बकर इद पर्व मनाईंदै

50
  •  
  •  
  •  

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद पर्व हर्ष र उत्साहका साथ मनाउँदै छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन् । इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।

नेपाली मुस्लिम धर्मावलम्बीहरुले बकर इदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन् । यो इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गर्ने चलन छ । बकर इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ । बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका छन् ।

यसैबीच इदको अबसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेबी भण्डारीले सामाजिक विविधता भित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास ब्यक्त गरेकी छिन् ।पर्वका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को प्रभाव नपरोस् भनी स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगताका साथ मनाउन अनुरोध गरेका छन् । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।


  •  
  •  
  •