काठमाडौं, ५ पुस(ओएनएस) : सशस्त्र प्रहरी बलको कायमुकायम महानिरीक्षकमा नियुक्त दुर्जकुमार राईलाई आइतबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
गृहमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृहसचिव नारायणगोपाल मलेगोले राईलाई दज्यानी चिन्ह प्रदान गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको सिफारिस अनुसार सरकारले गत शुक्रबार सशस्त्रका तत्कालीन महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गरेपछि राईलाई उक्त पदको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
का.मु. सशस्त्र प्रहरी महानिरीक्षक राई नेपाल सरकार मन्त्रीपरिषदको यही पुस ३ गतेको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नती भएका हुन्। महानिरीक्षक राईले आजै पदवाहली गरेका छन् ।
पदोन्नती पछि महानिरीक्षक राईले राष्ट्र र आम नागरिकको सेवा र सुरक्षामा पेशागत इमान्दारिताका साथ कर्तव्यनिष्ट रहि सशस्त्र प्रहरी बलको तर्फबाट जनताले प्रत्यक्ष महसुस गर्ने गरी सुरक्षाको प्रत्याभुति दिलाउन दत्तचित्त रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव नारायणगोपाल मलेगोले सशस्त्र प्रहरी बलले संगठन स्थापनाको उद्देश्य अनुरुपको जिम्मेवारी निर्वाह गर्दै आइरहेको बताए ।
उनले सशस्त्र प्रहरी बलको इतिहासमा संगठनले छोटो अवधिमा आफ्नो उद्देश्य अनुरुप धेरै चुनौतीको सामना गर्दै अगाडी बढेको चर्चा गरेका छन् । सशस्त्र प्रहरी बलले गर्नुपर्ने कुरा धेरै छ भन्दै गृहसचिव मलेगोले संगठनको नेतृत्व सम्हालेका राईको नेतृत्वमा सशस्त्र प्रहरी बलले नयाँ जोश जागरका साथ दायित्व निर्वाहमा उत्कृष्ट योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिप रेग्मी लगाएत गृहमन्त्रालय, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।
महानिरीक्षक राई २०४३ साल फागुन ३ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका हुन् । उनी २०५८ साल बैशाख ४ गते सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट एमए गरेका महानिरीक्षक राईले विभिन्न व्यावशायीक तालिम हासिल गर्नुका साथै विभिन्न १४ वटा मानपदवी, अलंकार र पदकबाट सुशोभित भएका छन् । उनले कार्यक्षेत्रमा उत्कृष्ट कार्य गरेवापत दुई पटक ग्रेड थप तथा दुई पटक नगद पुरस्कार र प्रशंसापत्रहरू प्राप्त गरेका छन् ।