इबोलाबाट मृत्यु भए २५ लाख

74
  •  
  •  
  •  

काठमाडौं १९ मंसिर ।
सरकारले इबोला भाइरस संक्रमितको उपचारमा खटिने क्रममा नेपाली चिकित्सकको मृत्यु भए आश्रित परिवारलाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले इबोला रोकथाममा नेपाली चिकित्सकको पनि योगदान होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको हो। नेपालमा हालसम्म इबोला भाइरस भेटिएको छैन। तर भारतसम्म आइपुगेकाले नेपालमा उच्च सतर्कता अपनाउँदै चिकित्सकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत क्षेत्रमा निगरानीमा खटाइएको छ।

बैठकले सरकारका विभिन्न निकायमा नियुक्ति पनि गरेको छ। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. विष्णु सापकोटालाई नियुक्त गरिएको छ भने नेपाल खाद्य संस्थानको अध्यक्षमा प्रकाशबहादुर केसीलाई नियुक्त गरिएको छ। त्यस्तै पारवहन तथा गोदाम व्यवस्था कम्पनीको अध्यक्षमा किशोरबहादुर कार्की र नेसनल ट्रेडिङ लिमिटेडको अध्यक्षमा धनबहादुर बुढालाई नियुक्त गरिएको सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले बताए।

सरकारले बुधबार बागलुङमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएका सभासद् हरिबहादुर खड्काको सम्पूर्ण उपचार बेहोर्ने निर्णय पनि गरेको छ। त्यसैगरी ब्रेन ट्युमरबाट पीडित पत्रकार सूर्यकुमार क्षेत्रीको उपचारमा पनि सरकारले सहयोग गर्ने मन्त्री रिजालले बताए।  मन्त्रिपरिषद् बैठकले ३८ जना सहसचिवको सरुवा गरेको छ। यी सहसचिवको यसअघि नै काज सरुवा भइसकेको थियो। बैठकले महासेनानी ताराविक्रम शाहलाई सहायक रथीमा बढुवा गरेको छ। त्यस्तै आठजनालाई महासेनानी पदमा बढुवा गरिएको छ। अन्नपूर्णपाृष्टबाट


  •  
  •  
  •