‘एउटा झुटले हिसिला यमी बने’

187
  •  
  •  
  •  

नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आइरहेको हास्य टेलीश्रृङ्खला ‘तितोसत्य’ मा हिसिला यमीको अभिनय गर्न थालेपछि विपना बस्नेतको जीवनमा परिवर्तन आएको छ । उनी ‘सामान्य’ बाट बिशेष बनेकीछन् । दैनिकी परिवर्तन भएको छ । आम्दानी पनि ह्वात्तै बढ्न थालेको छ । त्यतिमात्र होईन देश विदेशबाट कार्यक्रमको निम्तो पनि त्यत्तिकै आउन थालेकाछन् । प्रस्तुत छ उनै विपना अर्थात नक्कली हिसिला यमीसँग ओएनएसले गरेको कुराकानी ।

हिसिला यमीको अभिनय गर्दा तपाईंको परिचय त छाँयामा पर्यो नी ?
– त्यो त हो । तर यत्तिका बर्ष विपना बस्नेत भएर संघर्ष गर्दा पनि स्थापित हुन सकेको थिइन् । आज सबैजनाले बाटोमा देख्दा हेर त नक्कली हिसिला यमी बन्ने त्यही हो भन्छन् । म खुसीले फुरुङ् हुन्छु । अखिर एउटा पात्रलाई न्याय गर्न सकेकाले त म स्थापित हुन सकेको हु नी । यसमा दिपक र दिपा बैनीलाई मूरीमूरी धन्यवाद मैले भन्नै पर्छ ।

हिसिला यमीको अभिनय गर्न तपार्इंले कत्तिको मेहनत गर्नुपर्यो ?bipana-basnet
– सुरुवातको समयमा त खासै मेहनत गरिन । म काठमाडौं बासी भएका कारणले गर्दा नेवारी टोन सानै देखि आउथ्यो । स्कुल, कलेजमा पढ्दा पनि साथीहरुसँग नेवारीमा जिस्किँदै गफ गरिन्थ्यो । त्यसले गर्दा बोल्न खासै समस्या भएन । एक दुई भाग प्रशारण भएपछि अव त आफूले केही सुधार गर्नुपर्ने लागेर यूट्यूवमा हिसिला म्याडमका केही भिडियो हेरे । त्यसले मलाई थप सहयोग दियो । त्यसमा पनि दिपक र दिपा बैनीले हिसिला जस्तै देखिन र अभिनय कसरी गर्र्र्र्ने भनेर सम्पुर्ण तयारी गर्नुभएकाले पनि मलाई सजिलो भो ।

तितोसत्यमा कसरी जोडिनुभयो ?
– ‘झोला’ फिल्मका लागि सुटिङ गर्न धुँवाकोट पुगेको थिए । मेकअप आर्टिस्ट र साइड रोलमा अभिनय गर्ने मौका मिलेको थियो त्यो फिल्ममा । सुटिङकै दौरानमा एकदिन नयाँ नम्वरबाट फोन आयो । त्यो फोन दिपाश्रीको रहेछ । उनले भ्यालेन्टाइनको अवसरमा बाबुराम र हिसिलाको जोडी बनाएर नया कथा सुट गर्न खोजेको र त्यसका लागि हिसिला यमीको अभिनय तपार्इं गर्न सक्नुहुन्छ भनेर सोधिन् । साथै उनले यो कथा दुई तीन भागसम्म प्रशारण समेत हुने बताइन् । म मा तत्कालै खुसीको सिमा रहेन । सोचे तितोसत्य मेरा लागि ड्रिम प्रोजेक्टका रुपमा आएको छ । ठुला चलचित्रमा त सानातिना भूमिकामा छाएको थिए, तर दर्शकले चिन्ने भुमिका पहिलोपल्ट पाएको अनुभव गरे । दिपा बैनीले भोलीनै सुटिङ थाल्नुपर्छ आजै काठमाडौं आउनसक्नुहुन्छ भनेर सोधिन् ? जीवनमा पहिलोपल्ट मलाई हतार त्यतीबेला परेको थियो । धँुवाकोटबाट भर्खर त्रिशुली पुगेको मात्र थिए, फेरि दिपाको फोन आयो, ‘तपाईं कहाँ आइपुग्नु भो दिदी ?’ म यो मौका गुमाउन चाहन्नथे त्यसैले भनिदिए,‘म ककनी आइपुगे अलिकती जाम छ केहीबेरमा आइपुग्छु ।’ हो त्यही झुटले मलाई आज सबैका सामु चिनाइदियो ।

तपाई त हिसीला बन्नु भयो तर बाबुराम (ज्योती काफ्ले) सँग जोडी मिलाउन कत्तिको गाह्रो भयो नी ?
– पहिलो पटक आफ्नो रहर पुरा गर्दै थिए, त्यसैले अरुको अभिनयलाई मैले वास्ता गरिन् । आफूले कस्तो गर्ने र कसरी गर्ने बस् मेरो ध्यान त्यतामात्र जान्थ्यो । म हिसिला जस्तो कसरी देखिनसक्छु भन्नेमै बढी सचेत रहे । तर ज्योती भाइले पनि राम्रो अभिनय गर्नूभयो । कसरी कसरी हाम्रो जोडी मिलेछ ।

जीवनमा कुनै दिन हिसीला यमीको अभिनय गर्छु जस्तो लागेको थियो ?
– त्यस्तो त कहिल्यै सोचिन । उँहालाई मात्र नेतृका रुपमा मात्र चिनेको थिए । त्यो भन्दा बढी उँहाकाबारेमा कहिल्यै मतलब गरिन । मेरा लागि त यो केबल ठूलो मौका मात्र थियो । तर उँहाको नक्कल गर्दा यती माया र सम्मान पाएकोमा म एकदम खुसी छु ।

 नक्कली हिसिला यमी बनेपछि सक्कली हिसिला यमीसँग भेट्ने मौका पाउनुभयो ?
– एकदिन ज्योती काफ्ले भाईले फोन गरेर ‘दिदी तपाईलाई बाबुराम भट्टराईकहाँबाट फोन आउन सक्छ’ भन्नुभयो । त्यतीबेला म बेस्सरी आत्तिए र भाईलाई सोधे,‘भाई फोन आयो भने मैले के भन्नुपर्छ ? उनले नआत्तिकन जस्तो जस्तो प्रश्न गर्नुहुन्छ त्यसको उत्तर दिए हुन्छ भन्नुभयो । अनी मात्र श्वास आयो । सँगसँगै फोनको घण्टीपनि । ‘हेलो विपना बस्नेत बोल्नु भा हो ?’ उताबाट आवाज आयो मैले पनि हो भने । ‘म हिसिला यमी बोलेको विपना जी यसो गरौं न तपाईंको र मेरो नाम साटौ है’ उहाँले यस्तो भन्दा म अक्क न वक्क भए । र भने,‘तपाईको नक्कल गर्न पाउनु मेरो भाग्यको कुरा हो । तपाईकै नामबाट मेरो.दोस्रो न्वारन भयो । अवका दिनमा पनि यही परिचयमा दर्शकले चिनुन् भन्ने आश छ ।’ यति मैले निर्धक्कका साथ भनेको थिए । मैले दुई भागमा अभिनय गरेपछि उँहाले मलाई फोन गरेरै प्रतिकृया दिनुृ भएको हो ।

पछिल्लो समय उँहासँग धेरै पटक साक्षात्कार भएको छ । भेटमा विपना तपाईलाई त नक्कली हिसिला भनेर सबैले चिने मेरो परिचय त छाँयामा पर्नेभो भनेर जिस्क्याउनुहुन्छ । सोच्दा लाग्छ, उहाँको छवि विग्रिएको अवस्थामा पनि मेरो अभिनयको कारण दर्शकले हिसिलालाई सम्झिरकेकाछन् जस्तो लाग्छ ।


  •  
  •  
  •