बाढीपहिरो र डुबानमा परेर ९० जनाको मृत्यु

345
  •  
  •  
  •  

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर हालसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

विपदमा परेर हालसम्म २९ हराइरहेका र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले बताए ।
झण्डै १२ हजार घर धुरी विस्थापित भएकाले उनीहरुलाई अस्थायी आश्रयस्थलमा राखिएको छ । विपद्मा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् । ललितपुर र सिराहामा छ–छ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा पाँच–पाँच जनाले ज्यान गुमाएका छन् ।

ओखलढुंगा, महोत्तरी र डोल्पामा चार–चार तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौंमा तीन–तीन जनाको मृत्यु भएको छ । यस्तै सुनसरी, बारा, धादिङ र दाङमा दुई–दुई, इलाम, पाँचथर, संख्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा एक–एक जनाको मृत्यु भएको जनाइएको छ ।

बेपत्ता हुनेमा सबैभन्दा बढी डोल्पामा सात, इलाम, मोरङ र सिन्धुलीमा तीन–तीन जना छन् । अहिलेसम्म सर्लाहीमा दुई हजार ४००, रौतहटमा एक हजार ११०, बारामा एक हजार ६६५, पर्सामा १२०, सिराहामा ५००, मोरङमा एक हजार ५३९ लगायत विभिन्न जिल्लामा गरेर झण्डै १० हजार घर विस्थापित भएको केन्द्रले जनाएको छ ।


  •  
  •  
  •