इबोला भाइरसप्रभावित मुलुकमा नजान आग्रह

301
  •  
  •  
  •  

काठमाडौं, २९ साउन (ओएनएस) :अफ्रिकी मुलुकमा इबोला भाइरसको प्रकोप देखिएपछि सरकारले अफ्रिका महादेशको भ्रमण नगर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो । पश्चिम अफ्रिकाका चार मुलुकहरु, गिनी, नाइजेरिया, लाइबेरिया र सियरा लियोन इबोला भाइरस रोगबाट प्रभावित भएका छन् । हालसम्म ती मलुकहरुमा झण्डै दुइ हजार व्यक्तिहरु इबोला भाइरसबाट संक्रमित भएका र एक हजारभन्दा बढी व्यक्तिहरुको मृत्यु भैसकेको जानकारी प्राप्त भएको छ ।

विश्व स्वास्थ्य संगठनले जनाएअनुसार इबोला भाइरस रोग अत्यन्त छिटो सर्ने, खतरनाक र घातक रोग हो । यो रोग संक्रमित व्यक्ति वा जनावरको रगत, शरीरबाट निस्कने तरल बस्तु वा कोषिकासँग प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिमा सर्न सक्दछ । यस रोगको औषधि हालसम्म पत्ता लाग्न नसकेको हुँदा रोग लागेपछि उपचारमा थप समस्या उत्पन्न हुने गरेको छ । तसर्थ, यो रोगको संक्रमण हुनसक्ने सम्भावनाबाट टाढा रहनु नै पहिलो आवश्यकता हो ।

यस परिदृश्यमा ईबोला भाइरस रोगबाट प्रभावित पश्चिम अफ्रिकाका चार मुलुकहरु (गिनी, नाइजेरिया, लाइबेरिया र सियरा लियोन) को भ्रमण संभव भएसम्म नगर्न सरकारले आग्रह गरेको छ ।


  •  
  •  
  •