‘घर बनाउन माटो परीक्षण जरुरी’

99
  •  
  •  
  •  

काठमाडौं ११ असार ।
भूगर्भविद्हरूले घर बनाउनुअघि माटोको परीक्षण र निर्माणका बेला प्राविधिकहरूको निगरानी आवश्यक रहेको बताएका छन्। युनेस्को नेपालले बिहीबार राजधानीमा गरेको कार्यक्रममा उनीहरूले वैशाख १२ र २९ मा गएको भूकम्पले क्षति पुगेका घरहरूमा रेक्टो फिटिङ गरी भूकम्पमैत्री बनाउन सकिनेसमेत जनाए। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा भूगर्भविद् डा. तारानिधि भट्टराईले माटोको परीक्षण, जमिनको जाँच तथा स्ट्रक्चर र जियोटेक्निकल इन्जिनियरको निगरानीमा घर बनाए भूकम्पप्रतिरोधी हुने बताए।

‘भूकम्पको नकारात्मक पक्ष मात्रै हुँदैन, सगरमाथाको निर्माण भूकम्पबाटै भएको हो, जसमाथि हामी गर्व गरिरहेका छौं,’ उनले भने, ‘पछिल्लो भूकम्पले जीवनशैली र भवन निर्माणमा मापदण्ड पालना गर्नुपर्ने सन्देश दिएको छ।’ ‘पछिल्लो भूकम्पको प्रभाव काठमाडौंवरपरका जिल्लामा मात्रै बढी देखियो, पश्चिम र पूर्वी नेपालमा देखिएन। त्यसैले राज्यले तत्कालै नेपालभर भूकम्पको पूर्वतयारीमा जुट्नुपर्छ,’ उनले भने।

जापानबाट जियोटेक इन्जिनियरिङ गरेका डा. सञ्जय झाले भूकम्पले माटो तरलीकृत भएकाले त्यसको परीक्षण गरेर मात्रै घर निर्माण गर्नुपर्ने बताए। ‘हामी तीन करोडको घर बनाउँछाैं तर थोरै रकममा हुने माटोको परीक्षण गराउँदैनौं,’ उनले भने, ‘काठमाडौंका अधिकांश घर भूकम्पमैत्री नभए पनि त्यसलाई रेक्टो फिटिङ गरेर भूकम्पमैत्री र प्रतिरोधी बनाउन सकिन्छ, यसका लागि नेपालमै जनशक्ति उपलब्ध छ।’
कान्तिपुरबाट

नक्सा हेरेर पत्ता लगाउनूस्, उपत्यकाको कुन ठाउँको जमिन कस्तो ?


  •  
  •  
  •