्ने आशाले पनि विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न विदेशिने सोच बनाइ रहेको पाइन्छ ।

राज्यले शैक्षिक सुधार गर्नु नीति नियमको कार्यान्वयन गराउनु, देशभित्रै विद्यार्थीहरुलाई अडाउनुको सट्टा विदेश जान स्वीकृति गर्ने, विभिन्न देशसँग शैक्षिक सम्झौता पनि विद्यार्थीहरु विदेशीनुको मुख्य कारण रहेको छ । अर्कोतिर विश्वविद्यालयलाई राजनीतिक अखडा बनेको छ । जसले गर्दा पनि विद्यार्थीहरुमा नैरशैता पैदा भएको छ ।

यति मात्र नभइ सामान्य साक्षर युवाहरु पनि स्वदेशमा भविष्य नदेखि परिवार पाल्नकै लागि विदेशिने गरेका छन् ।

विदेश गएपछि पढ्नुका साथै कमाएर घरपरिवारलाई पाल्न सकिने भयो । त्यहि कारणले विद्यार्थीहरु बेलैमा उच्च शिक्षा लिने नाममा विदेशीने गरेको पाइन्छ । अर्कोतर्फ हाम्रो समाजले आर्थिक क्रियाकलापलाई प्राथमिकता दिन थालेपछि पढाइमात्र नभएर पैसा कमाउने तिर बढी जोड दिन थालेयता नेपालमा विद्यालय शिक्षासम्म मात्र पढ्ने त्यो भन्दा माथिल्लो स्तरको शिक्षा लिएर उज्वल भविष्य सफल नहुने देख्छन् ।

नेपाल सकारले शिक्षा ऐन ल्याउँदैमा यो समस्याको अन्त्य हुँदैन । शिक्षामा कति लगानी गर्ने कसरी गुणस्तरीय शिक्षा बनाउने समय सान्दर्भिक बनाउने ?, नीति नियम कार्यक्रम ल्याय पनि कार्यान्वयन गर्नु मूल कुरा हो ।

अहिलेको समयमा केही साथीहरु विदेश पढ्न गइरहेका छन् । विदेश पढ्न जानुपर्छ भन्ने संस्कृतिको विकास भएको पाइन्छ । साच्चै भन्नुपर्दा शिक्षाकै लागि भनेर विदेश गएका भने होइनन् । मुलुकको अवस्था राम्रो नभएको कारणले विद्यार्थी लगायत अभिभावकहरु पनि नेपालमा बसेर उच्च शिक्षा अध्ययन गर्न सकिन्न । यहाँ पढेर काम छैन् बरु विदेश पठायो भने ढुक्क छ । काम पनि पाउँछन् । भविष्य बन्छ भन्ने खालको भावना उत्पन्न भएको र राज्यप्रतिको अविश्वासका कारण अहिले विद्यार्थीहरु विदेशिएको देखिन्छ ।

त्रिविका अनुसार देशभरका कुल एक हजार ४४० कलेज मध्ये २१८ वटा सामुदायिक कलेजमा विद्यार्थीहरुको संख्या एकदमै न्यून देखाउँछ । यि कलेजहरुलाई गाभ्नु पर्ने अवस्थामा छन् । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको संख्या बढेपछि नेपालका क्याम्पसहरुमा विद्यार्थीको अभाव हुन थालेको छ । कक्षा १२ पासपछि धेरै जसोले विदेश जानुका साथै पढाइ ड्रप गर्छन् यसको असर नेपालका क्याम्पसमा देखिन थालेको छ ।

शिक्षाविध विद्यानाथ कोइरालाका अनुसार विद्यार्थी संख्या घट्दो क्रमले क्याम्पसले विद्यालय खर्च व्यवस्थापन समेत गर्न नसकेको देखाएका छन् । हुन पनि जति जति माथिल्लो तहमा पुग्यो त्यति त्यति विद्यार्थीहरुको खडेरी परेको छ । म आफैं कक्षा १२ मा पढ्दा झण्डै ३०० जना विद्यार्थी थियौ भने अहिले म एक जनामात्र विश्वविद्यालयमा अध्ययनरत छु । यसले विश्वविद्यालय विस्तार हुनुको सट्टा झन् खुम्चिरहको छ । अब त्रिविले बाध्य भएर क्याम्पसहरु गाभ्नुको विकल्प छैन । यतिमात्र नभएर अबका केहि वर्षमा शिक्षक जनशक्तिको अभाव हुने देखिन्छ ।

हिजोका दिनमा ढड्डाको शिक्षा दिने चलन थियो । आज त्यो अवस्था रहेन । विश्वजगतमा व्यक्तिको जीवनसँग जोडिने प्रविधिमा आधारित शिक्षा छ । विकसित देशहरु त्यो बाटोमा छन् भने नेपालले त्यो बाटो अपनाउन सकेन । फलस्वरुप विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न विदेशिन बाध्य भएका छन् । यसर्थ, विदेश जाने विद्यार्थीहरुलाई देशमै अडाउन गुणस्तरीय शिक्षा रोजगारीको ग्यारेन्टी समयक्रम अनुसारको पाठ्यक्रम राजनीतिक अखडाको अन्त्य, शिक्षा ऐन कानूनको संशोधन गरी विदेश जाने विद्यार्थीहरुलाई देशभित्रै पढ्ने वातावरण निमार्ण गर्नु उपयुक्त देखिन्छ । जुन विदेश जाने मनसायलाई बन्द गर्ने खालको वातावरण निमार्ण गर्नु नै राज्यका लागि अचुक उपाय हुनेछ ।

विश्वविद्यालय चलायमान राख्न विदेशिने विद्यार्थीलाई रोक्न सक्नुपर्छ विद्यार्थी र अभिभावकको विश्वासलाई टुटाउनु हँुदैन । विश्वासले मात्र विद्यार्थी र विश्वविद्यालयको सम्बन्ध दरिलो बनाउँछ । उनीहरुको भविष्य सहजै चल्नसक्ने प्रेरणा उच्च शिक्षापछि दिन सक्नुपर्छ ।


  •  
  •  
  •