काठमाडौं, २६ भदौ (ओएनएस): सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डीभी होल्डर र पीआरधारी कर्मचारी कर्मचारीमाथी कारवाही गर्ने विधेयक पारित गर्न अलमल गरिएको भन्दै सहयोगका लागि राष्ट्रपतिलाई गुहारेका छन् ।
सबै प्रकृया पुरा गरेर पारित हुनमात्र बाँकी रहेको विधेयक अड्कीएपछि मन्त्री पण्डितले राष्ट्रपति डाक्टर रामवरण यादवलाई भेटेर सहयोग गर्न आग्रह गरेका हुन् ।
विहान ९ बजे राष्ट्रपति भवन शीतल निवास पुगेका मन्त्री पण्डितले एक घण्टा छलफल गरेका थिए । मन्त्री पण्डितले सत्तापक्षबाट समेत विधेयक पारित गर्न सहयोग नगरेको भन्दै दबावका लागि आग्रह गरेको स्रोतको भनाई छ ।
मन्त्री पण्डितले पनि आफूले यस विषयमा राष्ट्रपतिलाई जानकारी गराएको बताए । मन्त्री पण्डितले ओएनएस न्यूजसँग भने,‘ हो मेरो जिम्मेवारी जनतादेखि राष्ट्रपतिलाई जानकारी गराउने र कन्भिन्स गर्ने हो,मैले जानकारी गराएको छुँ ।’
पण्डितले आफूले राष्ट्रिय हित, समृद्ध प्रशासनका साथै कर्तव्य र अनुशासनसँग सम्बन्धित विधेयक ल्याएकाले पारितका लागि राष्ट्रपतिलाई सहयोग गर्न आग्रह गरेको जानकारी गराएको बताउनुभयो ।
‘तुहाउने कसरत’
डिभी र पिआर लिएका कर्मचारीलाई कारवाही गर्ने गरि ल्याएको विधेयक सर्वसहमतिमै सरकारले
संसदमा दर्ता गराएको थियो । असार दोस्रो हप्ता संसदमा दर्ता भएको विधेयकमाथी सबै छलफल सकिएको छ । अब पारित हुन मात्रै बाँकी छ तर पारित गर्ने तर्फ कसैले चासो नदिएपछि मन्त्री पण्डित तात्तिएका हुन् ।
मन्त्री पण्डितले भने,‘कसरी अलमल्याउन र तुहाउन सकिन्छ भनेर सत्तापक्ष र प्रतिपक्षका मान्छेहरु लागिरहेका छन् ।’ भेटमा राष्ट्रपति यादवले मन्त्री पण्डितलाई दृढताका साथ यसको पक्षमा लाग्न आग्रह गर्दैै आफूले सहयोग गर्ने बचन लिएका छन् ।
मन्त्री पण्डिले यसअघि प्रतिपक्षका प्रमुख सचेतकसँग भएर छिटो विधेयक पास गर्न सभामुखसँग आग्रह गरेका थिए ।
प्रकृया कहा अड्कीयो ?
सर्वसहमतिमै संसदमा दर्ता भएको विधेयकमाथी शैद्धान्तिक छलफलदेखि ७२ घण्टाको संसोधन प्रस्तावसम्मको प्रकृया पुरा गरिकेको छ । अब पारित हुन मात्रै बाँकी छ तर कहाँ अड्कीयो भनेर मन्त्री पण्डित नै आश्चर्यमा परेका छन् । उनले भने,‘ यो त सभामुखलाई थाहा होला म त एउटा मन्त्री मात्रै हुँ सभासद् पनि छैन मैले भेटेर आग्रह गरेको छुँ ।’