मदन कोइराला
काठमाडौं, ३ असार (ओएनएस) । विद्यार्थीलाई योग्य र सक्षम बनाउने जिम्मेवारी लिएका कतिपय शिक्षक नै नक्कली प्रमाणपत्रधारी भएको खुलासा भएको छ । उपत्यताका काठमाडौं र भक्तपुरमासमेत नक्कली प्रमाणपत्रधारी शिक्षक फेला परेका छन् ।
अधिकांश नक्कली प्रमाणपत्रधारी शिक्षक भने रुपन्देहीमा फेला परेका छन् । अख्तियार स्रोतका अनुसार कतिपय शिक्षकले भारतमा गएर परीक्षा दिए पनि दलालको हातमा पुगेर नक्कली प्रमाणपत्र लिएका छन् । हालसम्म २३ जना नक्कली प्रमाणपत्रधारी शिक्षकविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार नक्कली प्रमाणपत्रधारी शिक्षकका विरुद्ध उजुरी पर्नेक्रम जारी रहेको स्रोतको भनाई छ । नक्कली प्रमाणपत्रधारीको कतिको विगविगी रहेछ भने व्यवस्थापन समितिको अध्यक्ष बन्नसमेत नक्कली प्रमाणपत्र पेश गरेका घटना धमाधन सार्वजनिक हुन थालेका छन् ।
मुलुकमा गणतन्त्र स्थापना भएपछि हरेक क्षेत्रमा राजनीतिक भागबण्डा हुने गरेको छ । त्यसबाट शिक्षा क्षेत्र पनि अछुतो रहेको छैन् । त्यसमा पनि झन व्यवस्थापन समितिको अध्यक्ष बन्न राजनीतिक दलहरुबीच हानाथाप नै हुने गरेको छ । व्यवस्थापन समितिको सदस्य आफ्नै दलको बनाउनुपर्ने तर उसको योग्यता नपुगेपछि नक्कली प्रमाणपत्र पेश गरेर व्यवस्थापन समितिको अध्यक्ष बनेका व्यक्तिलाई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
निजामती र सरकारी संस्थानका कर्मचारीको नक्कली प्रमाणपत्रबारे भोली सार्वजनिक गरिने छ ।