काठमाडौं ३ असार (ओएनएस) : विदेशमा स्थायी रुपमा बस्ने (पिआर) एवम् डिभी चिट्ठाबाट अमेरिकामा बस्ने निजामती कर्मचारीको प्रारम्भिक सूची तयार भएको छ । सामान्य प्रशासन मन्त्रालयमा करिव ४ सय कर्मचारी पिआर र डिभीवाला रहेको सूची बनेको छ । कर्मचारी चौथो संशोधन ऐन पारित भएलगत्तै उनीहरु सबैलाई कारवाही गर्ने मन्त्रालयका तयारी छ ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आगामी असोजसम्म पिआर र डिभीवाला सबै कर्मचारीलाई कारवाही गर्ने बताए । कर्मचारी चौथो संशोधन ऐन पारित भएलगत्तै त्यसकै आधारमा विदेशमा स्थायी रुपमा बस्ने (पिआर) एवम् डिभी चिट्ठाबाट अमेरिकामा बस्ने निजामती कर्मचारीलाई कारबाही गरिने उनले बताए । पारित भएर आउन अझै कम्तिमा तीन महिना लाग्ने उनको तर्क छ । बिराटनगरमा पुगेका मन्त्री पंडितले आधार पाउने वित्तिकै कारवाही गर्न आफुलाई कसैले रोक्न नसक्ने टेलिफोनमा जानकारी दिए ।
‘म ऐनको प्रतिक्षामा छु’ मन्त्री पंडितले भने, ‘ऐन आएलगत्तै त्यस्ता निजामती कर्मचारीलाई तीन दिनभित्र कारबाही गर्छु ।’ सरकार र निजामति सेवाभित्रैबाट आफुलाई असफल बनाउने षड्यन्त्र भएको तर त्यो पुरा हुन नदिने उनको दावी छ । मन्त्री पंडितले आफु पदमा रहेसम्म निजाति सेवाको सुधारका लागि लागि पर्ने बताए । ‘निजामति सेवामा धेरै विकृति छन्’ उनले भने,‘ म सकेसम्म सुधार गरेर जाने प्रयत्नमा छु । ’