काठमाडौं २२ भदौ ।
इबोला संक्रमणको हल्लाले यहाँका एक परिवारले ३ सातादेखि पीडित बनेको गुनासो गरेको छ । अफ्रिकी मुलुक कंगोमा शान्ति सेनामा ६ महिना कार्य गरेर फर्केका ३५ बर्षीय बिलबहादुर श्रेष्ठ परिवारले यस्तो गुनासो गरेको हो । उनलाई वीरगंज नाकामा स्थापना गरिएको हेल्थ डेस्कले इबोला लक्षण मिलेको भन्दै निगरानीमा राखेको थियो । अहिले उनमा त्यस्तो संक्रमण नभएको पुष्टि भइसकेको छ ।
आधारहीन हल्लाले २ सातादेखि बस्न खान समस्या भएको बिलबहादुरकी पत्नी दिलमायाले बताइन् । ‘तीन छोराछोरीलाई विद्यालयमा छुट्टै राखिरहेका छन्,’ पसलमा कोही ग्राहक आउन मानेका छैनन्, हिडडु र समाजमा बोलचाल गर्नसमेत समस्या भएको छ,’ उनले भनिन्, ‘विद्यालयका प्रिन्सिपलले घरमा आएर छोरा छोरी पढन नपठाउनु भने ।’ छोराछोरी विद्यालयमा दुव्यर्वहार हुन थालेपछि रुदैं घर आएको उनले बताइन् ।
उनले भनिन् ‘कंगोबाट फर्किएको केही दिनमा आँखा रातो भएकाले प्रचार फैलाइ दिए, जाँचमा चिकित्सकले इबोला छैन्, आँखाको औषधी गर्नु भनेपछि औषधि गराएपछि पति ठीक हुनु भएछ, तरपनि अफवाह फैलिएकाले पीडित बनेका छौ ।’ आँखा रातो भएपछि उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल गएका थिए । कंगोबाट फर्केको भनेपछि चिकित्सकले हेल्थ डेस्कमा पठाइदिएका थिए ।
‘अस्पतालमा आफु कंगोबाट आएको बताएपछि चिकित्सकले नेपाल–भारत सीमामा स्थापना गरिएको इबोला हेल्थ डेक्समा जान सल्लाह दिएका थिए,’ त्यसैले गयौं, त्यसपछि त गलत प्रचार भइहाल्यो,’ उनले भने, ‘हुँदाहुँदा समाजमा समेत भेदभाव खेप्नु परिरहेको छ ।’ इबोलाको संक्रमण नभएपनि छरछिमेकले परिवारलाई भेदभाव गर्दा आफुहरु पिडामा परेको उनले सुनाए । यसैबीच फैलिएको अफवाह चिर्न प्रहरीका अधिकारी, केही समाजसेवी, अधिकारकर्मी र संघसंस्थाका प्रतिनिधिहरु उनको घरमा सहानुभुति दिन शुक्रवार पुगेका थिए ।
कान्तिपुरबाट