दुर्घटनामा हुँदा दुई जनाको मृत्यु, एक घाइते

326
  •  
  •  
  •  

दाङ । दाङको देउखुरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही भालुबाङ सडकखण्डको पिपरीमा सोमबार राति मोटरसाइकल एक आपसमा ठोक्किँए लगत्तै ट्रकले ठक्कर दिँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किए लगत्तै पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिँदा रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा रहेका घोराही उपमहानगरपालिका–१५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही नगरपालिका– ४ निवासी २७ वर्षीय विनायक चौधरीको ज्यान गएको हो ।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि अस्पताल पुर्याएलगतै ज्यान गएको हो । दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका –८ बिजौरीका २८ वर्षीय दिपक मरासिनी गम्भीर घाइते भएका छन् ।

घाइतेको थप उपचारका लागि बुटवल रिफर गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •