इबोला भाइरसका बिरामीलाई औषधी एक साताभित्र

103
  •  
  •  
  •  

ebola-virusकाठमाडौं, ५ कात्तिक (एजेन्सी): प्राणघातक रोग इबोला भाइरसका बिरामीहरुको उपचारमा प्रयोग हुने सिरम आगामी केहीसाताभित्रै उपलब्ध हुन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । केही साताभित्र लाइबेरियामा उपलब्ध हुन सक्ने औषधी आगामी जनवरीसम्म उपलब्ध गराउने गरी काम अगाडि बढिरहेको संगठनकी डा. मारी पोल कियनीले बताएकी छिन् ।

सिरम भाइरसबाट संक्रमित भएर निको भइसकेका मानिसहरुको रगतबाट बनाउने गरिएको बताइएको छ । संगठनको स्वास्थ्य प्रणाली विभागकी सहायक महानिर्देशक डा. कियनीले इबोला भाइरसबाट मुक्त भएका मानिसहरुको रगतबाट बनाइएको सिरम सुरूवातमा तीनवटा देश(गिनी, लाइबेरिया र सियरा लियोन) मा उपलब्ध गराउने विषयमा साझेदारी भएको बताइन् ।

रगत संकलन गरी उपचारका लागि प्रयोग गर्न मिल्ने सिरम बनाउनका लागि साझेदारी तीव्र गतिमा अगाडि बढिरहेको र आगामी साताहरूमा रक्त संकलन केन्द्र स्थापना गरिने उनले बताइन् । जेनेभामा बोल्दै उनले भनिन्, “तीनवटा मुलुकहरुमा रगत संकलन केन्द्रहरु स्थापना गर्ने हाम्रो सामर्थ्य छ। जुन रगत संकलन गरी उपचारका लागि प्रयोग गर्न सकिने सिरम बनाउन सकिन्छ।”

इबोला भाइरसबाट संक्रमित भएर निको भइसकेका मानिसका शरीरलाई उक्त भाइरसविरुद्ध कसरी लड्ने भन्ने कुरा थाहा भएको र त्यसका लागि उनीहरुको रगतमा एन्टीबडीहरु भएको विश्वास गरिएको छ । त्यस्ता मानिसहरुबाट रगत संकलन गरेर उपचारका लागि सिरम बनाउन मिल्ने चिकित्सकहरुले बताएका छन्।


  •  
  •  
  •