इवोला प्रभावित मुलुकवाट १३१ प्रहरी अाज अाउँदै

92
  •  
  •  
  •  

काठमाडौं ३० असोज ।
इवोला प्रभावित मुलुक लाइबेरियावाट ६ महिने मिसन पुरा गरेर विहिवार एक सय ३१ सशस्त्र प्रहरी बल राजधानी आउने भए पछि सम्भावित संक्रमण वाट जोगाउन थप स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएको छ ।

इवोलाको संक्रमण देखिए यता हाल सम्म रोग प्रभावित मुलुकवाट मात्र ५० जना आएका थिए भने यसै साता प्रभावित मुलुकवाट करिव पाँचसय यस्ता प्रहरी समेत नेपाल फर्किने छन् ।

उनीहरुलाई ककनीस्थित तालिमकेन्द्रमा तीन सातासम्म चिकित्सकीय निगरानीमा राखिने सशस्त्र प्रहरी बलले जनाएको छ । ईबोला संक्रमणको लक्षण दुईदेखि २१ दिन भित्रमा देखिन्छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता अत्तिरिक्त नायब महानिरीक्षक (एआईजिपी) सिंहबहादुर श्रेष्ठले लाईबेरियामा उक्त टोलीको नियमित स्वास्थ्य जाँच भएकाले ईबोला संक्रमणको खतरा नभएको बताए ।

‘तथापि सुरक्षा सर्तकताका लागि उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सोझै ककनीस्थित तालिमकेन्द्रमा लगिने छ’, उनले भने, ‘उनीहरुमा संक्रमणको शंका नहटासम्म त्यहि राखिने छ ।’

सशस्त्र प्रहरी बल अस्पताल संतुगलका डा.रुपक महर्जनसहितको टोलीले रोग प्रभावित मुलुकवाट फर्किएका हरुलाई निगरानी गर्नेछन । उनीहरुका लागि छुट्टै भान्सा, भाडाँकुडा, बाथरुम र बस्ने ब्यवस्था गरिएको छ ।

स्वास्थ्य जाँचका लागि स्वास्थ्य मन्त्रालयसँग समेत समन्वय भइरहेको छ । एआईजिपी श्रेष्ठका अनुसार मिसनबाट फर्किएकाहरुलाई बिमानस्थलमा आफन्तसँगसमेत भेट गर्न दिइने छैन । उनीहरुको स्वास्थ्य जाँच गर्ने टोलीलाई समेत संक्रमणबाट जोगाउन सर्तकता अपनाइएको छ ।

‘फोन वा अरु कुनै माध्यमबाट मात्र सम्पर्क गराउने हो’, श्रेष्ठले भने, ‘अरु कसैको सम्पर्कमा आउने दिइने छैन ।’ शंकास्पद रोगीहरुको लागि आइसोलेसन वार्डको समेत व्यवस्था मिलाइएको छ ।

‘विहीवार १३१ सशस्त्र प्रहरी आउने छन् भने रोग प्रभावित राष्ट्रवाट यो साता करिव पाँच सय जति सैनिक मुलुक फर्किने छ’, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वावुराम मरासिनि भन्छन्,’उनीहरुलाइ न्युनतम तीनसाता सम्म कडा निगरानीमा राख्नै पर्ने हुन्छ ।’

ती सवै प्रहरीलाइ एक आपसमा वा अन्य व्यक्तिसँग प्रत्यक्ष शारीरिक सम्पर्क नराख्ने गरी प्रत्यक्ष चिकित्सकीय निगरानी अन्तर्गत राख्ने व्यवस्था गरिएको जनाउदै डा.मरासिनि भन्छन, ‘उनीहरुले एक आपस वा कसैसँग हातसमेत मिलाउनु हुँदैन् ।’

‘एकजनाले संक्रमण वोकेर फर्कियो भने संगठनमा बस्ने भएकोले धेरै ठूलो संख्यामा प्रभावित हुने सम्भावना हुन्छ’, डा.मरासिनिले भने, ‘सैनिक/प्रहरी आदि दुई/पाँच वा हजारको संख्यामा रहने भएकोले सामान्य परिवारमा बस्नेको दाजोमा यस्ता समुदायमा तीव्र गतिमा संक्रमण फैलिने डर हुन्छ ।’

डा.मरासिनीले भने, ‘म प्रहरीको स्वास्थ्य निकायलगायत सम्वद्घ सवैसँग आग्रह गर्छु, हाल ठूलो संख्यामा फर्किने प्रहरीहरुको तीन सातासम्म निगरानीमा कुनै कमी भएर एउटा संक्रमित व्यक्तिसमेत समाजमा आयो भने स्थिति अनियन्त्रित हुन्छ ।’

सरकारले भएको न्यूनतम साधनश्रोतको अधिकतम उपयोग संक्रामक रोगको निगरानी गर्न सक्ने जनाउदै महामारी विशेषज्ञ डा.मानसकुमार बनर्जी भन्छन, ‘पर्यटकभन्दा पनि इवोला प्रभावित क्षेत्रमा कार्यरत हाम्रै कुनै नेपालीले यो रोग वोकेर आउने आशंका छ ।’

इवोलाको एक जना रोगी मुलुकमा आए यसको उपचार, व्यवस्थापन गर्नु अत्यन्त कठिन हुने जनाउदै डा.बनर्जी भन्छन, ‘यो अति उच्च संक्रामक रोग हो, एक पटक देखिए हाम्रो मुलुकको वर्तमान स्वास्थ्य संरचनामा नियन्त्रित गर्नु अति कठिन छ ।’

विश्व स्वास्थ्य संगठन (डलुएचओ)को अनुसार इबोला भाइरस रोग पानी वा हावाको माध्यमले फैलिदैन । संक्रमित व्यक्तिको शरीरबाट निस्किने तरल पदार्थ अर्थात र्‍याल, रगत, दिसा, पिसाब, पसिना, बिर्य, योनीरस आदिको माध्यमले स्वस्थ व्यक्तिमा सर्छ । यौन सम्बन्ध वा इबोला संक्रमित शवलाई राम्ररी व्यवस्थित नगर्दा समेत यो रोग स्वस्थ व्यक्तिमा सर्छ ।

यो भाइरस शरीरमा प्रवेश गरेको दुईदेखि २१ दिनमा लक्षण देखिन थाल्छ । संक्रमितमा यो रोगको लक्षण देखिए पछिमात्र अरु व्यक्तिलाई रोग सार्न सक्छ । लक्षण नदेखिने समय संक्रमितबाट स्वस्थ्य व्यक्तिलाई रोग सर्दैन ।

इवोलाको लक्षणअन्तर्गत ज्वरो, घाटीमा खसखस, मांसपेशी र टाउको दुख्नु, शरीरमा विभिन्न प्रकारका धब्बा देखिनु, वाकवाकी लाग्नु, पखाला आदि हो । यसमा मृगौला र कलेजोले समेत कम काम गर्न थाल्छ । केहीमा शरीरको आन्तरिक र बाह्य रक्तश्रावको समस्या समेत देखिन्छ ।

डव्लुएचओले इबोला भाइरसको लक्षण देखिएकाहरुलाई परिवार वा समुदायको घरमा राखेर स्याहार नगर्न सल्लाह दिएको छ । यस्ता व्यक्तिलाई दक्ष चिकित्सा जनशक्तिद्वारा आवश्यक चिकित्सकीय उपकरणले सुसज्जित अस्पतालमा उपचार र स्याहार गर्न भनिएको छ ।

यो रोगबाट निको भएकाले समेत कम्तीमा ४९ दिनसम्म शारीरिक सम्बन्ध राख्नुहुँदैन । त्यस अवधीभर वीर्यबाट अर्कोमा रोग सर्नसक्ने जोखिम रहन्छ । त्यसैले डव्लुएचओले निको भएको सात सातासम्म यौन सम्पर्क नगर्न वा कन्डोम उपयोग गर्न सल्लाह दिएको छ ।

स्वास्थ्य कार्यकर्ता, संक्रमित व्यक्तिको निकट सम्पर्कमा रहने परिवार वा अन्य व्यक्ति, संक्रमणले मरेकाहरुको मलामी यो रोगको उच्च जोखिममा हुन्छन ।
कान्तिपुरबाट


  •  
  •  
  •