प्राध्यापकको कब्जामा उपकूलपति

415
  •  
  •  
  •  

काठमाडौं ३२ असार (ओएनएस) : विद्यार्थी उद्दण्ड र उच्शृंखल भए शिक्षकले सम्झाउँछन्, सही बाटो देखाइदिन्छन्। शिक्षक नै त्यस्तो बाटो हिँडिदिए कसले सम्झाउने?
त्रिभुवन विश्वविद्यालयमा हुने शिक्षक/प्राध्यापक आन्दोलनले कहिलेकाहीँ यस्तै गम्भीर प्रश्न जन्माउँछ। मंगलबार पनि त्यस्तै भयो। लोकतान्त्रिक प्राध्यापक संघ आबद्ध प्राध्यापकहरुले आफ्ना माग पूरा गराउन दबाबकै लागि विश्वविद्यालयका उपकुलपति र शिक्षाध्यक्षलाई साढे ६ घन्टा घन्टा कार्यकक्षमै थुनिदिए। विरोधका विविध शैली छाडेर ‘अराजक’ शैली अँगालेका प्राध्यापकका माग जायज नै भए पनि उनीहरुमाथि अब एउटा साधारण विद्यार्थीले पनि प्रश्न उठाउन सक्छ– अब आचरण र नैतिक शिक्षा कसले सिकाउने?
तराई मधेस लोकतान्त्रिक पार्टी निकट संघका अध्यक्ष उदयकिशोर तिवारी संयोजकत्वको टोलीले विश्वविद्यालयका उपकुलपति हीराबहादुर महर्जन र शिक्षाध्यक्ष गुणनिधि न्यौपानेलाई मंगलबार दिउँसो २ बजेबाट कार्यकक्षमै नियन्त्रणमा राखेका थिए।
सुरुमा उपकुलपति महर्जनको कार्यकक्ष पुगेका उनीहरुले रजिस्ट्रार चन्द्रमणि पौडेल र शिक्षाध्यक्ष न्यौपानेलाई त्यहीँ बोलाउन लगाएका थिए। पौडेल व्यस्तता देखाउँदै आएनन्, तर शिक्षाध्यक्ष न्यौपाने तत्कालै उपकुलपति कार्यालय पुगेका थिए।
संघले त्रिविमा विभिन्न तह र तप्कामा पदाधिकारी नियुक्त गर्दा संघको २५ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने, आंशिक १२ सय शिक्षकलाई करार नियुक्ति दिनुपर्ने, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज र त्यसका आंगिक क्याम्पसहरुमा मेडिकलका विद्यार्थी भर्ना गर्दा समावेशी गरिनुपर्नेलगायत माग अघि सार्दै आएको छ।
संयोजक तिवारीले त्रिवि पदाधिकारीले माग पूरा गरिदिने भनी पटक–पटक लिखित सहमति गरे पनि सम्बोधन नगरेकाले बाध्य भएर पदाधिकारीलाई नियन्त्रणमा लिइएको स्विकारे। ‘त्रिवि पदाधिकारीले ०६८ र ६९ मै हाम्रा माग पूरा गर्न लिखित सहमति नै गरेका थिए,’ उनले नागरिकसँग भने, ‘हालसम्म पनि बेवास्ता गरेकाले माग पूरा गराउन पदाधिकारीलाई नियन्त्रणमा लिनुको विकल्प नै भएन।’ संघलाई बाइपास गरेर त्रिविलाई कुनै काम गर्न नदिइने उनले चेतावनीसमेत दिए।
डाइबेटिज पीडित उपकुलपति महर्जनलाई समस्या भएपछि राति साढे ८ बजे दुवैजनालाई घर पठाइदिएको तिवारीले जानकारी दिए। ‘उपकुलपतिज्यूलाई रोगले गाह्रो पारेछ,’ तिवारीले भने, ‘बुधबार कार्यकारी परिषद बैठक राखेर मागबारे छलफल गर्ने मौखिक सहमतिमा मुक्त गरिदिएका छौं।’
रजिस्ट्रार पौडेलले त्रिविका प्राध्यापकले आफ्नै पदाधिकारी थुनेर माग पूरा गराउन खोज्नु ‘अराजकताको पराकाष्ठा’ भएको प्रतिक्रिया दिए। ‘यस्ता प्राध्यापकले गर्दा त्रिवि दिनदिनै बद्नामीको सिक्का बन्दै गएको छ,’ उनले भने।
विद्यार्थीलाई चरित्र निर्माण गर्ने शिक्षा दिने प्राध्यापक आफैं अराजकतामा उत्रँदा विद्यार्थी वर्गमा समेत नकारात्मक असर पर्ने उनले औंल्याए। आफूहरुलाई दिउँसो २ बजेदेखि नै प्राध्यापकले उपकुलपति र शिक्षाध्यक्षलाई कार्यकक्षबाट कुनै पनि मिटिङ तथा अन्य कामका लागि बाहिर निस्कन नदिएको जनाए।
‘पदाधिकारीलाई नियन्त्रणमा लिँदैमा लोकतान्त्रिक प्राध्यापकका माग पूरा हुँदैन,’ पौडेलले भने, ‘प्राध्यापक नियुक्ति सेवा आयोगबाट प्रतिस्पर्धा गराई परीक्षा लिएर मात्र गर्ने नीति छ।’ उनले यस वर्षदेखि कुनै पनि आंशिक वा करार नियुक्ति नदिने जानकारी पनि दिए।
हाल त्रिविमा कुनै पनि पद रिक्त नरहेको जनाउँदै उनले कसैका जबरजस्तीले कुनै निर्णय नहुने प्रस्ट पारे।
आफू प्राज्ञिक परिषद बैठक राख्न उपकुलपति कार्यालय नगएको जनाउँदै रजिस्ट्रार पौडेलले भने, ‘उपकुलपति र शिक्षाध्यक्षलाई कार्यालय समयदेखि नै नियन्त्रणमा लिएकाले प्राज्ञिक बैठक बस्न सकेन।’
त्रिविले मंगलबार सबै डिन कार्यालयहरुमा नयाँ कार्याक्रम थप्ने, ट्रान्सक्रिप्टको नयाँ फर्म्याट, विषयगत कोड, परीक्षा विधिलगायत विषयमा निर्णय गर्न प्राज्ञिक परिषदको बैठक डाकिएको उनले जनाए।
राजनीतिक कार्यक्रमले विश्वविद्यालयका पदाधिकारीलाई आफ्ना कार्यकक्षमा बसेर काम गर्नै समस्या भएको उनले जिकिर गरे ।
‘कतिखेर, कुन पार्टीका प्राध्यापक र विद्यार्थी आउँछन् र घेराउ गरिदिन्छन् भन्ने त्रास भइरहन्छ। यस्तो ढंगले विश्वविद्यालय कसरी चल्छ?’
उपकुलपति महर्जनले प्राध्यापकहरुले आफूहरुलाई अचानक घेराउ गरेको बताए। ‘विगतमा गरेको सहमति पूरा गराउन प्राध्यापकहरुले हामीलाई कार्यकक्षमै थुन्नु निन्दनीय कार्य हो,’ उपकुलपति महर्जनले नागरिकसँग भने, ‘धम्की र धाक देखाएर त्रिविले माग पूरा गर्दैन।’नागरिकबाट


  •  
  •  
  •