काठमाडौं १२ बैशाख ।
जीवनलाई संयोगको उपहार ठान्ने दिदीबहिनी निकै खुसी देखिन्छन् । उनीहरू दुवैजना २०७२ साल वैशाख १२ गतेको भूकम्पमा चार घण्टा भत्किएको घरमा पुरिए । चार घण्टापछि उद्धार गरिएका नाम्दु मार्वुका १६ वर्षीया संगीता श्रेष्ठ र ११ वर्षीया लीला श्रेष्ठ चार महिना जति ओछ्यानबाट उठ्न सकेनन् । विस्तारै सामान्य जीवनमा फर्कंदै गरेका दिदीबहिनी यतिखेर भने निकै खुसी प्रकट गर्छन् । ‘मर्न लेखेको रहेनछ, बाँचिएकामा खुसी लाग्छ,’ संगीताले भनिन् । लीला पनि त्यो दिन सम्झेर डराउनुभन्दा खुसी हुनु नै उत्तम ठान्छिन् । जीउ दुख्ने समस्याले पिरोल्दा भने दुवै जना दु:ख मान्छन् ।
उनीहरू वैशाख ११गते नाम्दुको मार्बु घर फर्कन भनेर काठमाडौंबाट हिँडे । घर पुग्न नभ्याएपछि त्यो दिन चरिकोट टुटेपानी बजारमा बास बसे । गाउँका छिमेकी सीता रिमालको डेरामा बास बसेका उनीहरू बिहान खानापछि धन्दा सकेर निस्कन तयार हुँदाहुँदै भूकम्प आयो । छिँडीमा बसेका उनीहरूलाई तीनतले ढुंगामाटोको घरले थिच्यो । ‘हल्लाउन थालेपछि भाग्नै नपाई दलिन, ढुंगा, माटो र घरमा राखिएका अन्नहरूले थिच्यो,’ संगीताले भनिन् ।
अताल्लिँदै ढोकानिर पुगेका उनीको जीउलाई ढुंगाबाट बचाउन एउटा काठ सारथी बन्यो । ढाडमा काठको आड परेकाले जीउ चट्पटाउन नसके पनि अनुहार र आँखा थिचेन । बाहिरको उज्यालो छिरेको उनीले देखिन् । भाग्यले बाँच्नलाई त्यो प्वाल परेको जस्तो लाग्यो उनीलाई । त्यो प्वाललाई उनको नङग्राले कोतरेर अझ ठूलो पारिन् । प्वालका कारण आवाजबाहिर सुनाउन सकिने विश्वासले उनी निकैबेर चिच्याइरहिन् । ‘घण्टौंसम्म भित्रै बस्दा उकुसमुकुस भएर श्वास फेर्न मुस्किल पर्दै गएपछि मरिने भइयो जस्तो लाग्यो,’ संगीताले भनिन् । ‘हत्तपत्त मान्छे मर्दैन भनेर बुबाले भनेको सम्झें र कराउन छाडेँ ।’
समय बित्दै जाँदा संगीतालाई शरीर शिथिल हुँदै गएको अनुभूति भयो । श्वास फेर्न मुस्किल हुन थाल्यो । जीउलाई गरुँगो वस्तुले थिचिरहेकाले कहाँ दुख्यो थाहा नभएजस्तो हुन थाल्यो । श्वास फेर्दा माटोको धूलो मुखभित्र पसेकाले घाँटी बन्द हुन थाल्यो ।
खाटमा बसिरहेका बेला थिचिएका लीला श्रेष्ठ भने बोल्नै सकिनन् । उनीसँगै बसेकी सीता रिमाल पनि खाटमै थिचिएका थिए । लीला भन्छिन्, ‘कताबाट केले थिच्यो थाहा भएन, केहीछिनमै निदाएछु ।’ बेहोस भएका उनीलाई सबैभन्दा पछि निकालिएको घरधनी अर्जुन श्रेष्ठ बताउँछन् ।
‘दिउँसो घरमा कोही थिएनन् । डेरामा बस्ने सीता पनि बाहिर होलिन् भन्ने थियो,’ अर्जुनको भनाइमा संगीता र लीला आएको नै थाहा नभएकाले खाली घर भत्किएको ठान्दै आफू र परिवार सुरक्षित हुनेतर्फ लागियो ।
टुटेपानी बजार नेवारको ऐतिहासिक बस्ती भएकाले पुराना घरहरू बढी थिए । बजारका प्रत्येक घर भत्किएर उडेको धूलोले आकाश ढाकिएको थियो । मानिसहरू घरबाहिर बसेर चिच्याइरहेका थिए । कोही रोइरहेका थिए । पटकपटकको परकम्पनले घरहरू भत्किरहेकाले सुरक्षाकर्मीले बजारभित्र छिर्न दिएको थिएन ।
‘बजारको तल्लो बस्तीबाट आएको मानिसहरूले कराइरहेको सुनेछन्,’ स्थानीय छत्रबहादुर श्रेष्ठका अनुसार उनीहरूले हल्लीखल्ली गरेपछि सेना र प्रहरीसहित वरपरका मानिसहरूले घर पन्छाउन थाले । घर पन्छाउँदै जाँदा पनि संगीता कराइरहेकाले मात्र जोगिइन् । संगीता भन्छिन्, ‘गलको टुप्पो मुखनिर आएपछि झन् कराएँ ।’ उद्धारकर्ताहरूले आवाजका आधारमा गलको दबाब कम गरेका थिए । उद्धारमा सक्रियहरूको भनाइमा उनलाई टाउकोबाट तानिँदा ढुंगा तानिएजस्तो भएको थियो । माटोले लतपतिएको टाउको ढुंगाभन्दा फरक थिएन ।
उद्धारकर्ताहरूले संगीतालाई बाहिर निकाल्दा तीन घण्टा बितेको थियो । सुरुमा प्राथमिक उपचार केन्द्र र त्यसपछि सातदोबाटो चोकमा उनलाई उपचारका लागि लगिएको थियो । त्यत्रोबेर पुरिँदा पनि लगभग बेहोस नभएकी संगीता भन्छिन्, ‘आपतविपतमा पर्दै गएपछि मरिएला भन्ने कुरा हराउँदै जाँदो रहेछ र कसरी पार पाउने भन्ने लाग्दो रहेछ ।’
लीला श्रेष्ठले चार घण्टापछि बाहिरी दृश्य देख्न पाइन् । संगीतालाई उद्धार गरेपछि लीला र सीतालाई फेला पारिएको थियो । खाटमै थिचिएका दुवै जना बेहोस थिए । लीलाको त श्वासप्रश्वा नै रोकिएको थियो । घरभेटी अर्जुन श्रेष्ठका अनुसार शरीरभरि माटोले छोपिएको लीला ज्युँदो छिन् भन्ने लाग्दैनथ्यो । निकैबेरपछि पानी भनेर कराएपछि उनलाई हतारहतार सातदोबाटोस्थित उपचारस्थल लगिएको थियो । स्थिति असामान्य हुँदै गएपछि लीलालाई भोलिपल्ट हेलिकप्टरबाट काठमाडौं टिचिङ पुर्याइएको थियो । संगीताले भने चरिकोटस्थित स्वास्थ्य केन्द्रमै उपचार गराइन् ।
भर्खरै पनि उनीहरू स्वास्थ्यजाँच गरेर काठमाडौंबाट फर्किएका हुन् । फर्कंदा उनीहरू चरिकोट ओर्लिए । आफू थिचिएको टुटेपानीस्थित घरमा पुगे । त्यो भत्किएको संरचना पन्छाइसकेको रहेछ । त्यहाँ उभिएर दिदीबहिनीले तस्बिर खिचाए ।
उद्धार, खोजी कार्यमा सुरुदेखि नै सक्रिय लालप्रसाद चौलागाईंका अनुसार दुई दिदीबहिनी नै अलि तनावमा देखिन्छन् । भुइँचालोपछि लीला जे देखे पनि डराउँछिन् । जुनसुकै ठूलो आवाज र हल्लाई उनका लागि डरको विषय भएको छ । हल्का खुट्टा खोच्याएर हिँड्ने लीला भन्छिन्, ‘अझै बेलाबेलामा हुने दुखाइ सहन सक्दिनँ ।’ उनको तीन ठाउँमा खुट्टा भाँच्चिएको थियो ।
दुवै दिदीबहिनी अहिले आफ्नै खर्चमा उपचार गर्दै छन् । सुरुको खर्च भने कसले गरेको हो उनीहरूलाई थाहा छैन । सरकारले उपचार खर्च २५ हजार रुपैयाँ दिएको जानकारी पनि उनीहरूलाई छैन । भुइँचालोपछि एक वर्ष कसैले केही सहयोग नगरेको उनीहरू बताउँछन् । घाइते भए पनि आम गाउँले पाएको जस्तै एउटा मण्डीमात्र पाएको लीलाले सुनाइन् । हाल कालिका मावि मार्वुमा कक्षा १० मा पढ्ने संगीता र कक्षा ७ मा पढ्ने लीला राहत र सहयोगभन्दा पनि बाँच्न पाएकैमा खुसी छन् । कान्तिपुरबाट