नक्कली बिरामीका नाममा लाखौं हिनामिना

77
  •  
  •  
  •  

काठमाडौं २९ भदौ ।
नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिको गरिब दर्ता रजिस्टरमा गत आर्थिक वर्षमा १ हजार ८ सय १० बिरामीको निःशुल्क औषधोपचार गरिएको उल्लेख छ। त्यसका लागि ८० लाख रुपैयाँको औषधि खरिद गरिएको छ। स्वास्थ्य विभागका लागि अस्पताल स्टोर शाखाले तयार गरेको गरिब दर्ता रजिस्टरमा उल्लिखित अधिकांश बिरामी अस्पतालको मेडिकल वा सर्जिकल वार्डमा भर्ना नै भएका होइनन्। खासमा नक्कली बिरामी खडा गरी कर्मचारीले मिलेमतोमा झन्डै ४० लाख रुपैयाँ हिनामिना गरेका हुन्। एकै जनाका नाममा ४० हजार रुपैयाँसम्मको औषधिको बिल भर्पाइ स्टोर शाखामा छ।

रजिस्टरमा उल्लिखित नामका बिरामी अस्पतालको मेडिकल र सर्जिकल वार्डको तथ्यांकमा नभेटिएपछि नक्कली बिरामीका नाममा लाखौँ हिनामिना भएको खुलेको हो। अधिकांश नाम महिनैपिच्छे दोहोरिएका छन्। राकेश, शान्ति, अनिता र रबिक मियाँको भर्ना नभए पनि उनीहरूका नाममा हप्तैपच्छिे आठ हजारदेखि ३२ हजारसम्मको औषधि खरिद गरिएको बिल छ। कतिपय ठाउँमा लावारिसकै नाममा समेत औषधि खरिद गरेको देखिएको छ।

‘औषधिबापत भुक्तानी गरिएको बिल नम्बर र बिरामीको नाम रजिस्टरमा उल्लेख छ,’ अस्पताल विकास समितिका अध्यक्ष रामेश्वर प्रसादले भने, ‘रजिस्टरका बिरामी वार्डमा भर्ना नै भएका छैनन्।’ गत आर्थिक वर्षको जेठ र असार महिनाको तथ्यांकबाट ४७ वटा बिरामीको भर्ना अभिलेख मेडिकल र सर्जिकल वार्डमा जाँच गर्दा दुई जना मात्र भर्ना भएको देखियो। आर्थिक अनियमितता उजागर गर्न मात्र दुई महिनाको बिरामी तथ्यांक अध्ययन गरिएको हो। गत असार ३२ गते एमडी नासिर र जानकी ठाकुरका नाममा १२ हजार दुई सात रुपैयाँ, असार १० मा अपेन्द्र माझी, खुस्बु कुशवाहा र अमिता देवीका नाममा ३० हजार ५१, भरत रौनियारका लागि १८ हजार तीन सय ६ रुपैयाँ, तइरा खातुनलाई सात हजार ६ सय ७३ रुपैयाँ औषधोपचारका लागि निकासा भएको गरिब रजिस्टरमा उल्लेख छ। यसैगरी जेठ १५ मा रमावती देवीलाई २५ हजार २७ रुपैयाँ दिइएको उल्लेख छ। असारमै सुमिता देवीलाई २७ हजार र गया परियारलाई ३९ हजार ८ सय दिइएको अभिलेख छ।

‘गरिब बिरामीको दर्ता रजिस्टरमा यी नाम उल्लेख भए पनि भर्ना वार्डमा भेटिएनन्,’ रेकर्ड शाखाका एक कर्मचारीले भने, ‘दुई दिन लगाएर खोज्दा पनि बिरामीका नाम रुजु भएनन्।’ स्टोर शाखाका अशोक श्रीवास्तवले कतिपय बिरामी ओपीडीबाटै चेक गराएर फर्किने गरेकाले नाम नभेटिएको बताए। ‘इनडोर र आउटडोर बिरामीले औषधि लिन्छन्,’ उनले भने, ‘आउटडोरको रेकर्ड राख्न समस्या छ।’ ओपीडीबाटै उपचार गरी फर्केका बिरामीलाई चिकित्सकले के आधारमा एकैपल्टमा ८ हजारसम्मको औषधि सिफारिस गरे भन्ने जिज्ञासा राख्दा उनी मौन बसे। अधिकांश राजनीतिक दलका नेताले निःशुल्क औषधिका लागि सिफारिस गर्ने उनले सुनाए। नक्कली बिरामी खडा गरी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) निकटका कर्मचारीले माग फाराम भरी औषधिको फर्जी बिल बनाई रकम लिएको कर्मचारी युनियनको दाबी छ। ‘मेसु निकटका अहेव, स्टोर र लेखा शाखाका कर्मचारीको मिलीभगतमा गरिबका नाममा आएको औषधि हिनामिना भएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘छानबिन आवश्यक छ।’

स्वास्थ्य उपचार खर्चसम्बन्धी निर्देशिकामा आर्थिक अवस्था कमजोर हुने व्यक्तिलाई औषधोपचार खर्च दिने व्यवस्था छ। उपचारका लागि आउने बिरामी भर्ना भएपछि कार्डेक्स -चिकित्सकले सिफारिस गरेको औषधि, चलाउने समय र ड्युटी इन्चार्जको नाम राखिने अभिलेख) मा सबै रेकर्ड राखिन्छ। गरिब बिरामीका हकमा वार्ड प्रमुखले कार्डेक्समा निःशुल्क औषधि उपलब्ध गराइदिन सिफारिस गर्छन्। त्यसपछि ड्युटी इन्चार्जले माग फाराम भरेर मेसुलाई पेस गर्छन्। मेसुको स्वीकृतिपछि बिरामीले औषधि पाउँछन्।

फर्जी खेल

नक्कली बिरामीका नाममा १० रुपैयाँमा ओपीडी टिकट खरिद गरिन्छ। ‘त्यसमा आफैँले महँगो औषधि लेखी माग फाराम भरी मेसुलाई दिइन्छ,’ एक कर्मचारीले भने, ‘मिलेमतो भएकाले मेसुले पनि सजिलै हस्ताक्षर गरिदिन्छन्।’ मासिक करिब साढे पाँच लाख रुपैयाँको औषधि गरिबको उपचारमा निकासा हुन्छ। उपक्ष्ाेत्रीय अस्पतालका मेसु डा. रामाशंकर ठाकुरले औषधिको माग तीन चरण पार गरेर आउने भएकाले आफू एक्लै दोषी नभएको प्रतिक्रिया दिए। ‘कतिपय बिरामी सिधै मकहाँ आउँछन्,’ उनले भने, ‘अनियमितता भएको छ भने खोजबिन गर्नुपर्छ।’ गरिबका लागि उपचार गर्न सरकारले नारायणी उपक्षेत्रीय अस्पताललाई गत आर्थिक वर्ष ६० लाख रुपैयाँ उपलब्ध गराएको थियो। अस्पतालले थप २० लाख गरी ८० लाख रुपैयाँको औषधि खरिद गरेको लेखा प्रमुख कपिल अर्यालले बताए। औषधि भुक्तानीबापत साझा औषधि पसललाई ४० लाख रुपैयाँ बक्यौता रहेको उनले बताए। ‘असहायको उपचारका लागि सरकारले उपलब्ध गराएको रकम बालुवामा पानी हालेसरह भएको छ,’ उनले टिप्पणी गरे। २५ देखि ३० लाखको औषधि सक्कली बिरामीलाई बाँडेर बाँकी हिनामिना गरिएको छ। निःशुल्क औषधि पाउने पनि कर्मचारी, चिकित्सक वा राजनीतिक दल निकटका बिरामी हुनुपर्छ।
कान्तिपुरबाट


  •  
  •  
  •