काठमाडौं १५ फागुन (ओएनएस) : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राधिकरणको पूर्व स्वीकृति बिना व्यक्तिगत घर बनाउन र रकम वितरण गर्न विभिन्न संघसंस्थाहरुलाई तत्कालका लागि रोक लगाएको छ । २०७२ साल फागुन १४ गते प्राधिकरणले सूचना प्रकाशित गरी अहिलेको अवस्थामा स्वीकृति बिना घर बनाउनु र रकम वितरण गर्नु गैरकानूनी हुने भन्दै त्यस्तो कार्य रोक्न आग्रह गरेको हो ।
‘पुनर्निर्माण र पुनर्स्थापनाको कार्यमा गैरसरकारी संस्थाहरुको सहयोग परिचालन गर्ने सम्बन्धी छुट्टै कार्यविधि पनि प्राधिकरणले तयार गरिरहेको छ,’ प्राधिकरणले प्रकाशित गरेको सूचनामा उल्लेख छ,‘यस प्राधिकरणको पूर्व स्वीकृति बिना व्यक्तिगत घर निर्माण र रकम वितरण गर्नु प्रचलित कानून र नीति विपरित समेत हुने भएकाले यस्तो कार्य रोकि यस प्राधिकरणमा सम्पर्क गर्नु हुन सम्बन्धित सबै संघसंस्थाहरुमा प्राधिकरण हार्दिक आग्रह गर्दछ ।’
प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले आवासीय भवन निर्माण गर्ने कार्यमा प्राधिकरणबाट समन्वय गर्न र एकरुपता कायम गर्न तथा भवनहरुको प्राविधिक पक्षलाई सुनिश्चित गर्न यस्तो सूचना निकालेको बताए । ‘हामीले गैरसरकारी संस्थाको संलग्नतालाई व्यवस्थित गर्न खोजेका हौं । सधैलाई रोक लगाउने प्राधिकरणको मनसाय होइन,’उनले स्पष्ट पारे ।
‘हाल विभिन्न जिल्लामा विभिन्न संघसंस्थाहरुले व्यक्तिगत घर तथा रकम वितरण कार्य गरिरहेको भन्ने सूचना प्राप्त भइरहेको छ,’ सूचनामा उल्लेख छ ।
यस्तै प्राधिकरणले महाभूकम्प पश्चात्को पुनर्निर्माण तथा पुनर्स्थापनाको लागि नीतिगत व्यवस्था, कार्यन्वयन प्रक्रिया, संस्थागत संरचना एवं कार्यविधिहरु तर्जुमा गरी आवश्यक तयारी कार्य अघि बढाइरहेको जानकारी पनि गराएको छ ।
‘राष्ट्रिय पुनर्निर्माण तथा पुनर्स्थापना नीति, २०७२ अनुसार व्यक्तिगत घरहरुको पुनर्निर्माण गर्न यस प्राधिकरणले सम्बन्धित निकायमार्फत अनुदान प्रदान गर्ने तथा सुरक्षित एवं भूकम्प प्रतिरोधी भवन निर्माण गर्न प्राविधिक सहयोग र समन्वय गर्ने व्यवस्था रहेको छ,’सूचनामा उल्लेख छ ।
प्राधिकरणले यसबारे थप जानकारी लागि प्राधिकरणको नीति योजना, अनुगमन तथा विकास सहायता महाशाखामा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।