आठ वर्षयताकै न्यून आर्थिक वृद्धि

134
  •  
  •  
  •  

काठमाडौं २८ असार ।
मुलुकको आर्थिक वृद्धिदर आठ वर्षयताकै सबैभन्दा न्यून देखिएको छ। कृषि र गैरकृषि क्षेत्रको उत्पादन गिरावट र भूकम्पको असरले वृद्धिदर यस वर्ष ३.०४ प्रतिशतमा सीमित हुने भएको छ। आर्थिक वर्ष २०६३/०६४ मा २.८ प्रतिशतको आर्थिक वृद्धि भएयता मुलुकले औसतमा ४ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गर्दै आएको थियो। तर, यो वर्ष सरकारले लक्ष्य गरेभन्दा आधा मात्र आर्थिक वृद्धिदर हुने भएको हो।

चालु आवको बजेट सार्वजनिक गर्दा सरकारले ५.५ प्रतिशतको आर्थिक वृद्धि गनर्ेे लक्ष्य राखेको थियो। तर, वृद्धिदर ३.०४ प्रतिशतमा सीमित रहने अनुमान सरकारले गरेको छ। अघिल्लो वर्ष भने यो वृद्धिदर ५.१ प्रतिशत थियो।

अर्थमन्त्री रामशरण महतले आइतबार संसदमा यस वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै कृषि र गैरकृषि क्षेत्रमा आशातीत सफलता प्राप्त नहुँदा सरकारको आर्थिक विकास लक्ष्य नपुगेको बताए।

महतले यस वर्ष कृषि क्षेत्रको उत्पादन १.९ प्रतिशत र गैरकृषि क्षेत्रमा ३.६ प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको बताए। यो सरकारले राखेको लक्ष्यका तुलनामा आधाभन्दा पनि कम हो। ‘कृषि क्षेत्रमा मौसमी प्रतिकूलता र गैरकृषि क्षेत्र भूकम्पबाट प्रभावित भएकाले आर्थिक वृद्धि न्यून भएको हो,’ महतले भने।

गैरकृषि क्षेत्रमध्ये उद्योग तथा सेवा क्षेत्रको उत्पादन क्रमशः २.६ र ३.९ प्रतिशतले मात्र हुने अनुमान गरिएको छ। जबकि, गत वर्ष यी क्षेत्रको उत्पादन ६.२ र ६.३ प्रतिशत थियो।

सरकारले आर्थिक विकास न्यून हुनुको अर्को प्रमुख कारण वैशाख १२ मा आएको भूकम्पलाई मानेको छ। भूकम्पका कारण ५२ अर्ब रुपैयाँ बराबरको उत्पादनमा क्षति भएको छ भने त्यसपछिका दिनमा आर्थिक गतिविधि न्यून भएको छ। सरकारले भूकम्प अगाडि ४.६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। भूकम्पले १.०२ प्रतिशतले आर्थिक वृद्धिदरलाई घटाएको हो।

मुलुकको अर्थतन्त्रमा संरचनागत परिवर्तन भइरहेको छ। कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि र उद्योग क्षेत्रको योगदान घट्दै गएको छ भने सेवा क्षेत्रको योगदान बढ्दो छ।

सर्वेक्षणका अनुसार जिडिपीमा कृषि क्षेत्रको योगदान घट्दो क्रममा छ भने गैरकृषि क्षेत्रको योगदान विस्तारै बढ्दै गएको छ। आव २०५७/५८ मा कृषि क्षेत्रको योगदान ३६.६ प्रतिशत थियो भने चालु आवमा आइपुग्दा ३३.१ प्रतिशतमा झरेको छ। गैरकृषि क्षेत्रको योगदान ६३.४ बाट बढेर ६६.९ प्रतिशत पुगेको छ।

आर्थिक वृद्धिदर नबढ्नुमा सरकारले चालु आवमा पुँजीगत खर्च गर्न नसक्नु पनि अर्को कारण हो। सरकारले चालु आवको सुरुदेखि नै पुँजीगत खर्च बढाउन सकेको छैन।

सरकारले पोहोर यो अवधिमा वैदेशिक अनुदान १७ अर्ब ११ करोड प्राप्त गरेकामा चालु आवमा १४ अर्ब ३० करोड पाएको छ। यस्तै १३ अर्ब ४५ करोड वैदेशिक ऋण पाएकामा यो वर्ष १४ अर्ब २१ करोड पुगेको छ।

सरकारले भूकम्पका कारण चालु आवमा राजस्वको पनि लक्ष्य फेला पार्न सकेको छैन। ४ खर्ब ४२ अर्ब राजस्व संकलन हुने अनुमान रहेकामा करिब ४ खर्ब असुली हुने देखिएको छ।

यो वर्ष कुल वस्तु निर्यातमा ६.६ प्रतिशतले ह्रास आई ५६ अर्ब ८७ करोड रहेको छ। अघिल्लो आवमा यस्तो निर्यात १९.४ प्रतिशतले बढेको थियो। कुल वस्तु आयात भने साढे १० प्रतिशतले बढेर ५ खर्ब ५ अर्ब ९२ करोड पुगेको छ।

यो अवधिमा कुल वस्तु व्यापार घाटा १३.१ प्रतिशतले बढेर ४ खर्ब ४९ अर्ब ५ करोड पुगेको छ।

‘चालु आवमा समग्र शोधनान्तर स्थिति ३५ अर्ब ७ करोडले बचतमा छ,’ आर्थिक सर्वेक्षणमा छ। कुल विदेशी विनिमय सञ्चिति असार मसान्तको तुलनामा ६.१ प्रतिशतले बढेर ७ खर्ब ५ अर्ब ७३ करोड पुगेको छ।

मुलुकमा गरिबीको रेखामुनि रहेको जनसंख्या २३.८ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। सहस्राब्दी विकास लक्ष्यको प्रतिवेदन २०१३ अनुसार सन् १९९६ देखि २००४ सम्म वार्षिक १.५ प्रतिशत र २००४ देखि २०१३ सम्म वार्षिक २.५ प्रतिशतले गरिबी घटेको थियो। ‘विगतका वर्षदेखि यस्तो दर घट्दो प्रवृत्तिमा रहे पनि हालै गएको विनाशकारी भूकम्पका कारण अर्थतन्त्रमा पर्न सक्ने प्रभावका कारण गरिबीको रेखामुनि रहेको जनसंख्याको आकार बढ्न जाने अनुमान छ,’ सर्वेक्षणमा उल्लेख छ।

त्यसैगरी अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्रसंघले तोकेका प्रतिव्यक्ति कुल राष्ट्रिय आय, मावन सम्पत्ति सूचक र आर्थिक जोखिम सूचकमध्ये प्रतिव्यक्ति कुल राष्ट्रिय आयबाहेक अन्य सूचकको अवस्था सकारात्मक छन्।

चालु आवमा कुल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ, फापर) अघिल्लो वर्षको दाँजोमा करिब तीन प्रतिशतले घट्न गई ९२ लाख ६६ हजार टन हुने अनुमान छ। त्यस्तै चालु आवमा धान ५.१ प्रतिशतले घटेर ४७ लाख ८८ हजार टन हुने प्रारम्भिक अनुमान गरिएको सर्वेक्षणमा जनाइएको छ।

सर्वेक्षणका अनुसार ठूला, मझौला, साना र लघु उद्यम गरी गत आठ महिनाभित्र ३ लाख ८६ हजार १ सय ३५ उद्योगबाट २७ लाख ७१ हजार ३ सय ९ जनालाई रोजगारी उपलब्ध हुने अनुमान छ। त्यस्तै विदेशी लगानीका २ सय १३ उद्योगबाट ८ हजार ८ सय ६९ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ।

गत आठ महिनामा माटे, खण्डस्मित र कालोपत्रे गरी २६ हजार ९ सय ३५ किलोमिटर सडक पुगेको छ। २०७१ फागुन मसान्तसम्म टेलिफोन ग्राहक संख्या २ करोड ६२ लाख ६१ हजार १ सय ८ पुगेर टेलिफोन घनत्व ९९.१२ प्रतिशत भएको छ। त्यसैगरी चालु शैक्षिक सत्र २०७१ मा प्राथमिक तहमा खुद भर्ना दर ९६.२, आधारभूत शिक्षामा ८७.६ र माध्यमिक तहमा ३४.७ प्रतिशत पुगेको छ।

सञ्चालनमा रहेका ३७ सार्वजनिक संस्थानमध्ये चालु आवमा १८ वटा खुद नाफामा तथा १५ वटा खुद नोक्सानीमा छन्। आव २०६९/७० मा उनीहरूको खुद नाफा ११ अर्ब ४० करोड ५ लाख भए पनि २०७०/७१ मा आइपुग्दा ५ अर्ब ५ करोड ३ लाखमा सीमित भएको छ।

चालु आवसम्ममा ८३.५९ प्रतिशत जनसंख्या आधारभूत खानेपानी सेवाबाट लाभान्वित भएको सर्वेक्षणमा उल्लेख छ। गएको आठ महिनासम्ममा १ सय १६ अस्पताल, ३ हजार ७ सय ९० स्वास्थ्य चौकी, ३ सय ८४ आयुर्वेद अस्पताल तथा औषधालय र २ सय १५ प्राथमिक स्वास्थ्य केन्द्र गरी ४ हजार ५ सय ५ स्वास्थ्य संस्था पुगेका छन्।

सञ्चालनमा रहेका ३७ सार्वजनिक संस्थानमध्ये १८ वटा खुद नाफामा र १५ वटा खुद नोक्सानमा छन्। २०६९/७० मा उनीहरूले ११ अर्ब ४० करोड ५ लाख खुद नाफा गरे पनि २०७०/७१ मा आइपुग्दा ५ अर्ब ५ करोड ३ लाखमा सीमित भएका थिए। गत वैशाखको विनाशकारी भूकम्पबाट ७ खर्ब ६ अर्ब ५० करोड बराबरको क्षति भएको सर्वेक्षणमा उल्लेख छ।

चालु आर्थिक वर्षको आठ महिनामा महँगी घटेर ७ प्रतिशतमा अडेको छ। गत आवको सोही अवधिमा ८.९ प्रतिशत पुगेको थियो।

नागरिकबाट


  •  
  •  
  •