खुल्यो डीभीको आवेदन, यी कुरामा ध्यान दिनुहोस् ?

90
  •  
  •  
  •  


काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डीभीको आवेदन खुल्ला भएको छ।

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समय बुधबार राति ९ः४५ बजे देखि आवेदन खुला भएको हो। डीभीको आवेदन कात्तिक २३ गते बन्द हुने जानकारी पनि दूतावासले दिएको छ।

डीभीको आवेदन  www.dvlottery.state.gov  वेबसाइटमा गएर भर्न सकिन्छ।​

डीभी आवेदन दिन कुनै शुल्क लाग्ने छैन। डीभी चिट्ठा भर्न परिवारका सदस्य, साथी वा जानकार व्यक्तिको सहयोग लिन तर कुनै कन्सल्टेन्टकहाँ नजान सुझाव पनि दूतावासले दिएको छ।
दूतावासका अनुसार डीभी भर्दा परिवारका सबै सदस्यको स्पष्ट विवरण राख्नुपर्नेछ भने एउटाभन्दा बढी आवेदन दिने व्यक्ति अयोग्य ठहरिनेछ।

डीभी आवेदन दिँदा ६ महिनाभित्र खिचिएको फोटो मात्र प्रयोग गर्न पाइनेछ। अनलाइनमा उल्लिखित फोटोसम्बन्धी नियम पालना गर्नुपर्नेछ।

यस्तै मुख्य आवेदकको वैध, म्याद नसकिएको राहदानीको विवरण आवेदनमा राख्नुपर्नेछ। डीभी भरिसकेपछि कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्छ। किनकि पछि यही नम्बरबाट आफूलाई चिट्ठा पर्यो’परेन भन्ने थाहा हुन्छ। तर आफ्नो कन्फर्मेशन नम्बर गोप्य राख्न दूतावासले सचेत गराएको छ।

डीभीमा आफ्नो नाम छनोट भए नभएको थाहा पाउन २०७९ वैशाख २५ गतेदेखि  www.dvlottery.state.gov मा आफ्नो कन्फर्मेसन नम्बर हाल्नुपर्छ।

डीभीको आवेदन भर्दा इमेल ठेगाना राख्नुपर्ने भए पनि आफू छनोट भएको खबर यसमा आउँदैन। ५५ हजार विदेशीलाई भिसाका लागि छनोट गरिने बताइएको छ।

ध्यान दिनुपर्ने कुरा

– डीभी भर्न शैक्षिक योग्यता १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव अनिवार्य छ ।

– ६ महिनाभन्दा पुरानो फोटो डीभी भर्दा प्रयोग नगर्ने । पूरानै फोटो प्रयोग गर्दा डीभीका लागि अयोग्य हुने सम्भावना रहन्छ ।

–आफ्ना विवरण र कागजात जाँचबुझ गरेर अपलोड गर्ने । नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु सही भर्ने ।

-डीभी भर्दा विवाहितले दम्पती र सन्तान भए फारम भर्दै विवरण राख्ने । अन्यथा पछि झन्झट हुन सक्छ ।

– आधिकारिक वेवसाइटबाटमात्र डीभी भर्ने ।

– पटक पटक आवेदन भर्ने भूल नगर्ने ।


  •  
  •  
  •