काठमाडौं ७ बैशाख (एजेन्सी) :
भूमध्य सागरमा डुंगा पल्टिँदा ५ सय आप्रवासीको मृत्यु भएको छ । आप्रवासीलाई एउटा डुंगाबाट अर्कोमा सार्ने क्रममा डुंगा पल्दिँदा ५ सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । लिबियाको तटीइ शहर टोबरुकबाट इटाली जान चढेको डुंगा भूमध्यसागरमा डुबेको हो ।
डुंगामा रहेका ४१ जना भने पौडिएर ज्यान जोगाउन सफल भएका छन् । बाँच्न सफल भएका आप्रवासीलाई अहिले ग्रिसको दक्षिणी शहर कालामाटामा राखिएको छ । बाँच्न सफल भएका आप्रवासीले डुंगा डुब्दा पाँच सय जनाको ज्यान गएको बताएपनि शवहरु भ्ेट्न नसकिएकाले त्यसको आधिकारिकरुपमा पुष्टी हुन भने बाँकी नै छ ।
तर इजिप्टको कायरोमा रहेको सोमालियाको दूतावासले ज्यान जानेको संख्या चार सय भन्दा धेरै हुन सक्ने जनाएको छ । यो वर्ष अहिलेसम्म एक लाख ८० हजार भन्दा धेरैले समुद्री मार्ग भएर युरोप जान खोजेको र त्यसक्रममा ८ सय जनाको ज्यान गएको राष्ट्रसंघले जनाएको छ ।