कंगोबाट फर्केका एक व्यक्तिमा इबोला संक्रमणको आशंका

92
  •  
  •  
  •  

काठमाडौं १६ भदौ ।
वीरगन्जस्थित नेपाल-भारत सीमामा स्थापित इबोला भाइरस स्क्रिनिङ हेल्थ डेस्कले एक शंकास्पद नेपालीलाई आफ्नो उच्च निगरानीमा राखेको छ । अफ्रिकी मुलुक कंगोमा शान्ति सेनामा आफ्नो ६ महिने सेवा अवधि सक्याएर फर्केको बताउने उनले सेनामा त्यस्तो लक्षण देखिएकाले उनलाई उच्च निगरानीमा राखिएको हो ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण केन्द्रले ती व्यक्ति २२ दिनअघि नै मुलुक फर्केको र हाल स्वस्थ रहेको जनाउदै इवोला भाइरसको ओथार अवधि २१ दिन भएकाले उनमा संक्रमणको सम्भावना शुनय रहेको जनाएको छ ।

‘कंगोमा हिजो मात्र इवोलाको एउटा केश फेला परेको हो’, इपिडिमियोलजीका निर्देशक डा.बाबुराम मरासिनिले भने, ‘ती व्यक्तिमा शुरुदेखी नै ज्वरो देखिएको छैन, ओथार अवधिसमेत पार गरि सकेका छन्, शंकाको आधारमा निगरानीमा राखिए पनि इवोला संक्रमणको सम्भावना शुन्य देखिएको छ ।’

विरगंज डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सेराज खानकाअनुसार भदौ ८ गते नेपाल प्रवेश गरेका उनको स्वास्थ्य परीक्षण गर्दा इबोला संक्रमित रोगीसंग मिल्दोजुल्दो धेरै लक्षण देखिएकाले उनलाई उच्च निगरानीमा राखिएको हो । बारा, सिमरा स्थाई घर भएका उनको सेनामा पद र परिचय भने गोप्य राखिएको छ ।

‘ज्वरो र डाबर आउने बाहेक आँखा रातो हुने, टाउको र पेट दुख्ने, खान मन नलाग्ने, पखाला लाग्ने जस्ता सबै लक्षण देखिएपछि हामी गम्भीर भएका हौं,’ खानले भने, ‘तत्काल जिल्ला जनस्वास्थ्य कार्यालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यसबारे हामीले सूचित गर्‍यौं ।’

प्राप्त निर्देशनअनुसार हाल घरमै आराम गरीरहेका ती शंकास्पद बिरामीसंग आफूहरु टेलिफोनको माध्यमबाट दैनिक सम्पर्कमा रहेको उनले जानकारी दिए । हाल सम्म अन्य अफ्रिकी मुलुक लाइबेरिया, सियरालियोन, गिनिया र नाइजेरियामा मात्र इबोला रोगको महामारी फैलिएको र अन्य मुलुकमा यो रोग देखा नपरी सकेकाले शंका मात्र गरिएको उनले बताए । भदौ ४ देखि यहा इबोला भाइरस स्क्रिनिङ्ग हेल्थ डेस्क स्थापना गरिएको हो । तेस्रो मुलुकबाट प्रवेश गर्ने जोकोहीको पनि अनिवार्य स्वास्थ्य परीक्षण गर्ने क्रममा आइतबार मध्यान्ह सम्ममा २८ जनाको स्वास्थ्य परीक्षण गरी सकिएको खानले बताए ।

यस क्रममा अमेरिका, स्पेन, बेलारुस, स्वीडेन, मलेशिया, अष्टे्रलिया आदि मुलुकका पर्यटक तथा त्यहाबाट र्फकेका नेपालीकोसमेत स्वास्थ्य परीक्षण गरिदैछ । अन्यमा भने इबोला संक्रमितमा देखिनेजस्तो कुनै पनि खाले लक्षण नदेखिएको उनले बताए । डेस्कमा २ सिफ्टमा गरी ४ स्वास्थ्यकर्मीले ड्युटी गरीरहेका छन् । २ जिल्ला जनस्वास्थ्य र २ नारायणी उपक्षेयित्र अस्पताल सम्बद्ध हुन् । आफूहरुसंग इबोला संक्रमण परीक्षण गर्ने उपकरण नभएपनि पन्जा लगाएर आगन्तुकहरुको रक्तचाप र शरीरको तापक्रम परीक्षण गर्ने काम भने गरी रहेको खान बताउँछन् ।

जिल्ला जनस्वास्थ्य अधिकृत अरुणकुमार महतोले उच्च जोखिममा रहेका ४ मुलुक बाहेकको मुलुकबाट आएकाले आत्ति हाल्नु पर्ने अवस्था नरहेको बताए । ‘तैपनि अफ्रिकी मुलुकबाटै आएकाले हामी उनीसंग नियमित सम्पर्कमा छौं’, महतोले भने, ‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासंग पनि आवश्यक समन्वय गरी निर्देशन लिने काम गरी रहेका छौं ।’
कान्तिपुरबाट


  •  
  •  
  •