संविधानसभा विघटन माग गर्दै पूर्वाञ्चल बन्द

108
  •  
  •  
  •  

Nepal_development_regionsकाठमाडौं, २५ पुस (ओएनएस)  : मोहन वैद्यले नेतृत्वको नेकपा–माओवादीले संविधानसभा विघटन माग गर्दै पूर्वाञ्चल बन्द गरेकाले जनजीवन प्रभावित बनेको छ ।

माघ ८ मा जारी गर्न लागेको संविधानप्रति विरोध जनाउँदै वैद्य नेतृत्वको माओवादीले आज पूर्वाञ्चल बन्दको आह्वान गरेको हो ।

बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात गुडेका छैनन् । बन्दले झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, तेहथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिरहा र सप्तरीका शैक्षिक संस्था, उद्योग तथा कलकारखाना र बजारसमेत ठप्प छन् ।

दोस्रो संविधानसभा निर्वाचनसमेत बहिष्कार गरेको नेकपा–माओवादीले गरेको बन्दमा प्रेस, एम्बुलेन्स, सरकारी, दूध बोक्ने र कूटनीतिक संस्थाको गाडीलगायत अति आवश्यकीय यातायात साधनमा भने रोक नलगाएको माओवादीले जनाएको छ ।

उसले एकदिने पूर्वाञ्चल बन्द सफल बनाउन बन्दको पूर्वसन्ध्यामा पूर्वाञ्चलका विभिन्न स्थानमा राँकेजुलुस तथा कोणसभासमेत गरेको थियो ।


  •  
  •  
  •